भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस्ः अध्यक्ष प्रचण्ड
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बनाउने बताएका छन् ।
मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तिमा २५० पालिका जितेर माओवादीलाई पहिलो पार्टी बनाउने बताएका हुन् ।
उनले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई मंसिर १६ को उपनिर्वाचनमा पहिलो बनाउनु रणनीतिक महत्वको विषय भएको बताए ।
उनले भने, ‘आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जित हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो । यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनीतिक महत्वको जित हो।’
उनले देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिन मतदातालाई आग्रह गरे ।
प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढङ्गले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको बताए ।
मङ्सिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा ग्रामथान पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा यहाँ माओवादी तेस्रो स्थानमा थियो ।