अर्को हजार रुपियाँ गोजीमा हाल्नेछन् र म देशको निःस्वार्थ सेवक हुँ भन्नेछन् !
नारायण गाउँले ।
अलिकति दुःख त तपाईंलाई पनि लाग्ला पढेर ! देश गरिब किन हुन्छ, थाहा छ ? चर्को वैदेशिक ऋण लिएर हामी केमा खर्च गर्छौँ थाहा छ ? २७५ जना सदस्य रहेको संसद् छ । हरेक सांसदको तलबभत्ता लाखभन्दा माथि हुन्छ । तिनलाई बसेको, उठेको, सुतेको, हिँडेको, पानी पिएको, फोन बोकेको, पाहुनालाई खÞ्वाएको या जेका लागि जागीर खाएको हो त्यही काम गरेकोमा समेत छुट्टै भत्ता हुन्छ । अझ गरिब देशले तिनलाई अधिकृत बराबरको कर्मचारी पनि दिन्छ । यत्रो पैसा राज्यले किन खर्च गर्छ, थाहा छ ? अनि तिनले के गर्छन्, थाहा छ ? यतिबेला एक दुई हप्तादेखि संसदमा के भइरहेछ हेर्नुभो भने धेरै कुरा स्पष्ट हुन्छ ।
सांसदहरू त्यहाँ जम्मा हुन्छन्, हाजिर गर्छन्, अनि माओवादी विद्रोह हिंसा हो कि होइन भनेर झगड़ा गर्छन् । अनि आज संसद बन्द भनेर नाराबाजी गर्छन् । तलब र गाडीदेखि साड़ीसम्मको भत्ता छोड्नुस्, त्यत्ति नाराबाजी गर्न तिनले राज्यको ढुकुटीबाट छुट्टै एक हजार शुल्क बुझ्छन् । अझ त्यो नाराबाजी गर्न संसद भवनसम्म पुगेको खर्च भन्दै अर्को एक हजार रुपियाँ पनि पड्काउँछन् । यस्तो क्रम केही हप्तादेखि जारी छ र रहनेछ । माओवादीको मान्छे उठ्छ र त्यो योगेश वाला हिंसा शब्द हटाउनुपर्छ भन्छ, अनि योगेशवाला उठ्छन् र होइन, त्यो हिंसा नै हो भन्दै पाखुरा सुर्कन्छ । त्यसपछि त्यो दिनको तलबभत्ता पाक्यो । जबकि यो विषयमा राज्यको अरबौं रुपियाँ खर्च भइसक्यो, दुई दर्जन वर्ष बेकार भइसक्यो र एउटा टुङ्गो लागिसक्यो ।
संसदमा सांसदमात्रै हुन्नन् । भवनको भाड़ा, सचिवलगायतका दर्जनौं कर्मचारी, तिनको भत्ता, मर्यादापालक, सुरक्षाकर्मी..कति हो कति ! यस्तो बहसमा देशले ती सबैको करोडौं खर्च बेहोर्छ । यसअघि सहकारीमा छानबिन गर्ने कि नगर्ने, तँमाथि गर्ने कि ममाथि गर्ने भन्ने झगड़ामा महिना दिनभन्दा बढ़ीको तलबभत्ता खर्च भयो । करोडौं रकम स्वाहा भयो । त्यसैमा पनि झगड़ा गर्न दुई तीन जना भए पुग्छ । अरू त त्यो भत्ता पचाएर लुसुक्क बाटो लाग्छन् । देशमा सङ्घीयता आएको बर्सौं भयो । आवश्यक कानुन बन्न नसक्दा सबै कुरा लथालिङ्ग छ । नागरिक उड्डयन प्राधिकरणबारे एउटा कानुन बन्न नसक्दा देश कालोसूचीमा छ । शिक्षादेखि प्रहरीसेवा सम्म यस्तै छ । तर त्यो बनाउने भनेर देशको ढुकुटीबाट मोटो रकम बुझ्नेहरू त्यहाँ यस्तै झगड़ा गर्छन्, अर्कालाई भ्रष्ट, धोकेबाज, विदेशी दलाल र लोकतन्त्रको लागि खतरा भन्छन् । कहिले एउटा नमुना उभिन्छ र भाषण गर्छ, कहिले अर्को नमुना उभिएर फल्नोलाई त भित्तामैं पुरÞ्याएँ भन्छ । यो त सङ्घीय संसदको कुरो भयो । प्रदेशभरि सांसद नै सांसद छन्, कर्मचारी नै कर्मचारी छन् र त्यहाँ पनि यस्तै विषयमा ढुकुटी खर्च हुन्छ । गणतन्त्रअघि २०५ सांसद थिए । प्रदेश थिएन ।
देशको राजश्वले कमर्चारीको तलबभत्ता र ऋणको ब्याज पनि धान्दैन । हाम्रो क्रेडिट रेटिंग नै रहेनछ । चर्को ब्याजमा विदेशीसँग हात थाप्न पर्छ । त्यसरी थापेको ऋण जति यस्तै झगड़ामा खर्च हुन्छ । अझ तिनैले देशको सेवा गर्न राजनीति गरेको भन्छन् र तपाईंलाई दया गरेर बोल्ने हक मिलाइदिएको भन्छन् । विश्वास लाग्दैन भने भोलिको संसद लाइभ हेर्नुहोला, भुँडी टन्न छ । तिनले यही हिंसाको विषयमा बहस गरेर लाखौं रुपियाँ पचाउनेछन् ! उभिएबापत् एक हजार र त्यहाँ पुगेबापत् अर्को हजार रुपियाँ गोजीमा हाल्नेछन् र म देशको निःस्वार्थ सेवक हुँ भन्नेछन् ! के यो लूट होइन ?