जालझेलबाहेक ओलीजीको दिमागमा अरू केही छैनः प्रचण्ड
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन अभियान कांग्रेस र एमालेको हेडक्वाटरमा सोझिएपछि आफ्नो सरकार ढालेको बताएका छन् ।
सोमबार झापाको झापाको गौरीगंजमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्ट, दलाल, बिचौलियाविरुद्ध चालिएको सुशासनको अभियानलाई रोक्न आफ्नो सरकार ढालेको बताएका हुन् ।
उनले भने, ‘मेरो नेतृत्वको सरकारले भ्रष्ट, दलाल, बिचौलियाविरुद्ध चालिएको सुशासनको अभियान कांग्रेस र एमालेको हेडक्वार्टमा सोझिएपछि रातारात सरकार ढाले । त्यसैले भ्रष्ट दलाल सरकारविरुद्ध एकजुट हुनुपर्छ।’
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको बताए । उनले भने, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी हो । जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’
उनले गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने बताए । अध्यक्ष प्रचण्डले नुवाकोटको शेरादरबारको जग्गा सरकारको नाममा ल्याउन चुनौती दिए ।
उनले १२–१५ वर्षअघि आफ्नो पार्टी छाडेका व्यक्तिको नाम जोडेर गलत प्रचार भइरहेको भन्दै आपत्ति जनाए । पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको छ । सो जग्ग माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको पाइएको थियो ।