प्रचण्डसँग मनका कुरा !
रविन्द्र मिश्र ।
सोमबार कार्यक्रममा भेट भयो । मंगलबार वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो । ‘अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विष्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ । र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।’ लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः
१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।
२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गजबका ‘भिजनरी’ राजा रहेछन् ।
३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाकाबारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गएपनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।
४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो ।
५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।
६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन ।
७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।
कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए ।
सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ/वित्नेछ भन्नेमा संभवतः उनीहरू अनभिज्ञ थिए । म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।