अबको २० वर्षपछि…
डा. गोविन्दशरण उपाध्याय ।
अबको २० वर्षपछि तिहारमा टीको लगाउँदा जेठो, माइलो, काइलो, साइँलो, ठूलो कान्छो, सानो कान्छो, कान्छो तथा जेठी, माइली, काइली, साइँली, ठूली कान्छी, कान्छी तथा काका, काकी, सानीआमा, सानावा, मामा, माइजु, ठूलावा, जेठावाजस्ता सम्बोधनहरू रहने छैनन् । केही नाताहरू सन्तान कम जन्माउने चलनले लोप हुने छन् भने नाताका सम्बोधनहरू अंग्रेजीको अंकल र आन्टी शब्दले सधैंका लागि निल्ने सम्भावना छ ।
दिदीबहिनीबाट टीका ग्रहण गर्ने चलन पनि इतिहासको विषय हुन सक्छ । दिदीबहिनी र दाजुभाइको प्राकृतिक सम्बन्धमा आधारित चाडवाडसंग घृणा गर्ने नवीन धार्मिक समुदायहरूको बर्चश्व र आफ्नो सांस्कृतिक पहिचानप्रति चरम घृणा गर्ने तथाकथित ‘मोडर्न–माइन्ड’हरूको पाठ्यपुस्तकका माध्यमबाट रोप्ने उपक्रम चलिरहेको छ । आफ्नो परिचय मेटिंदा गौरव गर्ने शैक्षिक इन्जेक्सन भनौं वा इन्फेक्सन भनौं भाइरल भैरहेका छन् ।
तर अर्को पक्ष पनि छ । सामाजिक संजालले गर्दा पर्वहरू वैश्विक बनेका छन् । युवापुस्ताका लागि हरेक पर्वहरू ‘रोमान्टिक–इभेन्ट’का रूपमा विकसित भएका छन् । विदेशवादी र एकलकाटे राजनैतिक तथा धार्मिक समुदायका लागि सामाजिक संजालको यस्तो सक्रियता निकै पीडादायक देखिएको छ । हालै, एकजना अगुवाले भिडियो नै बनाएर आफ्ना समुदायहरूलाई ‘तिहारको छल’बाट जोगिन गुहार माँगेका छन् ।
अतिक्रमण दूवैतिर छ । मेरीटप्सहरू शिक्षित दम्पतिहरूले केटी–भ्रूण हत्या गर्ने केन्द्रमा रुपान्तरित भएका छन् । ईश्वरको डर नभएपछि कानुनको डर किन मान्थे ! विवाहयोग्य पुरुषहरूका लागि गाउँगाउँमा केटीको अभाव भैसकेको छ । वीस वर्षपछि नेपाल पनि चीन र भारतको हरियाणा राज्य बन्ने छ, वर्तमान नास्तिक तर शिक्षित दम्पतिहरूले अबोर्सन गरेर केटी फालेको कुपरिणाम यिनकै सन्तानले भोग्ने छन् अर्थात् केटा हुने छन्–केटी पाइने छैनन् । सम्भवतः गाउँमा एउटा केटीमात्र भाइटीका लगाइदिन उपलब्ध रहने छन् ।
समाज र संस्कृति दूवै गतिशील हुन्छन् तर परिचयहरू स्थायी हुन्छन् । सरकार र गाउँहरूले आफ्नो अस्तित्व गुमाउंदै छन् । पहाडी गाउँहरूमा घरघर बाटो, बत्ति र अन्य आधुनिक विकासका ‘आधारभूत परिसूचक’ ठानिएका स्वास्थ्य केन्द्रआदि निर्मित हुँदैछन् । झट्ट हेर्दा र सुन्दा असल देखिए पनि पहाडी गाउँहरू पलायन गरिरहेका छन् । गाउँमा वृद्ध र विद्यालय, पालिका, स्वास्थ्य चौकी आदिमा जागिर खाने कर्मचारी बाहेकको हलचल देखिन्न । बाटाहरू चिल्ला छन् तर खेतवारीका गराहरू बाँझा छन् । वीसवर्षपछि गाउँमा मानवरहित बस्ति हुने छन्, मानवरहित बटाघाटा हुने छन् र भावनारहित सरकारी कर्मचारीहरूको बाध्यतामय उपस्थिति रहने छ । गाउँहरू ‘एकाधसमयका गाउँहरू’ मा परिणत हुनेछन् । घट्दो प्रजननदर, मृत्युतिर लम्किरहेको अहिलेको प्रौढ पुस्ता र विदेशको मोहसँग जडिएको बर्तमान युवापुस्ताको शहर मोह यी सबै तत्थ्यहरूले काम गर्ने छन् ।
