राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१’ जारी गरेका हुन् ।
संविधानको धारा ११४ को उपधारा (१) अनुसार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गतसाता बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
अध्यादेशमा सहकारी संस्थाहरुको नियमनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरिएको छ । पाँच सदस्यीय आयोगमा एक जना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ ।
अध्यादेशमार्फत् बचत तथा ऋणको सीमा निर्धारण गरेको छ । जसअनुसार सहकारीमा कुनैपनि व्यक्तिले ५० लाख भन्दा बढी रकम जम्मा गर्न पाउने छैन ।
त्यस्तै एउटा जिल्ला भित्र मात्र कार्यक्षेत्र रहेको बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँको सीमा तोकेको छ । अध्यादेशले सहकारी संस्थामा दश लाख रुपैयाँ भन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ।