सुखी दाम्पत्यका सातसूत्र



डा. गोविन्दशरण उपाध्याय ।
वैदिक पात्रो अनुसार विवाहका लागि मुहूर्त अर्थात् विवाह गर्न योग्य तिथिमिति हुनैपर्छ । विवाह गरेपछि मात्र स्त्री र पुरुषलाई दाम्पत्यमा प्रवेश गर्ने, पूर्ण नागरिकको अधिकार मिल्ने र यौनक्रिया गरेर सन्तान उत्पादन गरेर ऋषि, पितृ र देवऋण तिर्ने अधिकार प्राप्त हुन्छ । यो वैदिकहरूको विश्वास हो र यही विश्वासले गर्दा विश्वका अन्य मानव–समाजको भन्दा पतिपत्नीका विचको सम्बन्ध बलियो छ । सम्पूर्ण हिन्दू समाजमा पारपाचुकेको दर १% भन्दा कमनै छ ।

वैदिक दाम्पत्य जीवन यतिविध्न दिगो (Sustainable) हुनुमा विवाह सिद्धान्त र त्यसमा उपयोग हुने विभिन्न क्रियाकलाप तथा सप्तपदी सहित प्रतिज्ञानै प्रमुख रहेको छ । दाहरणका लागि जव विवाह गरिन्छ त्यस बखत पतिले पत्नीसंग प्रस्ट रुपमा “मा सब्य्येन दक्षिणमति क्रमात् अर्थात् ‘हामी दूवैले विवाहपछि दाम्पत्यजीवन जीवनमा रहंदा कुनै पनि अवस्थामा सकारात्मक जीवनशैलीको उलंघन गर्ने छैनौं’ भन्ने गर्छन् । दक्षिणपथ के हो – यसको समुचित उत्तर सात पटक अग्नि प्ररिक्रमा गर्दै पतिपत्नीले एकआपसमा गर्ने प्रतिज्ञाहरू र सात पहाड र सातवार रुपी चामल, धानका ससाना थुप्राहरूलाई पतिपत्नी दूवैले चरण स्पर्श गर्दै बोलेका बाक्य (सप्तपदी)मा निहित छ ।

स्थानीय चलनअनुसार सप्तपदीक्रियामा केही फरकपना हुन्छन् तर मन्त्र र भावमा कुनै फरकपना हुँदैन । पतिले आफ्नी पत्नीका चरणको बूढी औलों समातेर पहिलो पहाड (चामलको सानो थुप्रो)लाई स्पर्श गराउंदै ‘इषे एकपदी भव’ अर्थात् हामी दूवै मिलेर हाम्रो गृहस्थका लागि चाहिने आवश्यक अन्न, धनआदि आर्जित गर्ने छौँ र पत्नीका रूपमा सम्पूर्ण धनसम्पत्तिको रक्षा गर्ने अधिकार तिमीलाई हुने छ’ भन्ने कुरा पतिले बोल्छ, पत्नीले पतिलाई समेत त्यसको अधिकार हुने भन्ने बचनबद्धता व्यक्त गर्छिन् । यो क्रियामा पहिले पतिले पत्नीको चरणले अन्नरूप जीवन पहाडलाई स्पर्श गराउँछ भने पछि पतिले पनि स्पर्श गरेर “अन्नमय“ प्राण रक्षाका लागि आफ्नो पनि सहभागिता सुनिश्चित भएको बचन दिन्छ ।

यहाँ पाठकहरूले बुझ्नु पर्ने विषय के हो भने मान्छेको जीवनका लागि अनिवार्य अन्न नै हुन्छ । अन्नको अभावमा मान्छेको जीवन चल्दैन । आधुनिक मनोबैज्ञानिक मास्लोले जीवनको पहिलो आवश्यकता पर्याप्त भोजन, सुरक्षा तथा निवास भएको बताएर सप्तपदीको पहिलो प्रतिज्ञाको आवश्यता अझै घनिभूत भएको प्रमाणित गरेका छन् भने उपनिषद्हरूले यसैलाई अन्नमयकोशको रूपमा स्थापित गरेको छ । पतिपत्नीको पहिलो प्राथमिकता अन्नप्रति हुनु निकै महत्वपूर्ण प्रतिज्ञा ठहरिन्छ ।

