‘ गृहमन्त्रीले आफैंले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा देशमा किन बस्ने ?’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकको आलोचना गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसद खनालले ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई अनुसन्धान गर्ने पनि हिम्मत नगरेको भन्दै गृहमन्त्रीको आलोचना गरेका हुन् ।
उनले आफूले कमाण्ड गरेको प्रहरीकै सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुर्सीमा बस्नु अनैतिक हुने बताए । उनले भने, ‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्राउ गर्ने हिम्मत प्रहरीले गर्न सकेन । यो क्षेत्र मेरो हो । यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ । उहाँहरुले क्याम्पसको कक्षा कोठामा सधैँ उहाँहरूको दादागिरी चल्थ्यो । तर, अब पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ? कृपया यसको बारे बोलिदिनु न ।’
उनले प्रहरी कुट्ने विद्यार्थी नेतालाई कारबाही नगरेर गलत सन्देश गएको बताए । उनले सदनमा युवाहरू देश छाडेर गए भनेर धेरै नेताहरूले चिन्ता व्यक्त गरे पनि व्यवहारमा दलीय आधारमा एउटा पक्षको विद्यार्थीहरूलाई मात्र देश सुरक्षित छ भनेर नेपाली युवाहरूलाई सन्देश दिइरहेको बताए ।
उनले भने, ‘दुई तिहाइको तपाईँहरूको बहुमत छ, गृहमन्त्रीले आफैंले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको युवाको देशमा किन बस्ने ? तपाईंहरूलाई भोट हाल्न मात्र बस्ने ?’
गत बिहीबार अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितको समूहले काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको थियो । यो घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा जोशीलाई भने उन्मुक्ति दिइएको छ । जोशीलाई उन्मुक्ति दिइएको भन्दै सरकारको आलोचना भइरहेको छ ।