मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्छः गौतम
काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग लिन सुझाव दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा गौतमले फेरि राजा बनाउ भन्नु उचित नभएको भन्दै दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा शाहलाई सुझाव दिएका हुन् ।
उनले भने, ‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित हुँदैन । तपाईंले पुनः राजा बन्ने चाहना त्याग्नुस् र आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् ।’
उनले फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियत समेत गुम्न सक्ने बताए । गौतमले मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्ने बताए । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार साँझ भिडियो सन्देश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।
सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’