सिद्धान्तको कसिमा ‘स्थितिगत्यात्मक प्रगतिवाद’
डा. गोविन्दशरण उपाध्याय ।
सिद्धान्त निर्माण कसरी हुन्छ ? यो प्रश्नको उत्तर सजिलो छैन । केही विद्वानहरूले अनुसन्धान प्रारूप (Model) नै सिद्धान्त हो भन्ने मान्यता राख्छन् भने केही अन्य विद्वानहरूले प्रभावकारिता, स्वीकार्यता तथा परिणामका आधारमा सिद्धान्तको सिद्धान्त मापन हुने तर्क राख्छन् । असल जीवनमा भने कहिलेकाहीं कठोर परिश्रम गर्दा पनि सिद्धान्तको रूपरेखा तयार हुँदैन भने कहिलेकाहीं आकस्मिक रूपमा आएका विचारहरू व्यवस्थित हुँदा विश्वविख्यात सिद्धान्तको निर्माण हुन्छन् । प्राचीन भारतवर्षमा सिद्धान्त निर्माणमा थुप्रै काम भएका छन् । पछिल्लो समय पश्चिमाहरूले सिद्धान्त निर्माणमा सफलता प्राप्त गरेका छन् र भारतवर्षीय विद्वानहरूमा पनि यस प्रति तीब्र अभिरुचि जागेको छ । स्थितिगत्यात्मक प्रगतिवाद यसको एउटा बलियो उदाहरण हो ।
प्राचीन ग्रीकेली दार्शनिक जगतमा हेराक्लाइटस् र पर्मानाइडिज यी दुई व्यक्तिहरूले क्रमशः गति (परिणामवाद) र स्थिति (अपरिणामवाद)को प्रतिपादन गरेका छन् । हेराक्लाइटसका लागि सत्य परिवर्तनशील, क्षणिक, अस्थायी गतिशील छ भने पर्मानाइडिजका लागि परमतत्व अनन्त, नित्य र अपरिवर्तनशील छ । पर्मानाइडीजका शिष्य जेनोले पनि अनन्त, नित्य र अपरिवर्तनीय सत्यका पक्षमा आफ्नो गुरूलाई साथ दिए हेराकलाइटसका परिणामवादको खण्डन गरे ।
चिन्तन जगतको यो द्वन्दले तत्कालीन दार्शनिकहरूलाई निकै प्रभावित पार्यो । फलतः एम्पेड़ोक्लिज, एजेक्जेगोरस, ल्युपिसस तथा डेमोक्रेटस लगायतका विद्वानहरूले गति र स्थिति दूवैको सहकार्य वा एकआपसी मिलनबाट सत्यको बास्तविक स्वरूप प्रकट हुने पक्षमा उभिएर सिद्धान्तहरू निर्माण गरे । प्राचीन ग्रीकेली दार्शनिक द्वय हेराक्लाइट्स र पार्मनाइडिजले स्थापित स्थिति र गतिको चिन्तनद्वन्दका आधारमा नै सम्पूर्ण पाश्चात्य चिन्तनको विशाल साम्राज्य खडा भएको छ भन्नमा सङ्कोच गर्नु पर्दैन ।
प्राचीन ग्रीकका दार्शनिकद्वयले प्रतिपादन गरेका दार्शनिक चिन्तनको एकीकृत स्वरूप वैदिक जगतमा सङ्ख्य दर्शनले उठान र प्रतिपादन गरेको छ । सङ्ख्यमा गति र स्थिति दूवैको समिचिन मिलन भएको छ । स्वभाविक रूपमा गतिशील प्रकृति अचलअवस्थामा रहंदा अचल पुरुष र प्रकृतिको मानसिक मिलनबाट सर्ग आरम्भ भएको छ । दार्शनिक रूपमा प्रकृति (सांख्यदर्शन) परिणाम हो र परिणामले परिणाम नै उत्पादन गर्नेहरू सर्ग सम्भव भएको हो । गति र स्थितिको सहकार्यबाट सर्ग अर्थात् विकास सम्भव भएको विश्वको एकमात्र दार्शनिक दृष्टिकोण सांख्यले प्रस्तुत गरेको छ । सांख्य समाधानको दार्शनिक अवधारणा हो भने प्राचीन गति र स्थिति दुवैको सहकार्य नै सत्य अर्थात् विकास हो भन्ने दृष्टिकोणहरू जिज्ञासा मिश्रित समाधान हुन् ।