बैज्ञानिक विकासका दृष्टिकोणले आगामी वीसवर्ष निकै महत्वपूर्ण हुने छन् । तर नेपाली समाज भने विज्ञानसँग आफ्नो परिचय गुमाउंदै छ । परिचय गुमाउनुको मुख्य कारण विज्ञान होइन अपितु बैज्ञानिक संसाधनहरूलाई मोडर्न ठानेर आफ्नो मौलिक परिचयसंग त्यसलाई साट्नु हो । विज्ञानले कुनै पनि मान्छेलाई आफ्नो परिचय गुमाउनु पर्ने बाध्यता सृजित गर्दैन । मान्छेहरू आफ्नो महत्वकांक्षी चिन्तनका कारण परिचय गुमाउँछन् । विज्ञानको विकासले विश्वका हरेक मानव–सभ्यताहरू नजिकिएका छन् । आदानप्रदान भएका छन् । यो पहिलेको तुलनामा द्रूतगतिले कार्यन्वयनमा आएका छन् । डोजर–संस्कृति, सिमेन्ट संस्कृति, सहरिया संस्कृति, रक्सी–संस्कृति, विवाह–इतर सम्बन्धका संस्कृति, एकलकाटे संस्कृति, एकलपरिवारको संस्कृति, व्यक्तिवादी संस्कृति र प्रकृतिमाथि विजय प्राप्त गर्नुपर्छ भन्ने संस्कृतिहरू नेपालका रैथाने होइन । तर पनि नेपाली समाजमा गहिरोसंग जरा गाडिरहेका छन् ।
महँगो मोटरले, आधुनिक घरले, विकसित मेडिकल सुविधाहरूले, राम्रा र गुणस्तरीय बाटाघाटाहरूले, थपिएका विश्व विद्यालयहरूले र शिक्षित जनशक्तिले “मोडर्न“समाज र संरचनाको प्रतिनिधित्व गर्छन् । यी कुनै पनि मोडर्न–अवस्थाले नेपालीहरूलाई आफ्नो मौलिक संस्कृति तथा परिचय त्याग्न वा छोड्न प्रेरित गर्दैनन् । राजमहलबाट सन्यास ग्रहण गरेका बुद्ध, राजाबाट सन्यासी बनेका महायोगी भरत, हलो जोत्ने राजा जनकले आफ्नो परिचय त्यागेका थिएनन् । नेपालीहरूको हकमा भने आधुनिकताको भ्रममा आफ्नो सांस्कृतिक, धार्मिक, राजनैतिक एवं सामाजिक मौलिक परिचय गुमाउँदा गौरव गर्ने पुस्ताहरूको सम्मान हुँदै छ ? यो कुरा बुझ्नै नसकिने र आत्मघाती छ । गाउँगाउँमा सडकहरू पुग्दा पहाडी गाउँहरू किन रित्तो हुँदैछन् ? नेपाली समाज शिक्षित हुँदैगर्दा केटी–भ्रुणको हत्या गर्ने मानसिक शक्तिको श्रोत के हो ? आधुनिक राजनीतिले उत्तर खोज्नु पर्ने छ । तथाकथित अधिकारवादीहरूले अन्धविश्वासी भनिएको विगतको समाजमा ‘कन्याको भ्रुण हत्या हुदैनथ्यो’ तर आजको सभ्य समाजमा किन हुँदैछ ? प्रत्यक्ष उत्तर दिने प्रयत्न गर्नुपर्छ । केटी भ्रुणहत्याको जिम्मेदारी आधुनिकताले स्वीकार गर्नुको विकल्प छैन ।
मैले को सँग गुनासो गरूँ ? बडो असजिलो छ । धेरैले राजनैतिक नेतासँग गुनासो गर्छन् । केहीले राजनैतिक झोलेहरूलाई दोष दिन्छन् र केहीले पश्चिमाहरूलाई दोष दिएर आफू चोखो रहने प्रयत्न गर्छन् । अहिलेको समयमा हरेक मान्छे बैज्ञानिक साधनहरू प्रयोग गर्न बाध्य छ । यसले जीवनलाई सहज बनाएको छ तर यसले हरेक मान्छेलाई महत्वाकांक्षी पनि बनाएको छ । अधिकतम सुखको प्राप्ति नै मान्छेको एकल लक्षमा रुपान्तरित भएको छ । नेपाली समाज पनि उपभोक्तावादबाट मुक्त छैन । साधन र साध्यका बीचको खाडल धेरै गहिरो छ । गाउँहरू सुन्दर अवश्य छन् तर परिश्रम गर्दा पनि विहानवेलुकी पेट भर्न सकिने ग्यारेन्टी छैन । सडकले खान दिंदैनन्, बत्ति र इन्टरनेटले दैनिक आवश्यकता पूर्ण गर्न सक्दैनन् । सरकारले नीति नै बनाएर जनतालाई विदेशीको सेवा गर्न प्रेरित गरिरहेको छ । सायद, मैले आफुसंग पनि गुनासो गर्नुपर्छ तँ आफ्नो साधन भन्दा बढी महत्वाकांक्षी छस् !