पतिपत्नीलाई चाहिने कुरा
डा. गोविन्दशरण उपाध्याय ।
मैले/तपाईंले गर्नुपर्ने धेरै काम होलान् । धेरै राम्रा काम पनि गर्नुभएको होला । तपाईंलाई समाजले निकै इज्जत दिन्छ होला र तपाईंका योगदानहरूका चर्चा पनि निकै हुन्छन् होला तर यदि तपाईंको दाम्पत्य सम्बन्ध राम्रो छैन भने यो सबै उपलब्धि र योजनाहरू “टालाटुली बटुली कति राम्री पुतली“ सरह नै हुन्छ । बाहिर जतिसुकै चमकदमक देखिए पनि तपाईं आफैभित्र जलिरहनु भएको हुन्छ, रोइरहनु भएको हुन्छ, भन्नै नसकिने असाध्य पीडाहरूबाट गुज्रिरहनु भएको हुन्छ । तर यदि उपर्युक्त सबै उपलब्धि र योजनाहरूमा तपाईं दम्पत्तिको राजामंदी छ, दाम्पत्य जीवन मिलेको छ भने माथि लेखिएका सबै उपलब्धि र योजना नभए पनि संसारका सुखी परिवार र मान्छेभित्र तपाईं पर्नुहुन्छ ।
सुमधुर दाम्पत्य जीवनले मान्छेलाई पूर्ण बनाउँछ भने विग्रिएको दाम्पत्य जीवनले सुनैसुनको घरलाई पनि नर्क बनाउँछ । विश्वका सबै काम गर्नुस्, उपलब्धि प्राप्त गर्नुस् तर त्यस भन्दा पनि महत्वपूर्ण प्रयत्नचाहिं आफ्नो दाम्पत्य जीवनलाई सरल, सहज, सुमधुर र संगीतमय बनाउन प्रयत्न गर्नुस् । दाम्पत्य जीवन दुई फरकफरक व्यक्तिहरूको मिलनबाट आरम्भ हुन्छ । स्वाभाविक रूपमा कहिलेकाहीं बैचारिक र मानसिक मतभेद हुनु अचम्म कुरा होइन तर यस्तो मतभेद मनभेदमा रुपान्तरित हुनुहुँदैन । स–साना मतभेदहरूले दाम्पत्य जीवनलाई अझैं उर्जावान बनाउन सकिन्छ तर यस्ता मतभेदहरूलाई मनभेदका तहमा बुझिनु हुँदैन । गल्ती, कमजोरीहरू सबैबाट हुन्छन्, हरेक कमजोरी वा गल्तिलाई “भयानक अपराध“का रूपमा बुझ्नु हुँदैन ।
सरल र सहज दाम्पत्य जीवनका लागि लोग्ने र स्वास्नी दूवैले एकआपसमा कुरा भन्ने, सुन्ने र त्यसमा मनन गर्ने बानिको विकास गर्नुपर्छ । कुरा नभन्ने र नसुन्ने दूवैको दाम्पत्य जीवन असजिलो हुन्छ । आपसी सम्बाद गर्ने बानीले धेरै समस्याहरूको समाधान पत्तो लगाउँछ । केवल लोग्ने बोल्ने वा केवल श्रीमती बोल्ने, अर्काले सुन्ने तर प्रतिक्रिया रहित हुनुले पनि समस्याहरू बल्झिन सक्छन् । तेसैले बोल्ने र सुन्ने अभ्यास लोग्ने र स्वास्नी दूवैको पहिलो प्राथमिकता हुनुपर्छ । बोल्नेहरू भन्दा नबोल्नेहरू मानसिकरूपमा बढी चुनौतिहरू भोगिरहेका हुन्छन् । तेसैले बोलौं तर समस्या निदान गर्नका लागि बोलौं समस्या बढाउनका लागि होइन । आफ्नो मात्रै समस्या देख्ने तर अर्काको समस्यालाई ‘बाल’ नठान्ने प्रबृत्तिले दाम्पत्य जीवनलाई सुखी बनाउन सक्दैन ।
