किन कुण्ठाग्रस्त हुँदैछ नेपाली समाज ?
डा. गोविन्दशरण उपाध्याय ।
अहिलेको नेपाली समाज निरन्तर कुण्ठाग्रस्त (Frustration) हुँदैछ । दुईजना मान्छे भेटियो कि राजनैतिक तथा आर्थिक भ्रष्टाचारको कुरा चल्छ । सरकारी, अर्धसरकारी तथा निजी क्षेत्रमा काम गर्ने व्यक्तिहरू पनि निरन्तर कुण्ठग्रस्त हुँदैछन् । साध्य–साधनका बीचको बढ्दो ग्याप र धनि र गरिवका विचमा शिक्षा, स्वास्थ्य, जीवनशैली तथा सामाजिक हैसियतमा बढ्दो असमानताका कारण १५ वर्षदेखि २५ वर्षका युवाहरूमा निराशा संस्थागत हुँदैछ । फलतः युवाहरूमा कुण्ठा, निराशापन, चिन्ता तथा डरको मात्रा थाहा पाइनेगरी बढिरहेको छ ।
कुण्ठा (Frustration) भनेको कुनै चाहना, आकांक्षा वा लक्ष्य प्राप्त गर्न नसक्दा उत्पन्न हुने मानसिक अवस्था हो। यो एउटा नकारात्मक भावना हो जसले व्यक्ति भित्र निराशा, रिस, असन्तोष, तनाव, तथा आत्म–अविश्वास पैदा गर्छ। कुण्ठा अल्पकालीन (Short-term) वा दीर्घकालीन (Long-term)) दुवै हुन सक्छ। सामान्य रूपमा कुण्ठा तब उत्पन्न हुन्छ जब हाम्रो अपेक्षा र वास्तविकता बीच ठूलो अन्तर रहन्छ।
वेदान्त, योग, र मनोविज्ञानका सिद्धान्तहरूमा कुण्ठालाई मानसिक अशान्तिको एउटा मूल कारकका रूपमा हेरिएको छ। भगवद्गीता, उपनिषद्, तथा बौद्ध दर्शनमा पनि कुण्ठा उत्पन्न हुने कारण र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे चर्चा गरिएको पाइन्छ ।
व्यक्तिमा कुण्ठाको (Frustration) बहुआयामिक कारण हुन्छ तर पनि बाह्यकारणहरूबाट र आन्तरिक कारणहरूबाट गरी दुई कारणले मान्छे कुण्ठित हुन्छ । बाहिरी कारणहरूमा लक्ष प्राप्त गर्नमा अवरोध, लक्षप्राप्त गर्न संसाधनहरूको अभाव वा साधनप्राप्तिमा अवरोध, समाज वा परिवारबाट गरिएको अपेक्षा पूरा गर्न नसक्नु तथा आफूसँग असमान वा अन्यायपूर्ण व्यबहार हुँदैगर्दा हरेक मान्छेले तीब्रतर कुण्ठाको अनुभव गर्छ । त्यसैगरी, आन्तरिक कारणहरूमा आफ्नो क्षमता र संसाधन भन्दा बढी परिणामको अपेक्षा गरेर लक्षतय गर्नु, सधैं नकारात्मक चिन्तन गर्नु वा नकारात्मक समाचारहरू पढ्नु, सुन्नु, अर्काका विषयमा नराम्रो धारणा बनाउनु, अहङ्कार गरेर पूर्ण गर्न नसिके लक्षप्राप्ति गर्न जिद्दी गर्नु र ससानो कुरामा निराश हुनु पर्छन् ।
कुण्ठाग्रस्त व्यक्ति निकै तरल हुन्छ । कुण्ठग्रस्त व्यक्ति वा समाजलाई सजिलैसंग कुमार्गमा लैजान सकिन्छ । तेसैले कुण्ठाग्रस्त व्यक्ति र समाज निकै खतरनाक हुन्छन् । नेपाली समाजमा बढ्दो नकारात्मक मानसिकता कुण्ठाको असर हो । कुण्ठागस्त व्यक्ति वा समाज डाइनामाइट जस्तो हुन्छ जुन अलिकति तातो हुँदासाथ विनाशकारी भएर विस्फोट हुन्छ । अहिले नेपाली समाज कुण्ठाको अत्याधिक तरल डाइनामाइटले भरिएको छ, स–सानो घटनाक्रमले पनि उद्देलित तथा विस्फोटका लागि तम्तयार छ ।
