अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एकसय वर्षमा निधन
बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको एकसय वर्षको उमेरमा निधन भएको हो । कार्टर सेन्टरले उनको निधन भएको पुष्टि गरेको छ ।
कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनी सबैभन्दा लामो उमेरसम्म जीवित रहने अमेरिकी पूर्वराष्ट्रपति पनि हुन् । जर्जियास्थित आफ्नो घरमा कार्टरले आइतबार अन्तिम स्वास लिएका कार्टर सेन्टरले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोक व्यक्त गरेका छन् । उनले भनेका छन्, ’आज अमेरिका र दुनियाले एक असाधारण नेता, राजनेता र मानवतावादी गुमाएको छ ।’
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । राष्ट्रपतिको कार्यकालपछि कार्टर मानवअधिकार, शान्ति स्थापना र विकासका क्षेत्रमा क्रियाशील रहे । सोही कारण उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए ।
नेपालको मित्रको रूपमा चिनिएका कार्टरले शान्ति प्रक्रियामा सहयोगी भूमिका निर्वाह गरेका थिए । नेपालमा शान्ति प्रक्रिया आरम्भ भएपछि अमेरिकी सरकारको औपचारिक भनाइ प्रकट नभइरहेका बेलामा कार्टर भने सहयोगी भएर आएका थिए । २०६४ को पहिलो संविधानसभा चुनावमा कार्टर अनुगमनमा आएका थिए ।