सुखी दाम्पत्य जीवनको लागि पहिलो आवश्यकता अन्न अर्थात् शारीरिक, मानसिक तथा अध्यात्मिक रूपमा सुरक्षाको प्रत्याभूति हो । त्यसका लागि पहिलो खाद्यान्नको सहज, सरल र सुगम उपलब्धि सुनिश्चित गर्नु हो । जसले खाद्यान्न (जुन जीवनको प्रमुख आधार हो) माया गर्न सक्दैन, उसले लोग्ने वा स्वास्नी वा परिवार कसैप्रति आफ्नो दायित्व पूर्ण गर्न सक्दैन । घर, लुगा र भोजनका विषयमा सधैं लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको ध्यान राख्नु पर्छ । हो, आधुनिक समयमा अन्नको (खाद्यान्न)को विविधताले यसको महत्व कम भएजस्तो लाग्छ, तर सत्य के हो भने एलन मास्कले पनि आफ्नो र परिवारका सदस्यहरूको जीवनको लागि भोजन मै निर्भर रहनुपर्छ । त्यसैले सुखी दाम्पत्यजीवन जीवनका लागि उपलब्ध भोजन लोग्ने र स्वास्नी दूवै संगै बसेर गरौँ । सधैं संगै आफ्नै भान्छामा भोजन गर्नेहरूको दाम्पत्य जीवन सरल, सहज र प्रेमपूर्ण हुन्छ । इषे अर्थात् अन्न र भोजनबाट सुन्तुष्ट रहने प्रयत्न गरौँ ।
सुखी दाम्पत्य जीवनको दोस्रो सूत्र हो उर्जा अर्थात् शारीरिक, मानसिक तथा अध्यात्मिक गतिशीलता । जब अन्नद्वारा प्राथमिक आवश्यकताहरू पूरा हुन्छन् स्वाभाविक रूपमा मान्छेको प्रवृत्ति स्वास्थ्य र गतिशील जीवनचर्यामा प्रेरित हुन्छ । यो उद्यमशीलताको प्रक्रम हो । यो प्रक्रममा पतिपत्नी दूवैको पूर्णसहमति र सहकार्य हुनुपर्छ । पत्नीले पतिको र पतिले पत्नीलाई पूर्ण सहयोग गर्नुपर्छ । सामान्यता, पश्चिमा पद्यतिको अधिकारवादी आन्दोलनले पति र पत्नीको परम्परागत सम्बन्धमा निकै क्षति पुर्याइरहेको छ । पत्नीहरूले आफूले आर्जन गरेको सम्पत्तिलाई ‘आफ्नै पेवा’ मान्ने तर लोग्नेले कमाएको सम्पत्तिमा आफ्नो अधिकार जमाउने प्रबृत्ति समाजमा हावी हुँदैछ । यसैगरी, तथाकथित धेरै कमाउने पतिहरूले आफुलाई ‘कूलीन मान्दै’ प्रारम्भिक जीवन सङ्घर्ष सधाउने पत्नीलाई अबहेलना गर्ने ‘नरपशु’ पनि प्रसस्त छन् । असलमा, शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यका लागि राम्रो मन हेर्नुपर्छ । पैसाको रवाफ होइन । पैसाले रवाफ दिन सक्छ तर माया, ममता, स्वास्थ्य मन दिन सक्दैन । त्यसैले पतिपत्नी दूवैले गतिशील जीवन जीउनका लागि एकअर्कालाई गतिशील बनाउनु पर्छ ।
अधिकारवाद राजनैतिक आन्दोलन हो । यसको उपयोगिता आफ्नै ठाउँ छ । तपाईंले आफ्नी श्रीमतीको र श्रीमानको सम्मान गर्नुस्, समान व्यबहार गर्नुस् र समय–परिवेश अनुसार गरमनरम हुन सिक्नु होस् । दाम्पत्य जीवन सरल र सहज रूपमा चल्छ । जवानी र पैसाको चलखेलमा अन्त्य भएको दाम्पत्य जीवन बृद्धावस्थाको एक्लोपनले जिउनु न मर्नु पार्छ । हो, मिल्नै नसकिनेसंग मिलेर बस्नु जरुरी छैन तर कसैको बहकाउमा परेर, जोसमा आएर, पैसाको रवाफमा (म आत्म निर्भर छु) र आफ्नो अहङ्कार शान्त