हालै काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक निर्मलमणि अधिकारीले लेखेको ‘स्थितिगत्यात्यात्मक प्रगतिवाद’ले राजनैतिक चिन्तनको तहमा हिगलले प्रतिपादन गरेको द्वन्दात्मक विज्ञानवाद, हिगलकै सिद्धान्तको जगमा उभिएर प्रतिपादन गरेक द्वाद्वात्मक भौतिकवादलाई परिस्कृत गरेर वैदिक परिवेशमा सांख्यदर्शनले स्थापित गरेको गति र स्थितिको व्याबहारिक समिक्षासहित सर्गको आधुनिक सम्भावनाको तलास हो । लेखकले सिद्धान्त प्रतिपादन गर्ने क्रममा दार्शनिक दृष्टिकोणलाई राजनैतिक दर्शनमा केन्द्रित गरेका छन् । अर्को शब्दमा भन्नु पर्दा स्थिति+गति = प्रगतिको अभिप्राप्ति लक्षित यो चिन्तनमा प्रचलित समाजसांस्कृतिक (Socio-cultural )तथा राजनैतिक अर्थनीति (Political economics) मा आमुल परिवर्तनको प्रस्तावना गर्छ । बैचारिक रूपमा अत्यन्त महत्वाकांक्षी देखिए पनि नेपाली समाजले अविछिन्न रूपमा परिवर्तनको चाहना देखाएको अवस्थामा नेतृत्व विकासमा यसले सहयोग गर्न सक्छ । पुस्तकमा लेखकले वारम्वार उपयोग गरेका शब्दहरू राज्यराष्ट्र, सहृदयता, आधारशीला चतुष्ठयआदि शब्दहरूले राजनीतिमा आमूल परिवर्तनको आधारभूमि प्रतास्तिव गरेको बुझिन्छ ।
राजनैतिक दर्शनशास्त्रको पुरकको रूपमा प्रगतिशील भनिए तापनि बैचारिक जडताको भुमरीमा फंसेर राजनैतिक अर्थ गुमाउंदै गरेको साम्यवाद र व्यक्तिवादी लाभमा केन्द्रित भएर बसुधैव कुटुम्बकम्को वैदिक मन्त्र विर्सेको समाजवाद (पूँजीवाद, राष्ट्रराज्य)का तुलनामा अझैं प्रगतिशील, व्यावहारिक र मान्य सिद्धान्तका रूपमा समसामयिक र भविष्यका समेत अनेकौं समस्याहरूको समाधान गर्न सक्ने मौलिक दृष्टिकोणका रूपमा ‘स्थितिगत्यात्यात्मक प्रगतिवाद’ प्रतिपादन गरिएका आभास मिल्छ । भारतवर्षीय चिन्तन जगतमा यो एउटा सार्थक प्रयास भएको छ ।
