गर्वका साथ सय जनाको टोली लिएर जाने, अनि माग्ने ?
नारायण गाउँले ।
देशमा ७५३ वटा त स्थानीय तह र ६७४३ वडा रहेछन् । तीमध्ये यो उपनिर्वाचनमा जम्मा ४१ वटा ठाउँमा चुनाव भएको हो । युरोपतिर स्थानीय वडा र केही पत्रपत्रिकामा सामान्य खबरबाहेक अन्यत्र यस्तो उपनिर्वाचनबारे थाहा नै हुँदैन । विज्ञानप्रविधिदेखि अर्थतन्त्र, खेलकुद, कला र अन्तर्राष्ट्रिय राजनीतिले पत्रिका भरिन्छन् ।
हामीसँग भुल्ने, बहस गर्ने या बौद्धिकता प्रयोग गर्ने राजनीतिबाहेक अर्को क्षेत्र छैन । हामीलाई छन् को विकल्प खोजेर विश्वलाई दिन पर्ने पनि छैन, एआईलाई राष्ट्रिय सुरक्षा र उत्पादनमा कसरी प्रयोग गर्ने भन्ने बहस गर्न पनि छैन । न क्यान्सरदेखि कलेजोका प्राणघातक रोगबारे चिकित्साक्षेत्रमा गम्भीर शोध गरेर विश्व मानव सभ्यतालाई केही योगदान गर्नुछ । न मिर्गौलादेखि मुटुसम्म कृत्रिम अङ्ग बनाउन सकिए लाखौंको ज्यान बचाउन सकिन्छ कि भन्ने चिन्ता छ । न खतरनाक स्तरमा बालबालिकामा बढ्दो अटिज्म या युवाको मानसिक स्वास्थ्यबारे मगज खियाउनु छ । न हामीलाई कम्प्युटिंग चिप्स बनाउनु छ, न स्याटेलाइट । न वैकल्पिक ऊर्जाबारे अध्ययनमा समय खर्चिनु छ न कृषिको आधुनिकीकरणमा दिमाग घुमाउनु छ । न नेपालको भूगोल सुहाउँदो लाइट रेलवेबारे आफैं अनुसन्धान गर्नु छ, न दिनहुँ दर्जन नागरिकले ज्यान गुमाउने सडक सुरक्षाबारे हाइब्रिड प्रविधिमा टाउको दुखाउनु छ । विश्वकै खतरनाक प्रदूषण अनि खाद्यसुरक्षा अथवा दुई आणविक छिमेकीबीच हुनुको जटिलता पनि हाम्रो चासो होइन । देशको बजेटघाटा बढ्दो छ, ऋण थपिएको थपियै छ, पहिले नै ढाड सेकिएको नागरिकमाथि थप ट्याक्स बढाउन पनि सकिन्न, भन्नेबित्तिकै उत्पादन बढ्दैन, पूँजी पनि छैन; यस्तोमा के गर्ने भन्ने हुटहुटी पनि हामीलाई छैन ।
एन्टीबायोटिक्सको रेसिस्टेन्स द्रुतरूपले बढ़ेकाले र नयाँ आविष्कार नभएकाले सिङ्गो विश्व भयङ्कर स्वास्थ्यजोखिमतिर बढ्दै छ भन्ने चिन्ता हामीले किन गर्न पर्यो र ? कुनै देशले ती गर्दै होलान् । बीसौँ वर्षको मिहिनेत, लगानी र कैयौं असफलतापछि ती सफल पनि होलान् । भएको दिन अनुदान माग्ने र प्रयोग गर्ने गरे भइहाल्यो ! गर्वका साथ सय जनाको टोली लिएर जाने अनि माग्ने !
हामीलाई फुर्सतै फुर्सत छ ! पन्ध्र दिन यताको पत्रिका हेर्नुस्, एक देखि दश नम्बरसम्मको समाचार वडाध्यक्षमा फल्नो गुल्टियो र फल्नोले इतिहास रच्यो भन्ने छ ! हिजो फल्नो उठ्यो, फल्नो बस्यो भन्ने थियो । भाषण सुन्नुस्, सिङ्गो देशको कायापलट हुने, नयाँ युग आउने खालको छ । फूलमाला लाएर, सयौंको हूल र बाजागाजा लिएर एउटा वडाध्यक्षको मनोनयन गर्न पुगेका छन् मान्छे । अझ रोचक त दुई सय जति भोट ल्याएर वडाध्यक्ष जितेका कालिकोटका एक नेताले अब देशका जनताले पूँजीवाद नचाहेको भाषण गरिहालेछन् !
सांसद, मन्त्री, प्रधानमन्त्री, पार्टी, बौद्धिकदेखि हामीजस्ता फेसबुकेसम्म सबैलाई चुनाव नै देशको मुख्य एजेन्डा जस्तो छ ! नहोस् पनि किन, अरू त मैले लेख्न नि जान्न पर्यो र तपाईंले पढ्न पनि जान्न पर्यो ! चुनाव जस्तो सजिलो कहाँ हुन्छ र !