पार्न पतिपत्नीका विचको पवित्र बन्धन तोड्नेहरू बाहिर चर्चामा रहे पनि भित्रभित्र पति÷पत्नीको माया, छोराछोरी र परिवारजनको स्नेह तथा आफ्नै सन्तोषको अमृतबाट बन्चित हुन्छन् । आर्थिक आत्मनिर्भरताले दाम्पत्य जीवन अझैं बलियो र सहयोगी बन्नुपर्छ । यदि आर्थिक आत्मनिर्भरता नै दाम्पत्य जीवनको अन्त्यको कारण बन्छ भने सबैभन्दा दुर्भाग्य हो । त्यसैले आर्थिक आत्मनिर्भरता, अधिकारका पूर्वाग्रहहरू, अहङ्कारका असजिला काँडाहरू चिनौं र लोग्ने स्वास्नीका लागि र स्वास्नी लोग्नेका लागि निकटतम सहयोगी बनौं । रायस्पोसाय अर्थात् एकआपसमा मिलेर धन आर्जन गरौँ र सुखी दाम्पत्य जीवनका लागि त्यसको उपयोग गरौँ ।
वैदिक संस्कृतिमा ‘दम्पति’ शब्दको अर्थ पतिपत्नीको साझा स्वामित्वको ‘सम्पति’ भन्ने हुन्छ । पतिले कमाएको सम्पतिमा पत्नीको र पत्नीले कमाएको सम्पतिमा पतिको समान अधिकार छ भन्ने हुन्छ । आजभोलि धेरैजसो पतिपत्नीका सम्बन्धहरू ‘धनसम्बन्धी’को लेनदेन र उपयोगिताका सम्वन्धमा झगडाहरू भएको देखिन्छ । कहीं पत्नी दोषी हुन्छन् त कहीं पति । नेपाली समाजमा भने धेरैजसो लोग्नेहरू दोषी हुन्छन् किनभने पत्नीकै नाममा राखिएको धनको उपयोग गर्दा पनि पत्नीकै सहमति लिंदैनन् । फलतः पश्चिमा पद्धतिका अधिकारवादीहरूले पतिपत्नीको सम्बन्धलाई घृणावादमा रुपान्तरण गर्छन् । असलमा, पति र पत्नी दूवैले आफुले कमाएको वा जम्मा गरेको सम्पत्ति उपयोग गर्दा एकआपसमा सल्लाह र सहमति लिनुनै पर्छ । यही दम्पति शब्द र दाम्पत्यको नीति हो । सहमति विना नै आर्जित सम्पति खर्च गर्दा परिवारमा किचलो हुन्छ र परिवारहरू भत्किन्छन् । नेपालमा वैदेशिक रोजगारमा रहेका पतिले आर्जन गरेको धन खर्च गर्दा पतिको सहमति नलिने प्रवृत्ति बढ्दो छ जसले दाम्पत्य जीवनमा सङ्कट नित्याईरहेको छ । यस विषयमा सचेत हुनुपर्छ । पत्नीउपर अनैतिक सम्बन्धको शङ्का गर्ने लोग्ने र पतिको विश्वासलाई तोडेर अनैतिक सम्बन्ध बनाउने पत्नी दूवैले दाम्पत्यको सुखद पक्ष सधैंका लागि गुमाउँछन् ।
विवाह र दाम्पत्यका विभिन्न महत्वपूर्ण कामहरू मध्ये सन्तान जन्माउनु, हुर्काउनु र हुर्किसकेपछि आफ्नो शीप, ज्ञान र सम्पत्ति समेत पुस्तान्तरण गर्नु हो । विज्ञानको विकासले सन्तान जन्माउने, नजन्माउने र कतिबटा जन्माउने भन्ने विषयमा दम्पत्तिलाई असीमित अधिकार प्रदान गरेको छ । सन्तान जन्माउने र हुर्काउने विषयको निर्णय गर्नेले जन्मेका सन्तानहरूको सम्पूर्ण रेखदेख, शिक्षा, स्वास्थ्यआदिमा सहकार्य गर्नुपर्छ । संसारका करिव ८% डिभोर्सहरू सन्तानहरूको हुर्काइमा असहयोगका कारणले हुन्छन् सन्तानलाई केवल पत्नीको दायित्व