कांग्रेस-एमालेले ‘तपाईंलाई महाभियोगको लगाएर निकाल्छौं ‘भनेपछि राष्ट्रपति धर्मसंकटमा पर्नुभयोः प्रचण्ड
दाङ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले राष्ट्रपतिलाई महाभियोगको धम्की दिएर अहिलेको सरकार गठनका लागि बाध्य पारेको आरोप लगाएका छन् ।
शुक्रबार दाङको तलसीपुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस एमालेले राष्ट्रपतिलाई दबाब दिएर संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि बाध्य पारेको आरोप लगाएका हुन् ।
उनले कांग्रेस सभापतिको नेतृत्वमा सरकार गठन हुनुपर्नेमा राष्ट्रपतिलाई दबाब दिएर केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बाध्य पारेको बताए ।
उनले भने, ‘मैले राष्ट्रपतिजीलाई भनेको थिएँ, संविधान नमिच्नुस भनेर । उहाँले ढुक्क रहनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो मलाई । मैले सुनेको, कांग्रेस एमालेका नेताहरुले भनेको, उहाँहरुले हामीले भनेअनुसार भएन भने ७६ (२) अनुसार नै जानुभयो भने तपाईंलाई महाभियोगको लगाएर निकाल्छौं भनेपछि धर्मसंकटमा पर्नुभयो।’
उनले आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा यसअघिका कमी कमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेकाले जनतामा माओवादी पार्टीप्रति सकारात्मक धारणा बन्दै गएको बताए ।
सरकारबाट बाहिर निस्केपछि आफूले देशभर गरेको अभियानमा जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको उल्लेख गरे ।
माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धार र कम्युनिष्टहरूलाई एकताबद्ध गर्दै लैजाने उनले बताए । प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपील गरे ।