अब त देवत्व र घृणा होइन निर्माणको विमर्श हुनुपर्छ
-डा. युवराज संग्रौला ।
२००७ सालदेखि आजसम्म देशको राजनीतिले ‘देवत्वकरण र घृणा’ को खेती गर्न मात्र जानेछ । बिपी कोइरालालाई पञ्चायतकाविरुद्ध कांग्रेसले ‘महामानव’ बनाए, ताकी संसारकै उनी पालक थिए जसरी । बिपीको प्रजातान्त्रिक समाजवादी नेताको रुपमा परिचय बनेको भए, सायद उनलाई सबै नेपालीले उत्तिकै मान्थे होला । राजाहरुको त कुरै छोडौं एक पेजको त स्तुति नै हुन्छ । पञ्चायतीकालमा त ठूलो फर्सी पनि राजाकै कारणले फलेको हो भनी मान्नु पथ्र्यो । फेरि आयो, बहुदलीय व्यवस्था । तब मदन भण्डारीलाई जननेतादेखि के मात्र पदवी हालिएन, अनि प्रचण्डको त कुरै छोडौं । माधवजी पनि आफू सबै भन्दा उत्तम नेता ठान्छन् । यी सबैले गरेका कामहरूको कसैले सम्झना गर्छ ? गर्दैन । राजावादी बिपीको गाउँबाट विकास शहर आउनुपर्छ भन्ने मान्यताको कहिल्यै कुरा गर्छन र ? राजा महेन्द्रले नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाएर नेपाललाई अजिंगरको मुखबाट बचाएकै हो तर कांग्रेर र कम्युनिस्ट कहिल्यै उनको प्रशंसामा बोल्छन् र ? मदन भण्डारीले वाम राजनीतिलाई संसंदीय समाजवादको बाटोमा मुखरीत गरेको कोही याद गर्छ र ? अहिले त फेरि अर्को चमत्कारीक ‘देवत्व र घृणा’ को युग चलिरहेको छ ।
१. नेपाली समाजको परिवर्तनमा मौलिकता कहिले पनि आएनछ ! समाजको परिवर्तनमा केही पुरानो विलय भएर केही नयाँ उत्पत्ति हुन्छ । यही क्रममा समाजको समकालीन चेतनाको निर्माण हुन्छ, जो आममानिसको समकालीन मनोविज्ञानका रुपमा रहन्छ । तर नेपालमा त सबै कुरा अन्यत्रबाट टिपि एको रहेछ। न्याय प्रणाली अर्कैको, अर्थशास्त्र अर्कैको, राजनीतिक शास्त्र अर्कैको, प्रबिधि अर्कैको र अब त सोच पनि अर्कैको। सायद यो देवत्व र घृणाको संस्कृति पनि यही अरुको चोर्ने आदतकै फल हो ।
२. नेपालमा राजनीतिमा नयाँधारको विकास पुराना दलको सेवाको परिणाममुखी प्रक्षेपण (डेलिभरी)को असफलताले खोजेको थियो । तर यसमा त कसैको बिमर्श सम्म भएन। तर जब अन्ना हजारेलाई दोहन गर्दै, जे मन लाग्यो त्यही बोल्ने, कटुतालाई राजनीतिको रणनीति बनाउने र साइबर प्रचारको दुरुपयोगबाट राजनीतिमा केजरीवालमार्का जन्मियो र पश्चिमी प्रचारले विकल्पका रुपमा सिनेमादेखि चमत्कारका कथासम्म लेखेर भारतीयलाई दियो, तब नेपालमा पनि विकल्पको अभियान जन्मियो । टेलिभिजनमा गाली गलौज र प्रहारबाट लामिछाने जन्मिए । केजरीवाल र लामिछानेले राजनीतिमा हरेक शक्तिको निर्माण समाजका तत्कालीन अन्तरविरोध, गतिशक्ति, प्राथमिक आर्थिक वर्गको पहिचान, राष्ट्रको भुराजनीती र अन्तर्राष्ट्रिय परिस्थिति समेतको आलोकमा बनेको विचारमा खडा हुन्छ भन्ने मान्यतालाई इन्कार गरे र ‘सस्तो लोकपृयता र कस्मेटिक व्यक्तित्व स्वरुप’ राजनीतिको आधार हो भन्ने मान्यता स्थापित गरे, र असफल पनि भए ।
३. वर्तमान शताब्दीको दोस्रो र तेस्रो शताब्दीको राजनीतिमा पश्चिमले आन्तरिक सूक्ष्म व्यवस्थापनलाई नै रेजीम वा सत्ता परिवर्तनको एउटा रणनीति बनायो र यस्को सबैभन्दा प्रखर प्रकट जेलेन्स्कीबाट उदय गराएर गर्यो । ट्रम्पले अहिले यो बोलिदिए । जेलेन्स्की ‘पोल्यान्डमा लेख वालेन्सा र रसियामा बोरीस एल्सिन’को निर्माणको असफलताको पाठ थियो । कस्मेटिक व्यक्तित्व विचारहीन हुन्छ र उसको प्रयोग पपेटको रुपमा हुन सक्ने रहेछ। पपेटहरुको निर्माण शक्तिशाली राष्ट्रले आफ्नो स्वार्थका लागि गर्ने रहेछ । यो कुरा अब ‘५०० बिलियन डलरको’ रेयरअर्थ’ खनिजको लागि जेलन्स्कीको बीउ २०१४ को मैदान आन्दोलनबाट भएको रहेछ भन्ने अहिले खुल्यो । नेपालमा पनि यो प्रयोग हुन सक्छ किनभने नेपालमा युरेनियमको प्रचुर भण्डार छ।