सर्वसाधारणले बुझ्ने भाषामा सरल अर्थ गर्नु पर्दा ‘गति र स्थिति दूवै सत्य हुन् । जब स्थिति र गतिका बीचमा समन्वय हुन्छ तव मात्र समाज, राजनीति, आध्यात्मिकताआदि अगाडी बढ्छन् र अर्थात् परिणाम अनुभूत हुन्छ’ भन्ने मान्यता नै ‘स्थितिगत्यात्यात्मक प्रगतिवाद’ होला भन्ने अनुमान गर्नुपर्छ । वैचारिकतहका विषयवस्तुहरू सर्वमान्यता प्राप्त हुने सम्भावना हुँदैन तर अधिकतम मान्यको सम्भावना सधैं रहिरहन्छ । व्यावहारिक रूपमा भने यस्ता बैचारिक वादहरूको प्रतिपादनले ‘नेपालीहरूले पनि सिद्धान्त स्थापित गर्न सक्छन्, सिद्धान्त स्थापना गर्ने एकाधिकारको अव पश्चिमले गुमाएको छ“ भन्ने संदेश दिन्छ र दिएको छ ।
युगनुरूप चिन्तन, प्रमाण र प्रमेयको स्वरूप, स्थितिगतिसंगैको प्रगतिको प्रतिमान, बन्धनबाट मुक्ति, सम्येयता र असम्म्येयता, ऋतयुगको अरेखीययात्रा, व्यक्ति, समाज र राज्य, स्थिति र गतिको समन्वय स्थितिगतिको संरचना – यी अध्यायहरूमा चिन्तन प्रवाहित भएको छ । वैचारिकतहमा नवीनतम वैश्विकसमस्याहरूको समाधानको लागि प्रस्ताव गरिए पनि तार्किकरूपमा भने प्रचीन्र नवीनका विचमा समन्वयका लागि ‘स्थितिगत्यात्मक प्रगतिवाद’ व्याबहारिक रूपमा द्वन्दहरूको समधान गर्ने सक्ने तत्थ्यमा प्रश्न उठ्न सक्छन् ।
–विश्वका धेरै व्यक्ति, समाज तथा राज्यहरूले प्राचीन र समसामयिक विच, प्राचीन आस्था र विज्ञानका विच, विज्ञान र धर्मका विच समन्वय गर्ने प्रयत्न गरेका अनेकौं उदाहरणहरू छन् । साथै, समन्वय गर्ने प्रयत्न गर्द्दा द्वन्द बढेका उदाहरण पनि छन् । धर्म र विज्ञानका विचको प्रगतिशील समन्वय एउटा राम्रो तार्किक उठान हुन सक्छ तर व्यबहार त्यति सजिलो छैन । राजनीतिले धर्म, विज्ञानआदि साधनहरूलाई ‘कब्जा’ गरेको छ भने राजनैतिक शक्तिलाई ‘धन’ले एकाधिकारमा राखेको छ । यस्तो अवस्थामा ‘गिभ एण्ड टेक’ प्रगतिशीलता हो कि प्रचीन र आधुनिकताका विचमा साच्चिकै विश्वासको वातावरण बनेर सहृदयी सम्बन्ध स्थापित हुन्छ गति र स्थिति दुवै संगै हिड्छन् ?’ यस्ता प्रश्नको उत्तर सजिलो छैन ।
जे होस्, हामी दर्शनशास्त्रीहरूमा एउटा कुराको सधैं सहमति हुन्छ, त्यो हो ‘हामी जिज्ञासा अर्थात् प्रश्न गर्न र ती प्रश्नहरूको सम्भाव्य समाधान प्रस्तुत गर्न पछि हट्ने छैनौं । असहमति दार्शनिक जिज्ञासा हो भने सहमति दार्शनिक समाधान । हिँड्दै गर्दा अध्यारो र प्रकाश दूवै आउँछन्, जान्छन् । जिज्ञासा र त्यसको समाधान नखोज्ने निष्क्रियता दार्शनिक र विज्ञानका लागि अस्वीकार्य हुनैपर्छ । नयाँ जिज्ञासा र ती जिज्ञासाको समाधानका लागि प्रस्तुत विचारहरूको अन्त्य हुने छैन । दार्शनिक विश्वको यो मूल्य विश्वका सबै विधाहरूका लागि स्वीकार्य छन् । दार्शनिकहरूको सहमति पनि यहीं छ ।