धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास
डा. गोविन्दशरण उपाध्याय ।
दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित गर्न सुझाव दिनु पनि हो । देखिएका, सुनिएका, बुझिएका सबै घटना वा विषयहरू सत्य हुँदैन र नदेखिएका, नसुनिएका, नबुझिएका तथा अनुभव नगरिएका विषयहरू पनि असत्य हुँदैनन् । जतिसुकै आधुनिकता र विज्ञानको कुरा गरे पनि ‘सूर्य पृथ्वी भन्दा १३ लाखगुना ठूलो देख्ने मान्छेसँग कुनै आँखा छैनन्’ भने स्वर्गनर्क वा अमरआत्मालाई प्रमाणित गर्ने कुनै उपलब्ध प्रत्यक्ष प्रमाण पनि छैन । तर यी दूवै तर्कले सत्यको सत्यतामा कुनै असर पर्दैन । सत्य र असत्यका विचमा विपरित सम्बन्ध रहिरहेको हुन्छ । विज्ञानको उपयोगिता प्रमाणित विषय हो । धर्मका विषयहरू पनि प्रमाणित नै हुन् किनभने विश्वका Global religion statistics का अनुसार विश्वका ८५% मान्छेहरूलाई आफु कुनैनकुनै धर्मको अङ्ग भएको स्वीकार गर्छन् । केवल १५% मान्छेहरू धार्मिक विश्वाससँग असहमत छन् । नेपालमा पनि सैद्धान्तिक रूपमा कम्युनिस्टहरूले कुनै पनि धार्मिकआस्थामा विश्वास नगर्नु पर्ने हो । तर ठ्याक्कै विवरण प्राप्त नभए पनि ९८% जनसंख्याले धार्मिकतामा विश्वास गर्छ र कुनै न कुनै आस्थासंग जोडिएको छ ।
नेपाली समाजको ठूलो हिस्सा (हिन्दू ८२%, बौद्ध १०%, मुस्लिम ४.५% तथा इसाई १.५%) धर्मसंग जोडिएको छ । धर्मसँग जोडिंदै गर्दा आफ्नो धार्मिक वा सांस्कृतिक विश्वास र आफ्नो जीवनशैलीलाई आधुनिक ‘विज्ञानसम्मत’ भएको वा आधुनिक विज्ञानका कतिपय प्रतिमानहरू आफ्नो धार्मिक वा सांस्कृतिक इतिहासमा पहिले नै विद्यमान रहेको, आफ्नो धर्मका संस्थापकले लेखेको पुस्तकमा विज्ञानका वर्तमान खोजहरूवारे बोली सकेको वा भविष्यवाणी गरेको भन्दै प्रचारप्रसार गरेको पढ्न, सुन्न र देख्न पाइन्छ । केही धार्मिक अभियन्ताहरूले त झन् ‘हाम्रो धर्म र धार्मिकता विज्ञानसम्मत रहेका प्रमाणहरू यी हुन्भ’ न्दै प्रचारप्रसार गरेको पनि भेटिन्छ । के साच्चिकै प्राचीन धार्मिक, सांस्कृतिक ग्रन्थहरूमा आधुनिक विज्ञानको परिचर्चा छ ?