दोश्रो प्रतिज्ञा ऊर्जे द्विपदी भव अर्थात् हाम्रो दोश्रो पहिला ऊर्जा अर्थात् शक्ति तथा स्वास्थ्यका लागि होस् । हे पत्नी, तिम्रो दोश्रो कदमले हामी दुवै मिलेर शक्ति र स्वास्थ्य सुचिश्चित गरौंला । यो पूर्वप्रतिज्ञाकै निरन्तरता हो । जव मान्छे वासगाँस र कपासका विषयमा सुनिश्चित हुन्छ, स्वाभाविक रुपमा उसले आफ्नो, आफ्ना परिवार, समाज र राष्ट्रको शक्ति तथा स्वास्थ्यका विषयहरूमा ध्यान दिन सक्छ । आफ्नो निजी स्वास्थ्य होस् वा परिवारका अन्य सदस्यहरूको पतिपत्नीले एकआपसमा ख्याल गर्नुपर्छ । दूवै मिलेर शक्ति आर्जन गर्नेतिर ध्यान दिनुपर्छ भने अर्कोतिर शक्ति आर्जन गर्दैगर्दा आफ्नो शारीरिक, मानसिक तथा अध्यात्मिक स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । शारीरिक स्वास्थ्यले मानसिक तथा अध्यात्मिक दूवैलाई प्रभावित पार्छ ।त्यसैले  पहिलो प्रतिज्ञामा टेकेर आहार, विहार र निद्रा सुनिश्चित गर्ने कर्तव्य पतिपत्नीको हुन्छ नै ।

तेस्रो प्रतिज्ञामा पतिपत्नी दूवैले ‘रायस्पोषाया त्रिपदी भव’ भन्दै प्रतिज्ञा गर्छन् । यहाँ वैदिक सनातन धर्मको पहिलो उदेश्य “धर्म“ पालनतिर दूवैले एकआपसमा बचनबद्धता व्यक्त गर्छन् । पतिले पत्नीका खुट्टाको बूढीऔला समातेर चामलको पहाड स्पर्श गराउंदै ‘हे पत्नी ! हामी दूवै मिलेर शुद्ध साधन वा विधि वा साधन प्रयोग गरेर धन कमाउंला’ भन्छ ।

चार पुरुषार्थ मध्ये धर्म पहिलो र दोस्रो धन हो । वैदिक संस्कृतिमा धनआर्जन गर्ने कर्मलाई पुरुषार्थ मंसिएको छ । यहाँ बुझ्नु पर्ने तत्थ्य के हो भने पतिपत्नी दूवै स्वतन्त्र वा आपसमा समन्वय गरेर नैतिकतापूर्वक धन आर्जन गर्न स्वतन्त्र छन् । असलमा, यो पतिपत्नीमा भएको सीप र त्यसको सदाचारी उपयोग गर्ने प्रतिज्ञा हो ।

सप्तपदीको चौथो प्रतिज्ञा ‘मयोभवाय चतुः पदी भव’ कमाएको धनको सदुपयोगसंग सम्बन्धित छ । पतिपत्नीको सहकार्यले (राम्रो मिल्ती) धनार्जन सुनिश्चित हुन्छ । पतिपत्नी दूवैको विचार मिलेन भने धन–सम्पत्तिले मानसिक वा आध्यात्मिक सुख प्रदान गर्न सक्दैन । व्यक्तिगत सुखका लागि होस् वा सामाजिक वा धार्मिक प्रयोजनका लागि पतिपत्नी दूवै मिलेर खर्च गर्ने सहमति हुनुपर्छ । दान, पुण्य वा अन्य कार्यमा दूवैको आपसी समझदारी आवश्यक हुन्छ । पतिले पत्नीसंग भन्छ ‘हे पत्नी, मैले तिम्रो सहमति लिएर मात्र व्यक्तिगत तथा सामाजिक कार्यका लागि धन खर्च गर्ने छु । हामीले आर्जित गरेको धनका सवालमा आपसी सहमतिको सबैभन्दा बढी महत्व हुने छ ।’ हामीले अनुभव गरेकै तत्थ्य हो कि धन खर्च गर्ने विषयमा विवाद हुँदा पतिपत्नीका विचमा सम्बन्ध विग्रन्छ । वैदिक परम्पराअनुसार पत्नीनै गृहस्वमिनी र गृहलक्ष्मी हुन्छिन् । आर्जित धन खर्च गर्नु पर्दा पत्नीले पतिको र पतिले पत्नीको स्वीकृति लिनु पर्छ ।

