यो केवल दुःखद होइन, लज्जास्पद हो सरकार !
सोविता गौतम ।
देशको भूगोल सुन्दर छ तर जनता गरिबी, अन्याय, र असमानताको साङ्लोमा जेलिएका छन्। भ्रष्टाचारको साम्राज्य यस्तो छ कि सत्ताधारीहरू जनताको दुःख र पीडामाथि सत्ताको सुपारी खेल्दैछन् । एउटा नागरिकले सरकारलाई बारम्बार आग्रह गर्यो— ‘यहाँ ठगी भइरहेको छ, नियन्त्रण गर, हाम्रो आवाज सुन, हाम्रो पीडा बुझ, हाम्रो समस्या समाधान गर।’ तर सरकारलाई त्यो पीडाले छोएन, छुँदै त छोएन। अन्ततः, त्यो नागरिकले सहन नसकेर सडकमा आवाज उठायो। त्यो आवाज आक्रोशले भरिएको पिडा थियो, सरकारले सुन्नै नसक्ने चर्को चिच्याहट थियो । विद्रोहको शैलीमा प्रश्न हुन सक्छ तर नियत केवल सामाजिक न्याय थियो ।
यहाँ सरकारले के गर्यो ? समस्याको समाधान खोज्नुको साटो, त्यो आवाज उठाउनेलाई नै अपराधी करार गर्यो । काखमा दूधेबालक भएकी आमालाई हत्कडी लगायो। सरकारले आमाको ममतामाथि बुट बजार्यो, अबोध बच्चाको काख खोसिदियो। सरकारले आफ्नो दायित्व बिर्सियो। समस्याको जड बनेर, सत्ताको ढालले जनताको आवाजलाई दबाउन थाल्यो। यो केवल दुःखद होइन, यो लज्जास्पद हो । यस्तो शासन गर्दैछ सरकार, जहाँ बोल्ने अधिकार त छ, तर सत्य बोल्दा कैद हुन्छ। आखिर, यो देश त शासकको मात्र रहेछ।
कुशासनको पराकाष्ठ ! आशिका तामाङमाथिको ज्यादती बन्द गर, सरकार !