४. जेलेन्स्की पूर्वयुक्रेनमा तीन विशेषता प्रकट थिए । भ्रष्टाचार, राजनीतिक कुसंस्कार र समाजमा जताततै घृणाको खेती । मैदान विद्रोहको पृष्ठभुमि थियो, यो । यो खेलमा स्थापित राजनीतिको विचार उन्मूलन पहिला गरिन्छ । राजनीतिक दलमा विदेशीहरुले प्रशिक्षण गर्दछन्, जुन नेपालमा पनि व्यापक भयो। यिनै प्रशिक्षणद्वारा ती राजनीतिक शक्तिको विचार सिध्याइन्छ र तब तिनै राजनीति शक्तिप्रति घृणा निर्माणको मार्ग निर्माण हुन्छ । अहिले नेपालमा त्यही हुँदैछ। तब कस्मेटिक व्यक्तिको निर्माण शुरु गरिन्छ, नेपालमा मधेसबाट एकजना निर्माण गर्ने प्रयास भयो र अर्बौं खर्च भयो तर संभव भएन ।
५. अहिले नेपालमा चर्को घृणाको खेती हुँदैछ । यो खेतीमा रसियामा बोरीस यल्सिन जस्तै पहिलाको शासनमा मोज गर्नेको संख्या बढी थियो । नेपालमा पनि बहुदल छिरेर ३० वर्ष सत्ताको वरिपरी रहनेहरु अहिले घृणाको खेतीमा व्यस्त छन् । यिनीहरु कोही कांग्रेस, एमाले र माओवादी बनेर मेयर, संसद, र मन्त्री भए । आज उनीहरु वर्तमान व्यवस्था असफल हुन आफूबाहेकका मात्र जिम्मेवार छन् भन्दै घृणाको खेती गर्दैछन् ।
नेपालको राजनीतिक परिवर्तनमा २००७ सालदेखि राजनीति आन्दोलनमा सरिक कांग्रेस, कम्युनिष्ट, र २०४७ देखि संलग्न राप्रपा अनि २०६३ देखि बहुदलमा पसेको माओवादी कुनै शक्तिसँग अहिले बिचारको अर्थ र महत्व छैन । मात्र सत्ताको खेल छ । त्यही कारणले नेतृत्वमा पितृत्व र देवत्व मात्र छ। यी विचार स्खलित शक्तिहरु राजनीतिक परिवर्तनका असफल पहिलो धारका प्रतिनिधि हुन पुगेका छन् । २०६३ सालबाट केजरीवाल प्रवृत्तिबाट जन्मिएका कथित वैकल्पिक शक्ति पनि असफल भए। विचार होइन कस्मेटिक व्यक्ति राजनीतिको केन्द्र हो भन्ने ती शक्ति दोस्रो धार बने । यी दुबै र अहिले जन्मन खोजेको राजतन्त्रक उदयको चाहना पनि राजनीतिमा विचारहीन हस्तक्षेप नै हो जहाँ व्यक्ति प्रधान हुन्छ विचार होइन। यी तिनै शक्तिको गन्तव्य स्थान एउटै हो, सत्ताको दोहन र मालिकत्व ।
यथार्थमा नेपाली समाजले खोजेको राजनीति व्यवस्था ‘विगत ७० वर्षको असफल युगबाट दिशान्तर हो’ जसका लागि स्पष्ट दर्शन, सिद्धान्त र कार्यमूलक रणनीति चाहिन्छ।’ तबमात्र देशको उत्पादन र खपत प्रणाली, लगानीको प्रेरणा, शिक्षाको ढाँचा, स्वास्थ्यको सुदृढ पहुँच, भौतिक निर्माणको दिर्घ गुरुयोजना, व्यापारको विस्तार र कुटनैतिक सम्बन्धले सही दिशा प्राप्त गर्दछन् । अबको राजनीतिक यात्राको एउटा मात्र लक्ष हुन्छ, त्यो हो राज्य व्यवस्थाको संचालनमा (राजनीतिक र आर्थिक बिकास प्रणालीमा) स्वतन्त्र नागरिकको प्रत्यक्ष सहभागिता । यो व्यवस्था नागरिकतन्त्र, जो यथार्थमा डेमोक्रेसी हो । अहिलेको संविधानले गरेको व्यवस्था त नेताको ‘पितृत्व र देवत्व’ अधिनमा रहेको दलतन्त्र मात्र हो । त्यसैले झुठो र भ्रामक प्रचार र अफवाहमा समय वयतीत गर्न अब समय छैन ।