सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको प्रचण्डको आरोप
चरिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको आरोप लगाएका छन् ।
३०औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको शुक्रबार तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार संविधान संशोधन गर्नेमा नभई संविधान च्यात्ने काममा लागेको आरोप लगाएका हुन् ।
उनले कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउनेमा नै सरकारको ध्यान रहेको बताए । उनले भने, ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रुपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन् । यसबाट उनीहरु संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिन्छ ।’
उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजे लाखौं जनतालाई सडकमा उतार्ने बताए । अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताए ।
उनले यसबाट मात्रै राजनीतिक स्थायित्व कायम हुने सबै वर्ग र समुदायले पनि थप राजनीतिक अधिकार प्राप्त गर्ने बताए ।