पदम गिरीको प्रश्नः भीम रावलले पार्टी हितविरुद्ध गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने ?
काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीेबाट निस्कासन गर्ने निर्णय सही भएको बताएका छन् । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।
गिरीले रावलले पटक पटक पार्टी हितविरुद्ध बोल्दे हिँडेकाले पनि यस्तो अवस्था आएको बताएका छन् ।
सामाजिक संजालमार्फत गिरीले भनेका छन्, ‘के यसैगरी मनलाग्दी बोल्ने, पार्टी हितकाविरद्ध गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने हो भने भोलि सयौ भीम रावल जन्माएर अराजकता हुर्काउने ? त्यसैले जो को पनि पार्टी बिधि विधान र अनुशासनमा बस्नै पर्दछ । अन्यथा कम्यूनिष्ट पार्टी अराजकताको सिकार बन्ने र समाप्तको बाटोमा पुग्न कसैले रोक्न सक्दैन ।’
यस्तो छ गिरीको भनाई
पार्टी सचिवालयले भीम रावल लगायतको कारवाहीलाई लिएर एमालेभित्र भन्दा एमाले भन्दा फरक पार्टी कार्यकर्ताबाट बढी चिन्ता किन प्रकट भएको होला ? पार्टीका केही कार्यकर्तामा पनि यो स्याल हुईयाँको प्रभाव परेको हो कि ? के भीम रावल माथि पार्टीले अन्याय नै गरेको हो त ?
यता फर्केर हेरौं न त ,
भीम रावलले बिगतमा पार्टी र राष्ट्रका निम्ति योगदान नगरेको भन्न मिल्दैन । सँग सँगै उहाँलाई पार्टीले शिरमै राखेर अवसर र जिम्मेवारी नदिएको पनि होइन ।
२०४६ सालमा अन्तरिममन्त्री झलनाथ खनालको सल्लाहकार (स्वकीय)
०५२ सालमा पर्यटन राज्यमन्त्री,
२०५५ मा पर्यटन मन्त्री
२०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्यो तर खोजेको मन्त्रालय नपाएपछि सरकारमा जानुभएन,
२०६४ मा समानुपातिक सभासद
२०६६ मा गृहमन्त्री,
२०७२ मा उपप्रधानसहित रक्षामन्त्री ।
उहाँको प्रवृत्ति –
बुटवल महाधिवेशनमा उपाध्यक्ष हार्नुभयो तर केन्द्रीय सदस्य बन्नु भयो तर महिनौंसम्म सपथ लिनु भएन र पार्टी काममा जोडिनु भएन । तर २०६६ को माधव सरकारको गृहमन्त्री पाउने भएपछि हतार हतार भर्याङ्ग मुनी केन्द्रीय सदस्यको सपथ लिनुभयो ।
–एमालेले तत्कालिन सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद अवरोध गरिरहेको अवस्थामा ह्विप उल्लंघन गरी एमसीसी पारित गर्ने संसद बैठक भाग लिनुभयो ।
– माधव नेपाल पार्टी विभाजन गरेपछि बृहत पार्टी एकता कायम राख्ने र अगाडि बढ्न १० बुँदे सहमति भयो, उक्त सहमतिका पक्षमा सबै नेताहरु तयार हुनुभयो तर भीम रावल कार्यान्वयनमा नलागी पार्टी हितविरुद्ध बोल्दै हिड्नुभयो,
–पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पद स्वीकार्नु भएन, केन्द्रीय सदस्य बन्नु भएन , अनि पार्टीले विधान बमोजिम दिएको सल्लाहाकार पदलाई स्वीकार पनि गर्नु भएन र पार्टी हितविरुद्ध निरन्तर बोलिरहनु भयो । स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन हिँड्नु भएन बरु असन्तुष्टि पोखिरहनु भयो जसका कारण उहाँकै नगरपालिका साँफेबगर समेत गठबन्धनबाट समाजवादीले जित्न पुग्यो अरु थुप्रै क्षति बेहोर्नु पर्यो ।
– राष्ट्रिय मुद्दाका कयौं बिषयमा पार्टी बैठकमा आफ्नो मत नराख्ने पब्लिक खपतका लागि मिडिया र सार्वजनिक स्थानमा बोल्ने र पार्टी नेतृत्वलाई दबाबमा राख्न खोज्ने अर्थात् आफू असली राष्ट्रवादी बाँकी सबै घाती देखाउने अनुशासनहीन गतिबिधि खुलेआम गरिरहनु भयो ।
–पार्टी कार्यालय भवन बनाउने पार्टीको निर्णयका बिषयमा पार्टीमा होइन पब्लिक खपतका निम्ति बाहिर बोलिरहनुभयो र सो सम्बन्धमा किन त्यसरी बोलिरहेको भनी स्पष्टीकरण माग्दा जवाफसमेत दिनु भएन ।के यसैगरी मनलाग्दी बोल्ने, पार्टी हितकाविरुद्ध गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने हो भने भोलि सयौं भीम रावल जन्माएर अराजकता हुर्काउने ? त्यसैले जो को पनि पार्टी विधि विधान र अनुशासनमा बस्नै पर्दछ अन्यथा कम्युनिष्ट पार्टी अराजकताको शिकार बन्ने र समाप्तको बाटोमा पुग्न कसैले रोक्न सक्दैन ।