ठान्ने पुरुषहरू हैकमवादी हुन् । यस्तो दाम्पत्यमा मीठास हुँदैन, दाम्पत्य जीवन बोझझैं चलिरहेको हुन्छ । त्यसैले लोग्ने र स्वास्नी दूवैले सन्तानका सवालमा आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । समय परिवेशअनुसार यदि पत्नीले जागिर खान्छिन् भने पतिले केटाकेटीको हेरविचार गर्न असजिलो मान्नु हुँदैन । तर धेरैजसो नेपाली पतिहरू भोजन, घरको हेरविचार . केटाकेटी र पाहुनालाई पत्नीको दायित्व ठानेर हैकम चलाउँछन् । ‘प्रजाभ्य’ अर्थात् छोराछोरी, आफन्तप्रतिको दायित्व निर्वाहमा पति वा पत्नीलाई एक्लो छोड्नेहरूको दाम्पत्य साह्रै असजिलो हुन्छ । सन्तान पतिपत्नीका प्रेम, एकता र त्यागका प्रतिफल हुन् भने ती प्रति अपनाउने पर्ने दायित्व पनि औचित्यमा आधारित हुनैपर्छ । एकजनाका लागि बोझ बन्नु हुँदैन ।
–ऋतुको अर्थ वातावारण हो । मान्छेको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थमा वातावारण (दम्पत्ति निवास गर्ने ठाउँ, समाज, संस्कृति, राजनीति, आर्थिकस्तर र शैक्षिक अवस्थाआदि)ले गहिरो प्रभाव पारिरहेको हुन्छ । अहिले नेपाली युवायुवतिहरू रोजगारीका लागि विदेशमा हुन्छन् । मिडियाहरूले ‘फलानीको स्वास्नी अर्कासँग लागेकी छ, वैदेशिक रोजगारमा रहेका लोग्नेहरूका श्रीमती नाठो खेलाउँछन्, फलानो की श्रीमती रंगेहात भेटिए, फलानीले आफ्ना बालबालिकालाई विचल्ली पारेर पोइला गई’जस्ता अप्रिय तर युत्युवमा बिक्ने सामग्री पस्कने गर्छन् । यसले विदेशमा रहेका पति÷पत्नीको मनमा डर र शङ्का उपन्न्न गर्छ । यस्ता समाचारहरू ९९% असत्य र अतिरन्जित हुन्छन् । दुईचार बटा घटनाहरूका आधारमा सम्पूर्ण महिलाहरूप्रति आक्षेप र अविश्वासको बातावरण बनाउनु अनुचित हो । वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूले आफ्नी पत्नी वा पतिसंग निरन्तर संवादमा रहेर यस्ता ‘ऋतु’हरूको सामना गर्न सक्नुपर्छ । अर्को कुरा, सधैं संगै बस्ने दम्पतिहरूले पनि शारीरिक अवस्था, मानसिक चाहना र वाहिरी वातावारणको आधारमा एकापसमा सकारात्मक र आवश्यक व्यबहार गर्ने अभ्यास गर्नुपर्छ । उदाहरणका लागि सधैं सेक्समा अभिरुचि नहुन सक्छ । जीवन साथीको इच्छाको सम्मान नगरी शरीरलाई भोग्नु बलात्कार नै हो । ऋतुहरूको अपमान वा आफ्ना अहङ्कारको प्रदर्शन हो । पतिपत्नीले यस विषयमा विचार र सहमति बनाएर व्यबहार गर्ने हो भने दाम्पत्य जीवन सुखदायी हुन्छ । केवल आफ्नो इच्छालाई प्राथमिकता दिने पति वा पत्नीको लागि दाम्पत्य सुखद हुँदैन ।