‘प्रजाभ्यः पञ्चपदी भव’ – यो पाँचौं प्रतिज्ञा हो । पतिले पत्नीका चरण उठाएर अन्नकूटको स्पर्श गराउंदै तिमी पुत्रपुत्रीयुक्त हौँ’ भन्दै सृष्टिको कार्य अगाडी बढाउने जिम्मा पत्नीसंगै सम्पादन गर्ने प्रतिज्ञा गर्छ । विश्वका सबैजसो संस्कृतिमा छोराछोरी जन्माउने कामलाई बडो महत्वपूर्ण ठानिन्छ । ऋषि, देव तथा पितृऋण तिर्न वैदिक संस्कृतिका अनुसार सन्तान जन्माउनु अनिवार्य हुन्छ । सन्तान प्राप्त गर्नु धर्मकै एउटा प्रमुख अंग हो । यहाँ क्रमिक रुपले अन्न, बल, नैतिकता, धन र धन कमाएपछि बालबालिका जन्माउने प्रतिज्ञा गरिएको छ । यदि अन्नको अभावमा, असल स्वास्थ्यको अभावमा, शुद्ध सीपका अभावमा, र धनका अभावमा बालबालिकाको उचित देखरेख, शिक्षादीक्षा तथा कर्तव्यको पुस्तान्तरण हुन सक्दैन । पहिला चारवटा शर्त (Conditions) हरू पूर्ण गरेका दम्पति प्रजाप्राप्तिका लागि योग्य हुन्छन् । यहाँ ‘प्रजा’ शब्दको प्रयोगले छोराछोरीमा विभेद गर्दैन र हरेक बालबालिकाहरू प्रथमतः राष्ट्रका नागरिक हुन्छन् भन्ने भावनाले ओतप्रोत भएको बुझ्न सकिन्छ ।

यस्तै गरी विवाह संस्कारका बखतमा सप्तपदीको छैठौं प्रतिज्ञा ‘ऋतुभ्य षड्यपदी भव’ हो । यहाँ बालबालिका जन्माउनु र हुर्काउने क्रियामा सबैभन्दा महत्वपूर्ण सहयोगी तत्व प्रकृति हुन्छ भन्ने तत्थ्यलाई सम्मान गर्दै ‘हामी ऋतुअनुसारको आहार–व्यवहार, खानपीन, वेशभूषा, रहनसहन तथा आवश्यकताअनुसार गर्ने छौँ’ भनेर प्रतिज्ञा गरिएको छ । अंग्रेजीमा यसलाई ‘Conditional Adjustment’ भनिन्छ । विवाहपछि विवाहित जीवनमा दूवैले केही त्याग गर्नुपर्छ र केही नयाँ अपनाउनु पर्छ । छोड्न र अपनाउन नसक्नेको गृहस्थी सजिलो हुँदैन । यहाँ पति–पत्नी दूवै समय, परिवेशअनुसार आफुलाई परिवर्तित गर्ने प्रतिज्ञा गर्छन् । विश्वका धेरैजसो विवाह Adjust हुन नसक्दा टुट्ने गर्छन् । एकअर्काको दोष देख्ने, एउटाले अर्कोलाई सम्मान नगर्ने वा सधैं सम्मान र सुविधाको मांग गर्ने तर आफ्नो कर्तव्य पालन गर्न अरुचि राख्ने तथा आवश्यकता भन्दा बढी महत्वकांक्षीहरूको दाम्पत्य जीवन सजिलो हुँदैन । यस प्रतिज्ञामा पति र पत्नी दूवै आवश्यकताअनुसार एकआपसमा एडजस्ट हुने प्रतिज्ञा गर्छन् । दाम्पत्य जीवन, सन्तान र परिवारका लागि यो सबैभन्दा महत्वपूर्ण क्रियाकलाप हो जुन् पतिपत्नी दूवैले इमान्दारीले अबलम्बन गरेको खण्डमा दाम्पत्यजीवन सुखी र खुसी हुन्छ ।