संस्कृति, परम्पराहरूको निर्माण हुन हजारों वर्ष लागेको हुन्छ । मान्छे जुन परम्परामा हुर्केको हो, त्यो उसको परिचय (Identity) हुन्छ । यसैलाई गोत्र–परम्परा भनिन्छ । यस्तो गोत्र परम्पराका आफ्ना आचारविचार, धर्म, धार्मिक पुस्तकहरू र धार्मिकता बाहेकका अनेकौं साहित्यका परम्परा पनि हुन्छन् । आधुनिक विज्ञानको अनुपस्थितिमा तत्कालीन समाजमा प्रचलित चालचलन, चिन्तन, विज्ञान तथा अभिरुचिका विषयहरू त्यससंग जोडिएका हुन्छन् । यसै सन्दर्भमा, ऋग्वेद वैदिक संस्कृति र सभ्यताको प्रथम लेख्य ग्रन्थ हो । त्यसपछि असंख्य ग्रन्थ सृजना भए । सृजना भएका सबै ग्रन्थहरू ‘धार्मिक’ छैनन् ।
पाश्चात्य दार्शनिक परम्परामा धर्मदर्शन (Philosophy of religion) को विकास भएको छ जसको मुख्य कार्य धर्ममा रहेका दार्शनिक प्रतिमानहरूको खोजी गर्ने र समालोचनात्मक (Critically) अध्ययन गर्छ । पाश्चात्य दर्शनमा प्रयोग भएको Religion शब्दले वैदिक, जैन तथा बौद्ध परम्परामा प्रचलित धर्म शब्दको अर्थ व्यक्त नगरेर अब्रह्मिक रिलिजन व्यक्त गर्ने हुँदा Philosophy वा Religion अन्तर्गत वैदिकधाराका दार्शनिक प्रतिमानहरूलाई सम्बोधन गर्नु बडो जटील कार्य हुन्छ । वैदिक दर्शनधारामा परमसत्य भन्नु र ब्रह्म, ईश्वर, परमात्मा, निर्वाण भन्नुमा पार्थक्य छैन । वैदिक विचार पद्धतिमा धर्म र दर्शनका परमतत्व एकै हुन् र अब्रह्मिक धाराजस्तै तर्कलाई निषेध गरिएको पनि छैन । यसरी पाश्चात्य धर्मदर्शनले छुट्याउन खोजेको धार्मिक र दार्शनिक प्रतिमान वैदिकधारामा अभिभाज्य छ ।
संस्कृतिको वैदिकधारामा वेद केवल धार्मिक ग्रन्थमात्र होइन । वेदलाई रिलिजनको अर्थमा केवल पवित्र पुस्तक (Holy Book) मान्नु तर्कसङ्गत हुँदैन किनभने वेदले आफैलाई ‘धार्मिक ग्रन्थ वा वैदिकहरूको धार्मिक संबिधान’ भएको घोषणा गरेको छैन । अब्रहमिक धार्मिक संस्कृतिको प्रत्यक्ष प्रभावमा पर्दैजाँदा वेदलाई पनि ‘हिन्दूहरूको पवित्रग्रन्थ, सर्वमान्य धार्मिकग्रन्थ’जस्ता उपाधिसंग सम्बोधन गर्न थालिएको हो । असलमा, वेद र वैदिकधाराका सबै गन्थहरू धार्मिकमात्र नभएर सामाजिक, सांस्कृतिक, राजनैतिक, सांगीतिक, आयुर्वेदिक, धनुर्वेदिकआदि सबै विषयका सङ्ग्रह हुन् । वेद र वैदिक धर्मसंग सम्बन्धित कतिपय ग्रन्थहरू विज्ञानसम्मत छन् पनि र छैनन् पनि । विज्ञानसम्मत छैनन् भन्नुको अर्थ हो – वेदहरूले आजभोली विकसित भएका बैज्ञानिक उपकरणहरूका विषयमा कुनै जानकारी दिंदैनन् न भविष्यवाणी नै गरेका छन् । तर त्यससमयमा प्रचलित विज्ञान र तत्कालीन मानव चिन्तनले भविष्यमा उपयोग गर्न चाहेको चिन्तनगत विज्ञान (Hypothetical expectatio ) चाहिं जताततै पढ्न सकिन्छ ।
