भूमिसम्बन्धी अध्यादेश बिचौलियाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार आएको अध्यक्ष यादवको आरोप
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमिसम्बन्धी अध्यादेश भूमिहीनको समस्या समाधान गर्नको लागि नभई भूमाफियालाई पोस्न ल्याएको आरोप लगाएका छन् ।
शुक्रबार अध्यादेशबारे विभिन्न दलका नेताहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले अध्यादेश सुकुम्वासीका नाममा भूमाफिया पोस्न ल्याएको आरोप लगाएका हुन् ।
उनले सुकुम्वासीका नाममा बिचौलिया, रियलस्टेटवालाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार सरकारले अध्यादेश ल्याएको बताए । उनले अध्यादेश फिर्ता नलिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने बताए ।
उनले भने, ‘सरकारले सांसद खरिद बिक्री गरेर अध्यादेश पास गराउन खोज्यो भने हामी जनताकोमा जान्छौं ।’ उनले वन फडानी गरेर सुकुम्बासी व्यवस्थापन गर्न नहुने बताए । अध्यक्ष यादवले सुकुम्वासी समस्या समाधान गर्न २०१४ सालदेखि व्यवस्थित गर्न खोजिए पनि २०२४ सालमा वन फडानी गरिएको बताए ।