राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल



काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गर्न अपील गरेका छन् ।

संविधान दिवस, २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भने, ‘हामी सङ्कल्प गरौँ की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन ।’

राष्ट्रपति पौडेलले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प चाहिने उल्लेख गर्दै भने, ‘लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ, लक्ष्य प्राप्त गर्न अविचलित भई अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ । हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण सङ्कल्प गरौँ, पहिलो सङ्कल्प गरौँ, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहने छौँ । जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौँ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ । अर्को सङ्कल्प गरौँ कि हामी सुशासन प्रति प्रतिबद्ध रहने छौँ तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ ।’

राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेस्रो सङ्कल्प गर्न आग्रह गरे ।

उनले भने, ‘भातृत्व, एकता र समभाव हाम्रो जीवन पद्धति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ ।’ जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौँ भन्ने अर्को सङ्कल्प गर्न उनले आग्रह गरे । ‘पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौ’, राष्ट्रपति पौडेलले भने ।

यी सङ्कल्प गर्दै मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उनले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताए ।

‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस’, राष्ट्रपति पौडेलले भने ।

उनले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्ने, विकास निर्माणलाई तीव्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले वेथिति र अनियमितताको अन्त्यमा जोड दिए । ‘वेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरूलाई जिर्ण र विश्वासहिन बनाउने चिन्ता सर्वत्र भइरहेको छ । यसबाट नागरिकको भरोसा नडगमगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त ? यो भरोसालाई पुनःस्थापित नगरी न त हामी संविधानका लक्ष्यहरू प्राप्त गर्न सक्छौँ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ । आजका दिनमा हामीले भ्रष्टाचारमा शून्य सहनशीलतालाई कडाइका साथ कार्यान्वयन गर्न सङ्कल्प गर्नुपर्छ’, उनले भने ।

उत्साह र उमङ्गका साथ आज संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बाल्न राष्ट्रपति पौडेलले आग्रह गरे । ‘यो निराश बस्ने समय होइन, यो हामीबीच आरोप प्रत्यारोप गर्ने समय होइन, यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन, यो एकताबद्ध हुने समय हो, यो आफैँप्रति विश्वस्त हुने समय हो, यो भविष्य उन्मुख हुने समय हो, आजको दिनले हामी सबैलाई निरासाबाट आशा र समृद्ध नेपाल निर्माणको बाटोतिर जान प्रेरणा दिन सकोस्’, राष्ट्रपति पौडेलले भने ।

आफ्नो संविधान आफैँ लेख्न पाउने हामीले पाएको यो सौभाग्य र अवसर कमैमात्र मुलुकका नागरिकले प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो गौरवशाली विश्व इतिहास कायम गर्न सफल भएकामा आजको विशेष दिनमा देशभित्र र बाहिर रहनु हुने सम्पूर्ण नेपालीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

  काठमाडौँ । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्

संविधान संशोधनमार्फत प्रदेशसभाको संरचनामा व्यापक परिवर्तन गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

संवैधानिक इजलासलाई प्रभावकारी बनाइने

काठमाडौँ  ।  सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संवैधानिक इजलास आवश्यक पर्दा हप्तामा तीन