सरोकारवालासँग छलफल गरेर पाथीभरामा केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने एमालेको निर्णय
काठमाडौँ । नेकपा एमालेले पाथीभरामा केबलकार निर्माणका लागि सरोकारवाला सबै पक्षसँग छलफल गर्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्षसँग छलफल गर्न सुझाव दिएको हो ।
महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको जानकारी दिए ।
उनले भने, ‘पाथीभरामा केबलकार निर्माणका लागि सहज वातारण बनाउन पार्टीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’
पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार समूहले आन्दोलन गर्दै आएको छ । सो समूहले केबलकार निर्माण कुनै हालतमा रोक्नुपर्ने माग गर्दै आएको छ । केबलकार निर्माण सुरु गरेपछि सो समूहल अवरोध गर्न थालेपछि सुरक्षाकर्मीसँग पटक पटक झडपसमेत भएको छ ।