कुनै विषयवस्तु विज्ञानसम्मत छ कि छैन भनेर बुझ्न आधुनिक विज्ञानका केही ठोस मान्यताहरूका विषयमा जानकारी हुनुपर्छ । आधुनिक विज्ञानमा अनुभवजन्य प्रमाण (Empirical evidence), परीक्षण (experimentation), पुनःपरीक्षण (repeatability) , र संशोधन fallibility) को नियन्त्रण हुन्छ । तेसैले आधुनिक विज्ञानले कुनै विषयवस्तु यदि परीक्षणले सिद्ध हुँदैन भने त्यसको सत्यतालाई अस्वीकार गर्छ । यसको अर्थ हो आधुनिक विज्ञानमा परिक्षण गर्ने योग्यता (Testability), पूर्वानुमानको क्षमता (Predictability) र संशोधन एवं परिष्करण (Self–Correction) क्षमता हुनै पर्छ । के धार्मिक प्रत्ययहरू उपयुक्त प्रतिमानअनुसार सिद्ध हुन्छन् त ? सम्भवतः धार्मिकहरूले यस्ता दार्शनिक प्रश्नहरूको गोलमटोल उत्तर दिने गर्छन् । धार्मिक विश्वासहरूको सृजना विज्ञान हो तर अभ्यासबाट प्राप्त हुने भनिएका उद्देश्यहरू विज्ञानका नजरमा परीक्षणयोग्य नहुँदा आधुनिक विज्ञानका दृष्टिकोणले मूल्य विहिन छन् । तर विज्ञानका लागि उपयुक्त प्रतिमानहरू अन्वेषण तथा परीक्षणका विषयवस्तु हुन सक्छन् ।
वैदिक संस्कृति श्रुति (Listening) र स्मृति (Remembering )बाट विकसित हुँदै आएको हो । श्रुति र स्मृति दूवै अनुभवजन्य बैज्ञानिक परम्परा नै हुन् जहाँ मान्छे नै उपकरण (Equipment) बनेर सुन्ने र स्मरण गरेर ज्ञान–परम्परालाई अगाडी बढाउने कार्यमा उपयोग भएको छ । आजभोली स्मृति परम्परा हार्डडिक्समा स्टोर गर्ने र श्रुति परम्परा साक्ष–प्राप्ति (Data collection)मा रुपान्तरित भएको मान्न सकिन्छ । यी दूवै प्राचिन वैदिक विज्ञानका परम्पराहरू आज पनि अबच्छिन्न रूपले मानवसमाजमा प्रचलित नै छन् । स्वरूप बदलिएको छ : मान्छे नै उपकरण बन्ने आवश्यकतालाई किताव र मसीनमा विस्थापित भएको छ । सायद, यो तत्थ्य विश्वभरिका संस्कृतिमा लागु हुन्छ ।
विज्ञानको उपयोगिताले मान्छेको मनोविज्ञानलाई अत्यन्त बढी प्रभावित पारेको छ । हरेक घटना, विषय तथा परिवेशमा विज्ञान खोज्नु मानवीय स्वभावमा रूपान्तरित हुँदैछ । हरेक घटना वा विषयमा विज्ञान हुन्छ भन्ने मान्यता (Assumption) स्थापित हुँदै जानु राम्रो हो तर भावना (Feelings and Notions) मा पनि विज्ञान देख्नु मानवीय स्वभावको प्राकृतिक गतिउउपर यन्त्रहरूलाई अधिकार दिनु हो । यदि एकजना चिकित्सकले यौनक्रिया गर्दगर्दै पत्नी वा पतिलाई बस्तु (क्गदवभअत) का रूपमा देख्नथाल्यो भने सेक्सबाट प्राप्त हुने आनन्द डोपामाइन प्रभावमा रुपान्तरित हुन्छ । त्यहाँ दुईजना मान्छेको क्रिया र दुईटा रोबटहरूको क्रियामा फरक रहन्न । मान्छे र रोबटमा केही त फरक हुन्छ नै । उदाहरणका लागि वैदिक संस्कृतिमा योग, ध्यान, आयुर्वेद, तर्क, जिज्ञासा, मनोविज्ञान, परमाणुशास्त्र विज्ञानका बलिया प्रतिनिधि हुन् भने ज्योतिष, पुनर्जन्म, भाग्य, कर्मवाद, स्वर्गनर्कजस्ता प्रतिमानहरू आधुनिक विज्ञानका दृष्टिकोणले सार्थक ठहरिनन् ।