जीवनमा मित्रता भन्दा मीठो सम्बन्ध अर्को हुँदैन । मित्रताले मान्छेलाई एक्लोपनबाट जोगाउँछ । वैदिक संस्कृतिमा पतिपत्नी केवल संस्कृतिक तथा धार्मिक बन्धनका कारण पतिपत्नी हुँदैनन् अपितु एकआपसमा सबैभन्दा घनिष्ट साथी पनि हुन्छन् । सातौं तथा अन्तिम प्रतिज्ञामा पतिले पत्नीलाई ‘हाम्रो सातौं पाइला मित्रताका लागि समर्पित छ’ भन्ने प्रतिज्ञा गर्छ र पत्नीले पनि हुन्छ भनेर स्वीकृति दिन्छिन् । प्रतिज्ञामा ‘सखे’ शब्दको प्रयोग गरिएको छ । सखा,सखी शब्द संस्कृत भाषाको मित्रतालाई व्यक्त गर्ने सबैभन्दा परिपक्व र मीठो शब्द हो । अझै बुझ्ने शब्दमा यो पतिपत्नीका विचको सबैभन्दा निकटतम सहृदयी सम्बन्ध व्यक्त गर्ने शब्द हो । मित्र धेरै हुन सक्छन् र मित्रताका लक्ष पनि धेरै हुन सक्छन् तर पतिपत्नीका विचको ‘सखा’ अनेकौं मित्रभन्दा धेरै निकटतम सम्बन्ध व्यक्त गर्ने शब्द हो । यो शब्दको गहनता बुझ्न अघिल्ला छबटा प्रतिज्ञाहरूसंग अवगत हुनुपर्छ । अन्न, बल, शीप, नैतिकता कमाएको धन, खर्च गर्ने सहमति, सन्तान र सन्तानहरूको पालनपोषण, प्रकृतिसंगको निकटतम सम्बन्धको चरमप्राप्ति केवल शारीरिक, मानसिक तथा अध्यात्मिक ‘सखा–सखी’ भावबाट मात्र सम्भव हुन्छ । त्यसैले पत्नीले पतिप्रति सखाभाव र पतिले पत्नीप्रति सखाभाव (deepest friendship–hood) राख्नैपर्छ ।

सखाभावको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसमा दूवैसंग एकआपसमा लुकाउनु पर्ने केही हुँदैन । एकले अर्काको अधिकतम सम्मान गर्छ र आफ्नो सबैभन्दा निकटतम सहयोगीका रूपमा स्वीकार गर्छ । अन्न नभएको अवस्थामा, रोग लागेर शक्तिहीन भएको अवस्थामा, भाग्यले साथ नदिएर कुनै पनि उद्योग–प्रयास सार्थंक नभएको अवस्थामा, धन–सम्पति नष्ट भएर चरम विपन्नताको अवस्थामा, छोराछोरीले हेला गरेको अवस्थामा पतिपत्नी विचको सखाभावले एकअर्कालाई जोगाउँछ । वैदिक संस्कृतिअनुसार विवाह गरेका दम्पतिहरू बीच १% भन्दा कम डिभोर्स हुनुको प्रमुख कारणनै यही सखाभाव हो जहाँ एकले अर्कोका लागि अधिकतम त्याग गरिरहेका हुन्छन् । धनसम्पतिले सबै थोक प्राप्त गर्न सकिएला तर सखाभाव प्राप्त हुँदैन । सायद, यही सखाभावको अभाव भएकोले होला अन्य संस्कृतिमा विवाह स्थायी हुँदैनन् ।

अन्त्यमा, विवाहित दाम्पत्य जीवनका लागि सबैभन्दा कमसल अवस्था ‘डिभोर्स’ नै हो । सभ्यता र संस्कृति जहाँसुकैको होस्, कुनै पनि पतिपत्नी डिभोर्सको पीडा भोग्न चाहन्नन् । पारपाचुके संस्कृतिको अंग बनेका देशका पतिपत्नी पनि डिभोर्सजन्य मानसिक पीडा भुल्न सक्दैनन् । यस्तो अवस्थामा, डिभोर्सबाट जोगिन र जोगाउन प्रत्येक विवाहित दम्पत्तिले उपरोक्त प्रतिज्ञाहरू वारे जानकारी राख्नुपर्छ । उपरोक्त प्रतिज्ञाहरू ‘हिन्दू–दम्पतिका लागि मात्र उपयोगी हुन्छन् अन्यका लागि हुँदैनन् ‘जस्तो साँघुरो चिन्तनको कुनै अर्थ छैन । दाम्पत्यमा आइपर्ने समस्या धर्म, संस्कृति, परम्परा वा रूपरङ्ग हेर्दैन । त्यहाँ समाधानको आवश्यकता पर्छ । सम्भवतः विवाहित दम्पतिले वैदिक संस्कृतिमा पतिपत्नीले एकआपसमा गर्ने उपरोक्त सात प्रतिज्ञाहरू पढ्ने, मनन गर्ने र मिल्दासम्म व्यवहारको अंग बनाउने हो भने दाम्पत्य जीवन सुखी र खुसी हुन्छ । नेपाली समाजमा बढ्दो ‘पारपाचुके’ र त्यसले निम्त्याउने पारिवारिक विघटन रोक्न समेत यसले मद्दत गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

प्रगति ढकाल, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका

गैँडाको आक्रमणबाट भरतपुरमा एकजनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको

चिसो बढेपछि नेपालगञ्जका विद्यालयमा तीन दिन बिदा

खजुरा । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको

२०८२ भदौमा विधान अधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने भएको छ । मंगलबार