पार्टीमा गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैनः कर्ण थापा
काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टीमा वैचारिक बहस गर्नु राजनीतिक नेता कार्यकर्ताको धर्म भएको बताएका छन् ।
बिहीबार सामाजिक संजालमार्फत थापाले तोकिएको विधि बमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणबाट उचित मान्न नसकिने बताएका हुन् ।
उनले भनेका छन्, ‘स्वस्थ्य राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता कार्यकर्ताको धर्म हो । तोकिएको विधि बमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिदैन । अराजकता र अनुशासनहीनता पनि कहीँ स्वीकार्य हुँदैन । विचार र विष्लेषणको श्रृंखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हो भने राजनीतिकर्मीको मृत्यु हुन्छ ।’
उनले सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई बैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘विचारमा आधारित भएर राजनीतिक बहस गरौं । सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई बैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिन्छ । एमालेको सम्पूर्ण पंक्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ । असभ्यताको प्रदर्शन असामाजिक र गैरराजनीतिक भएकाले कसैका लागि हितकर हुँदैन ।’