मनोवैज्ञानिक रूपमा विश्लेषण गर्ने हो भने कुण्ठा पीरलो (Stress) को पूर्ववर्ति अवस्था हो । कुण्ठाले मान्छेलाई निरन्तर तनावग्रस्त बनाइरहेको हुन्छ । कुण्ठाले मानसिक पीरलो, चिन्ता, डर, क्रोधजस्ता अनेकौं मनोबैज्ञानिक समस्याहरू निम्त्याउने सामथ्र्य राख्छ । कुण्ठाग्रस्त व्यक्ति वा समाज आत्मविश्वास रहित हुन्छ, निकै रिसाहा, उग्र एवं अवसादले (Depression) भरिएको हुन्छ । स–सानो कुरामा रिसाउने, उक्सिने, मात्तिने, आत्तिने, निराशा व्यक्त गर्ने र अत्यधिक डराउनेजस्ता मनोवैज्ञानिक समस्याहरूबाट प्रभावित हुन्छ ।
यसैगरी, कुण्ठाग्रस्त व्यक्तिको आहार तथा व्यबहार पनि अस्थिर, भविष्यवाणी गर्न नसकिने, अत्याधिक अर्का र आफूलाई दोष दिने, कार्यसम्पादन गर्न नसक्ने, समयमा काम गर्न नसक्ने, झर्किने र लागूऔषध वा अन्यप्रकारका कुलतहरूमा फस्ने हुन्छ । उदाहरणका लागि एउटा कुण्ठाग्रस्त व्यक्तिले मोटरसाइकल चलाईरहेको छ र उसको मोटरसाइकललाई अरूकुनै मोटरसाइकलले छोयो भने पनि हिंसक व्यबहार देखाउन सक्छ । सासानो कुराको हिंसक जवाफ दिन खोज्ने, स–सानो कुरामा मुख वा हात चलाउने, कुनै काममा केन्द्रित हुन नसक्ने र आफु अतिचलाख ठान्ने र बोलीको ठेगान नहुनेजस्ता व्यबहारहरू कुण्ठाग्रस्त व्यक्तिको व्यबहारमा परिलक्षित हुन्छन् ।
आफ्नो कुण्ठाग्रस्त स्वभाव र व्यबहारलाई वदल्नु पर्छ र बदल्न सकिन्छ । यसको लागि सम्बन्धित व्यक्तिले लक्ष निर्धारण गर्दा वास्तविक सम्पन्न गर्न सकिने (Realistic Goal) निर्धारण गरेर अलिअलि गर्दै निरन्तर त्यसको सम्पादनतिर लाग्नुपर्छ, समस्याको समाधान खोज्न केन्दित हुनुपर्छ भने मनलाई शान्त पार्न दैनिकीमा पथ्यकर भोजन, आफुले गर्न सक्ने काम, पूर्ण निन्द्रा, योग, ध्यान, आसन, प्राणायाम, प्रकृतिसंग घूलमेल, लेखन, पुस्तक पढ्नेजस्ता अनेकौं क्रियाकलापमा समावेश भएर कुण्ठालाई न्यून गर्न सकिन्छ । महत्वपूर्ण कुरा के भने कुनै पनि नकारात्मक कुराका लागि समय दिनु हुँदैन । चियापसलमा बसेर राजनैतिक नेतृत्वलाई गालीगलौज गर्नु र सुन्नु भनेको मानसिक कुण्ठालाई निमन्त्रणा दिनु र कुण्ठाको चक्रव्यूहमा फस्नेतिर लाग्नु हो । तेसैले कुण्ठा बढाउन सहयोग गर्ने कुनै पनि क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी नहुनु नै कुण्ठा रोक्ने सबैभन्दा भरपर्दो उपाय हो । नेपाली ‘उखान जुन जोगी आए पनि कानै चिरेका’ कुण्ठाको सबैभन्दा जीवन्त परिभाषा हो ।
अन्त्यमा, कुण्ठा भनेको जीवनको अविभाज्य अंश हो, तर यसलाई सही तरिकाले व्यवस्थापन गर्न सकिन्छ। कुण्ठा उत्पन्न हुने कारणहरू बाह्य तथा आन्तरिक दुवै हुन सक्छन्। यसले मानसिक, व्यवहारगत तथा सामाजिक रूपमा नकारात्मक प्रभाव पार्न सक्छ। यद्यपि, मनोवैज्ञानिक, आध्यात्मिक, तथा व्यावहारिक उपायहरू अपनाएर कुण्ठालाई सकारात्मक दिशामा रूपान्तरण गर्न सकिन्छ। योग, ध्यान, गीता तथा उपनिषद्का शिक्षाहरूले कुण्ठालाई कम गर्न महत्वपूर्ण भूमिका खेल्छन्। साच्चिकै भन्नुपर्दा कुण्ठालाई समस्या होइन, एक अवसरका रूपमा हेर्नु नै यसको व्यवस्थापनको सर्वोत्तम उपाय हो।
स्वस्त्यस्तु