माधव नेपालको सुझावः हामीले विद्रोह गरेकोमा प्रश्न उठाउनेले वामदेव र भीम रावललाई हेर्नु
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको निजी आदेश चल्ने गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भन्दै कम्युनिष्ट पार्टीको चरित्र गुमाएको बताए ।
उनले भने, ‘एमालेमा केपी बा को निजी आदेशमात्रै चल्छ । उहाँको निर्देशन र आदेश पालना गर्नेबाहेक अरु टिक्न सक्दैनन् । त्यो पार्टी होइन ।’
उनले एमालेबाट विद्रोह गर्नुको औचित्य भीम रावल र वामदेव गौतमलाई हेरे पुग्ने बताए । उनले भने, ‘हामीले विद्रोह गरेको भन्दै प्रश्न उठाउने गरिन्छ । भीम रावल र वामदेव गौतमलाई हेर्दा हुन्छ । हामीले विद्रोह नगरेको भए त्यस्तै हालत हुन्थ्यो ।’
उनले पद ओगटेर बसेर र गफ गरेर पार्टी नबढ्ने भन्दै गाँउ गाँउमा गएर जनताको समस्या उजागर गर्ने काममा लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।