यथोचित समयमा संसद आह्वान हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरू ल्याइएको बताएका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले सत्तारुढ दुवै दलका शीर्ष नेतृत्व र विज्ञसँगको सघन छलफलपछि अध्यादेश ल्याएको बताएका हुन् ।
उनले अन्य विधेयकको तयारी भएको र अध्यादेश संसद सुरु भएको पहिलो दिनमै बैठकमा पेस गर्ने तथा प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताए ।
उनले मध्यरातमा अध्यादेश जारी गरेको भनेर अफवाह फैलाइएको बताए । उनले भने, ‘पौने ११ बजे हामीले राष्ट्रपतिकहाँ लगेर अध्यादेश दर्ता गर्यौं । पौने ११ लाई मध्यरात भन्छ, संसारमा कतै ?’ प्रधानमन्त्रीले राति काम गरेकोमा टाउको नदुखाउन समेत आग्रह गरे ।
उनले भने, ‘हामी राति पनि काम गर्छाैँ भन्ने कुरामा टाउको नदुखाए हुन्छ । जसले जे भने पनि बिहान, दिउँसो, बेलुका, राति गर्छौैँ । जबसम्म सुशासन आउँदैन तबसम्म ।’
उनले राम्रो काम कति बजे गर्न हुँदैन भन्ने नहुने बताए । उनले यथोचित समयमा संसद आह्वान हुने पनि बताए । प्रधानमन्त्रीले सरकार टिकाउनु भन्दापनि यसलाई सफल बनाउनु अहिलेको कर्तव्य भएको बताए ।
उनले भने, ‘सरकार त आफैँ टिकिहाल्छ । तर यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो ।’
उनले भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेको भनेर हल्ला चलाइएकोमा आपत्ति जनाए । उनले भने, ‘यो पूर्ण सहमतिमा अध्यादेश आएको छ । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइया । भूमिसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन ।’ राष्ट्रपतिले भूमिसम्बन्धी अध्यादेश बुधबार साँझ जारी गरिसकेका छन् ।
प्रधानमन्त्रीले सरकार ढाल्ने सपना नदेख्न पनि विपक्षी दलहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘सबै भ्रमहरु चिरिएका छन् । सरकार ढल्यो भन्नेहरुका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयास मात्रै हुन् ।’