हिन्दूहरूलाई जोड्ने १२ सूत्र
-डा. गोविन्दशरण उपाध्याय ।
(१) नेपालको आफ्नो पहिचान स्थापित गर्न यहाँका ८३.१% जनताको केवल ३५% भोट भए पुग्छ । सबै मिलेर यी भोटहरूलाई ध्रुवीकरण गर्ने हो भने नेपाललाई सनातन–राष्ट्र बन्नबाट कसैले रोक्न सक्दैन । ८३.१% हिन्दू जनसंख्या सनातन राष्ट्र निर्माणका लागि भोट खसाल्न तयार छ तर राजनैतिक पात्रतामा अल्झिएर भोट खस्न नसकेको हो ।
(२) केही अगुवाहरूले ‘हिन्दूहरू जागेनन्, आफ्नो मौलिकता नष्ट गर्ने राजनैतिक नेतृत्वलाई भोट दिन्छन्’ भन्दै हिन्दूहरू विरुद्ध आक्रोश पोखेको सुन्न सकिन्छ । यस्तो आक्रोश अर्थ विहिन छ । कुनै व्यक्ति, दल वा विचारधारालाई गालीगलौज र जिम्मेदार ठहर्याएर भोट–बक्समा भोट खस्दैन । ८३.१% नेपाली जनसंख्या प्रखर, विश्वासिलो र सदाचार भएको व्यक्तिलाई पर्खेर बसेको छ ।
(३) यदि ममा क्षमता छ भने ती भोटहरूलाई ब्यालेटमा बदल्न सक्छु । भोटहरू भ्यालेटमा खसेको क्षण कुनै धर्मनिरपेक्षवादी, साम्यवादी, घृणावादी कसैले पनि मलाई रोक्न सक्दैन । यो अर्जुन दृष्टिकोणको सम्मान र विकासतिर धेरैले ध्यान पुर्याउन नसकेको सत्य हो ।
(४) सत्य हो कि नेपालमा विदेशीहरूले खेलिरहेका छन् । त्यसले गर्दा पूर्ण देशभक्त राजनैतिक नेतृत्व पनि शंकाको घेरामा पर्छ तर नेतृत्वले यस्तो अविवेकी चिन्तनलाई (माइन्ड–सेट) परिवर्तन गर्न सक्ने सुझबुझ देखाउन पर्छ । विदेशी प्रतिमानको राजनैतिक चिन्तनको धरातलमा उभिएका नेतृत्व बिजयी भएका छन् भने स्वदेशी प्रतिमान विजयी नहुने कुनै आधार छैन ।
(५) नेपालको ८१.३% नेपाली जनसख्याको चरणकमलमा बसेर, तिनको उपस्थिति, चाहना र मर्मलाई बुझ्न नसक्नु दुर्भाग्यको विषय हो । उच्चमनोवल र आफ्नो धर्म, संस्कृति तथा परम्पराप्रतिको आत्मविश्वास एवं त्यो आत्मविश्वासलाई प्रयोग गरेर ‘कसपू’मा सेट भएको माइन्ड–सेट परिवर्तन गर्न असजिलो काम होइन । सुझबुझ र आत्मविश्वासको कुरा हो ।
(६) ८१.३% नेपाली जनताको भोट ब्यालेटसम्म लैजान नेपालमा भएका वैदिक संस्कृतिसंग जोडिएका संघसंस्था (राजनैतिक उद्देश्य भएका)ले जनतामा पहुँच बनाउने प्रयोजनका लागि कार्यविभाजन गर्नु पर्छ । उदाहरणका लागि सनातन संस्थाले केवल प्रचारप्रसार सामग्री छाप्ने, पशुपति सेनाले आर्थिक संकलन गर्ने, हिन्दू नेपालले टेलिभिजनमा हिन्दू संस्कृतिवारे वहस चलाउने । हिन्दू साइवर सेनाले नेपालमा र नेपाल वाहिर भएका गतिविधिहरूलाई साइवरमा राख्ने आदि । यसो गर्दा एउटाले अर्कालाई सघाउनु पर्छ र आ–आफ्नो क्षेत्रमा काम गर्नुपर्छ ।