–यही तत्थ्य अन्य धर्म वा पन्थका सवालमा पनि क्रियाशील हुन्छ । असलमा आधुनिक विज्ञानका नजरियाले हेर्दा कुनै पनि धार्मिक वा सांस्कृतिक परम्परा वा तिनका पवित्रपुस्तकहरू विज्ञानसम्मत मान्न सकिन्न तर तिनले प्राप्त गर्न खोकेको परमसत्यको ऊदेश्य अबैज्ञानिक छ भन्ने प्रमाणिक आधार (Empirical evidence) पनि आधुनिक विज्ञानसंग छैन । विज्ञानले आफ्नो क्षेत्र उलंघन गर्न मिल्दैन भने धार्मिकहरूले पनि आस्था र विश्वासका प्रतिमानहरूलाई ‘विज्ञानसम्मत’ भएको झूटो प्रचारप्रसार गर्नुहुँदैन ।
वैदिक संस्कृतिको इतिहास पर्गेल्दा ‘जिज्ञासा’ नै संस्कृति अभिनिर्माणको प्रस्थानविन्दु हो । अथातो धर्म÷ब्रह्म÷कर्म जिज्ञासा उप्रान्त हामी धर्मका विषयमा, ब्रह्मका विषयमा, कर्मका विषयमा जिज्ञासा राख्छौं भने अगाडी बढेको भेट्न सकिन्छ । आधुनिक विज्ञान र वैदिक तर्कप्रणाली यहाँ आएर निकै मिल्दो छ । वैदिक संस्कृतिको आरम्भ जिज्ञासा (तर्क. वितर्क, छलफल)बाट भएको देखिन्छ भने अन्य धार्मिक विश्वासहरूको आरम्भ विश्वास र त्रास (ईश्वर सबैभन्दा शक्तिशाली छ, उसंग डराउ) बाट भएको ऐतिहासिक सत्य हो । सबैलाई थाहा छ, मानवीय समाजमा विज्ञानको विकासमा डर वा त्रासका तुलनामा जिज्ञासा वा तर्कको बढी महत्व छ । अचम्म मान्नुपर्छ, तर्क वा जिज्ञासामा आधारित बैचारिक पृष्ठभूमि भएको वैदिक संस्कृतिले आधुनिक विज्ञानको विकासमा सफलता प्राप्त गर्न नसकेर पूर्णतया डर वा त्रासमा विकसित भएको पाश्चात्य समाजमा विकास भयो !
अन्त्यमा, वेदमा आधुनिक विज्ञानक सम्पूर्ण प्रतिमानहरू विद्यमान छन् भन्नु वेदप्रतिको जिज्ञासा होइन, अन्धविश्वास हो । निश्चय नै वेद, उपनिषद, पुराण, साहित्यमा अनन्त विज्ञानहरू छन् तर ती सृजना गरिएको समयमा प्रचलित विज्ञानहरू । उपर्युक्त प्राचीन ग्रन्थसाहित्यले त्यस बखतसमाजमा प्रचलित विज्ञानको गतिलो प्रतिनिधित्व गर्छन् भने त्यस बखतको मानवसमाजले कस्तो सुविधा उपभोग गर्न चाहन्छ, त्यसलाई काल्पनिक रूपमा कविता वा कथाका रूपमा प्रस्तुत गरेर आधुनिक विज्ञानमा काम गर्नेहरूका लागि अनन्त अनुसन्धानका सम्भावनाहरू (Research) खोज्न (Hypothesis) गर्न र ती कल्पनालाई क्रियाशील (Connotative) मा रुपान्तरित गर्न अवसर प्रदान गरेको छ । विमानको कल्पना गरेर त्यस बखतका मान्छेले आधुनिक मान्छेलाई विमान बनाउन सहयोग गरेका हुन् । यसैगरी योगवासिष्टका महान् ऋषि बशिष्ट ध्यानमा बसेको बखतमा एकक्षणमै अनन्त कोटी ब्राह्मण परको ग्रहमा प्रवेश गरेर, त्यहाँ अनन्त समय विताएर फर्कंदा एकक्षण वितेको थिएन । यो मानवीय चाहनाले आधुनिक विज्ञानका लागि हजारौं लाइट–इयर वर्ष टाढाका ग्रहहरूको यात्रा गर्न सकिने प्रविधि विकास गर्न प्रेरित गर्छ ।
सबैको कल्याण होस् ।