–तपाईंसँग धन–सम्पत्ति, सामाजिक, सांस्कृतिक सम्पर्क, नाम र काम सबै छ । पतिपत्नी एकै घरमा बस्नु हुन्छ । छोराछोरी पनि ठूला भए, आफ्नो काम गरिरहेका छन् । ठूलो घर छ, गाडी छ । सेवकहरू छन् । यदि पतिपत्नीका विचमा मित्रताको सम्बन्ध छैन र साहु र ऋणीकोजस्तो व्यबहार छ भने यस्तो दाम्पत्यलाई अर्थपूर्ण भन्न सकिन्न । दाम्पत्य जीवनको मूलसार वा तत्व भनेकै पतिपत्नीका विचमा ‘सखे’ अर्थात् मित्रताको भाव र मित्रतापूर्ण व्यबहार हो । धेरैजसो नेपाली पतिहरू साहुजस्ता हुन्छन् र पत्नीलाई ऋणीजस्तो व्यबहार गर्छन् । साहु र ऋणीको सम्बन्ध भएका दम्पतिको दाम्पत्य केवल कर्मकाण्ड मात्र हुन्छ । त्यसैले हरेक पतिले आफ्नी पत्नीलाई सबैभन्दा प्यारो मित्र र श्रीमतीले श्रीमान्लाई सबैभन्दा निकटतम मित्रका रूपमा स्वीकार गर्नुपर्छ । मित्रताको अर्थ हो – एकअर्काको शारीरिक, मानसिक र आध्यात्मिकतहमा सहयोगीपन । पतिपत्नीका बीचमा साहु र ऋणीको सम्बन्धले परिवारलाई ‘व्यापारी’झैं बनाउँछ । छोराछोरीहरू पनि आमावुवासंग व्यापारीकै स्तरको सम्बन्ध राख्छन् । वैदिक संस्कृतिले पतिपत्नीलाई ‘पार्टनर’का रूपमा बुझ्दैन अपितु असल मित्र तथा सहयोगीका रूपमा बुझ्छ । आधुनिकताको सबैभन्दा खराब पक्ष नै दम्पतिको दाम्पत्य सम्बन्धलाई ‘पार्टनरसीप’का रुपमा लिनु र बुझ्नु हो । व्यापारिक पार्टनरले साझा कम्पनीबाट आफ्नो शेयर लिएर अलग भएझैं दाम्पत्य जीवन हुँदैन । जसले दाम्पत्यलाई पार्टनरसीप ठान्छन्, तिनको दाम्पत्य दिगो हुँदैन । त्यसैले पतिले पत्नीलाई र पत्नीले पतिलाई ‘ब्युजिनेश पार्टनर’को रुपमा होइन जीवनसाथीका रूपमा स्वीकार गर्नुपर्छ ।
अन्त्यमा, पति र पत्नी दूवै फरक परिवेश तथा सिकाईबाट एक ठाउँमा आएको हुँदा यदाकदा समायोजनमा (Adjustment) केही समस्या देखिन सक्छ । तर एकले अर्काको भौतिक सुरक्षा, आवश्यकता, सहकार्य, परिवारसंगको कर्तव्यपालन, समय–परिवेशअनुसार एकआपसी व्यबहार, मित्रतापूर्ण र विवेकपूर्ण व्यबहारले सबै खाले समस्याहरूको समाधान गर्न सकिन्छ । दाम्पत्य जीवन जीवनको सबैभन्दा यथार्थ अवस्था हो । असली दाम्पत्य जीवनका सवालमा सबैका कुरा सुनौं तर विवेकपूर्ण निर्णय गरेर, एकले अर्कालाई विश्वास गरेर, एकले अर्काप्रति कर्तव्य निर्वाह गरेर, एकअर्काप्रति समर्पित भएर, एकले अर्कालाई मित्र, सहयोगी तथा विश्वासपात्रका रूपमा स्वीकार गरेर दाम्पत्य जीवनलाई सहज र सुखद बनाउने बाटो रोज्नुपर्छ । दाम्पत्य जीवनबाट छुट्टिनुको पीडा र पीडक पति वा पत्नीसित दाम्पत्य बिताउँदा भोग्नु पर्ने नारकीय पीडा भोग्नेलाई थाहा हुन्छ । हाम्रो दाम्पत्य सरल, सहज र मित्रतापूर्ण हुनुको अर्थ हो – हाम्रो खुसी, पूर्णता र आनन्द हामीसंगै छ । आफ्नो परिवार, समाज र राष्ट्र हामीसंगै छ । स्वर्ग हामी सँगै छ ।