(७) नेपाली माइन्ड–सेटको सबैभन्दा नराम्रो र विग्रेको पक्ष नै ‘नकारात्मक–माइन्ड–सेट हो । यस्तो माइन्ड–सेटले कुनै पनि व्यक्ति, राजनैतिक प्रणाली, सामाजिक वा सांस्कृतिक व्यबस्थाप्रति विश्वास गर्दैन । यो माइन्ड–सेट सजिलै परिवर्तन हुँदैन । नेतृत्व गर्न इच्छुक व्यक्तिले आफ्नो असल आचरण, आत्मविश्वास, बाक्–चातुर्यताबाट उपर्युक्त माइन्ड–सेट परिवर्तन गर्नुपर्छ । समय लाग्छ तर सकिन्छ ।
(८) नेपाली सनातन आन्दोलनको अर्को नराम्रो पक्ष भनेको हिन्दू संस्कृतिमै काम गर्ने अर्को नेतृत्वप्रति अनुदार विचार राख्नु हो । यस्तो अनुदार माइन्ड–सेट हिन्दूहरूमा मात्र होइन अन्य राजनैतिक दलहरूमा पनि छ । यस्तो अनुदारताले नेतृत्वहरूका विचमा सहृदयी सम्बन्ध स्थापित गर्न असजिलो पार्छ । यसका लागि ‘विनय र विनम्रता’ यी दूई गुणहरू बोकेर आफुले नै अग्रसरता लिने अभ्यास गर्नुपर्छ ।
(९) तरल राजनैतिक अवस्थामा नेतृत्व प्राप्त गर्न होडबाजी हुनु प्राकृतिक कुरा हो तर नेतृत्वको यो होडबाजीमा एकअर्कालाई निषेध गर्ने, एकअर्कालाई आफुभन्दा तल्लोतहको ठान्ने र असहयोग गर्ने कुराबाट जोगिनुपर्छ । यदि सनातन धर्मकोलागि अभियान चलाउने एकले अर्को सोही प्रकृतिको काम गर्ने विरुद्ध बोल्दा आफ्नै पनि आलोचना हुन्छ । विधर्मीहरूले यसबाट फाइदा उठाउँछन् ।
(१०) समय, परिवेश र आवश्यकताले गर्दा सनातन धर्मको मूल आचरणमा परिवर्तन आएको छ । जतिसुकै फुर्ति गरे पनि ‘पूर्णधर्म’ एउटा आदर्शमात्र हो । यदि कुनै समुदाय, व्यक्ति वा संस्कृतिमा वैदिक संस्कृतिको अलिकति पनि पालन गरिंदै छ भने त्यसको प्रसंशा गर्नुपर्छ, निन्दा होइन । संस्कृति परिवर्तनशील विषयवस्तु हो । कतिपय कुरा (धार्मिक व्यबहारहरू) जान्दाजान्दै बुझ्दाबुझ्दै पनि पालन गर्न सकिन्न ।
(११) सबैभन्दा महत्वपूर्ण कुरा, आत्मालोचना, हीनताबोध तथा विदेशी शक्तिहरूले लेखिदिएको ‘अधिकार’को चंगुलमा फंस्नु हुँदैन । सत्य, हो धेरै कुरा सुधार गर्नुपर्छ तर उनीहरूले देखाएको बाटो ‘घृणावाद’को साँघुरो बाटो हो । जातीय विभेद हिन्दू वैदिकहरूको आफ्नो हो । जुन संस्कृतिमा यो विद्यमान छ, तिनै सांस्कृतिक व्यक्ति वा समुदायले त्यसको समापन गर्न सक्छन् । अधिकारवादका नाममा जातीयछुवाछुतसंग ‘गोरुबेचेको नाता नभएका परचक्रीहरूको सल्लाह’ अस्वीकार गर्नुपर्छ ।
(१२) अन्त्यमा, नेपाल सनातन संस्कृतिको मूल थलो हो । वैदिक हिन्दूहरू यहाँका आदिवासी हुन् । सनातन धर्म सापेक्ष हिन्दू नेपाल नेपालीहरूको जीवनसिद्ध अधिकार हो । बहुलताको संरक्षण गर्ने पृष्ठभूमि हामी नेपालीसंग जन्मदै छ । कुनै पनि ‘दलाल’ नेपालीहरूलाई ‘समावेशी–चरित्र’ सिकाउनु पर्दैन । अरूको सांस्कृतिक सभ्यता समुल नाश परेको ऐतिहासिक पृष्ठभूमि भएकाहरूले विगत ३५०० वर्षदेखि १३२ बटा जातजाति संगै मिलेर बसेको इतिहास हामीसंग छ, सिक्न आउँ’ भन्ने प्रष्ट सन्देश दिए पुग्छ । हामी सबैको कल्याण होस् ।