वैकल्पिक र सुसंस्कृत राजनीतिको बिउ त कतै न कतै बाँचेकै होला !
नारायण गाउँले ।
यो नारा सम्झिनुहुन्छ ? यो दल सम्झिनुहुन्छ ? काठमाडौंमा रञ्जु दर्शनाले ल्याएको उल्लेख्य मत र वैकल्पिक राजनीतिको झिल्को सम्झिनुहुन्छ ? दलकै कुरा गर्दा त काँग्रेस–एमाले र माओवादीपछि पनि ३०० बढी दल खुलेका छन् । तर यो फुच्चे दल खासमा नयाँ थियो । देशले युद्ध भोग्यो, अनेक व्यवस्था र त्यसविरुद्धका आन्दोलन भोग्यो, गृहयुद्ध भोग्यो । भूकम्पदेखि भ्रष्टाचारसम्म विपत्ति भोग्यो । तर देशलाई सबैभन्दा बढी जर्जर बनाउने र उद्योगव्यवसायलाई धराशायी बनाउँदै लाखौँ युवालाई विदेश पलायन गराउने विपत्तिचाहिँ ’नेपाल बन्द’ थियो । एक दिने, तीन दिने, हप्ते हुँदै महिनै भरि नेपालबन्द र चक्काजाम हुन्थ्यो । उद्योग, स्कुल र कलेजमा त वर्षभरि ताला लागेको पनि देखियो, भोगियो ।
ती दिन जोड्ने हो भने माओवादी, एमाले र कांग्रेसले मिलेर देशलाई दुई वर्ष जति बन्द गरे । २५ खर्बको वार्षिक जिडीपी हिसाब गर्ने हो भने पनि ५० खर्ब जति त देशको अर्थतन्त्र स्वाहा भयो । यसभन्दा ठूलो भ्रष्टाचार, रोग र राष्ट्रिय विपत्ति के होला ? हिजो तपाईंहामी मध्ये धेरैले त्यस्ता बन्दमा ढुङ्गा हान्यौँ । टायर बाल्यौँ । मोटरसाइकल र ट्याक्सी जलायौँ । खुला देखेका सटरमा तोड़फोड़ गर्यौँ । उद्योग–व्यवसायलाई टिक्नै नसक्ने बनायौं । पचास खर्बको जिम्मा हाम्रो पनि हो ।
यतिसम्म विकृति भयो कि श्रीमान् श्रीमती झगडा गर्दा पनि चक्काजाम हुन्थ्यो । विपक्षमा हुने दलले समर्थन गथ्र्यो । यो रोगको उपचार पनि हुन्छ भन्ने सोच्न सकिन्नथ्यो । भएका दलभन्दा नयाँ आउने दल झन् उग्र हुन्थे । पुरानाले एक दिन बन्द भन्दा तिनले एक महिना बन्द भन्थे । आन्दोलन भनेकै ढुङ्गा, चन्दा, हिंसा र नेपाल बन्द थियो ।
ठीक त्यतिबेला एउटा राजनैतिक प्रकृतिको अभियान सुरु भयो, विवेकशील नेपाली भनेर । केही युवा हातमा प्लेकार्ड बोकेर सडकछेउ उभिन थाले । न तिनले कसैलाई तुच्छ गाली गरे, न चर्को भाषण र नाराबाजी गरे । नेपाल बन्दको दिन (जुन महिनैभरि जस्तो हुन्थ्यो) ती नेपाल खुला छ भन्दै सडकमा आए । जसका विरुद्ध सड़कमा आए, तिनैलाई पनि गाली नगर्ने त्यो शैली र उपकरण साँच्चिकै वैकल्पिक थियो । सुरुमा त नेपाल खुला छ भन्ने त्यो नारा कसैले पत्याएन । तर त्यो अभियान पनि थाकेन । युवा नथाकेपछि जे हुन्छ त्यही भयो । नेपाल बन्द बन्द भयो, नेपाल खुला भयो । एउटा सुसंस्कृत राजनीतिक विकल्पको बिउ तयार थियो तर देशको माटो त्यसका लागि जोतिइसकेको थिएन । शायद सङ्गठन विस्तारका लागि आवश्यक पैसा पनि त्यहाँ थिएन । अनलाइन सदस्यता होस् या सभ्य र अहिंसात्मक विरोध, यो अभियान निकै अलग थियो, सिर्जनात्मक थियो । यो अरू अभियानका लागि आधार त बन्यो तर आफै उभिन सकेन । तर, वैकल्पिक र सुसंस्कृत राजनीतिको बिउ त कतै न कतै बाँचेकै होला !