संसद अधिवेशनबाट भागेर अध्यादेश ल्याउनु षड्यन्त्र होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जारी गरेका अध्यादेशको विरोध गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकार संसद अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्को अध्यादेशहरु ल्याएको बताएका हुन् । उनले संसद नबोलाएर अध्यादेश जारी गर्नु सही नियत नभएको बताए ।
उनले भने, ‘माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले १२ पटक प्रधानमन्त्री चलाएछ । नेकपा एमालेले सात पटक, पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईंहरु पनि अब विकासको हाजी हुनुभएको हो ?’
उनले कांग्रेस एमालेलाई संसदमा दुई तिहाइको घमन्ड नगर्न चेतावनी दिए । उनले भने, ‘बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ? यो सार्वभौम संसदको अपमान र अवहेलना हो । यो केवल हामी विपक्षसँग सरकारको डरमात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरुमाथि समेत सरकारको अविश्वास हो ।’