आफ्नो भाषासँग घृणा गर्ने देश !
डा. गोविन्दशरण उपाध्याय ।
म विश्वका केही विकसित र अल्पविकसित देशमा पुगेको छु र विश्वविद्यालयहरूमा प्रवचन पनि दिएको छु । मैले विश्वका ती कुनै पनि देशमा मातृभाषाको अनादर देखिन । नेपालीहरूले चीन, रूस, जर्मनी, फिनल्याण्डजस्ता देशमा गयेर उच्चशिक्षा प्राप्त गरिरहेका छन् । ती देशमा जानेहरूले भन्छन् ‘हरेक विद्यार्थीले पहिलो वर्ष तेहाको राष्ट्रिय भाषा सिक्नुपर्छ र आगामी वर्षहरूमा मेडिकल, विज्ञान, दर्शनशास्त्र, मनोविज्ञानजस्ता विषयहरू त्यहाँकै भाषामा पढ्नुपर्छ । त्यहाँ अंग्रेजीमा विज्ञान, मानविकी वा अन्य विषयहरूको पढाई हुँदैन ।’
नेपालमात्र यस्तो देश हो जहाँका विद्यालय र विश्वविद्यालयहरूले साधारणदेखि उच्चशिक्षा पढ्दा अंग्रेजी (विदेशीभाषा)को उपयोग गर्छन् । विद्यार्थीले ‘मलाई नेपाली भाषा आउंँदैन’ भन्दै गौरव गर्छन् । गुरूहरू र अभिभावकहरू यो सुनेर नाक ठाडो पार्छन् । आफूलाई देशभक्त, प्रगतिशील समाजवादी भनाउनेहरूले पनि आफ्ना बालबालिकालाई ‘अंग्रेजी’कै तालिम दिन्छन् । यहाँसम्म कि केही विद्यालयहरूले अंग्रेजी भाषा पढाउन नपाएकोमा आत्मग्लानी गरिरहेका हुन्छन् भने केही विद्यालयहरूमा त ‘मातृभाषा’ बोल्ने विद्यार्थीहरूलाई दण्डित नै गरिन्छ । आफ्नो मातृभाषा बोल्दा दण्डित हुने र विदेशी भाषा बोल्दा (अंग्रेजी) पुरस्कृत हुने ‘लोकतान्त्रिक समाजवादी’ देश नेपाल विश्वको आठौँ आश्चर्य हो ।
मैले अंग्रेजी भाषाको विरोध गरेको होइन । विश्वको कुनै पनि भाषा सिक्नु राम्रो हो । अंग्रेजी पनि सिक्नु पर्ने भाषा हो । मनोविज्ञानले समेत धेरै भाषा जान्नु राम्रो हुन्छ भनेर प्रमाणित गरेकै छ । तर आफ्नो राष्ट्रिय भाषाको हत्या गरेर विदेशी भाषा विद्यालय, विश्वविद्यालयहरू माध्यमबाट घिचाईन्छ भने त्यस्ता व्यक्तिहरू अपराधी हुन् । भाषा सिक्नको लागि केवल एकवर्ष पर्याप्त हुन्छ भन्ने तत्थ्य रूस, चीन, जापान, जर्मनी अध्ययन गर्न गएका नेपालीहरूले प्रमाणित गरेकै छन् । फेरि दूध चुस्दै गरेका बालबालिकाबाट मातृभाषा खोसेर ए फोर एप्पल सिकाउने शिक्षा नीति तर्जुमा गर्नेहरूलाई भाषाका विश्वका सबैभन्दा भाषामा उपलब्ध गालीगलौजहरूले सम्मान किन नगर्ने ?
आज मैले नेपालको राष्ट्रिय संसदमा सांसदहरूले बक्तव्य दिएको सुनी र हेरिरहेको थिएँ । कुनै पनि सांसदले अंग्रेजी भाषामा विचार राखेको सुनिएन तर अचम्म र दुःखद तत्थ्य के हो भने यिनकै बालबालिकाहरू जर्मन, डेनमार्क, चाइना, जर्मनी, फिनल्याण्ड, जापानआदि देशमा उच्च शिक्षा प्राप्त गर्न एकवर्ष त्यहाँको राष्ट्रिय भाषा सिक्छन् तर आफ्नै नेपाली भाषालाई हेला गर्छन् । नेपालमा कुनै दिन एस्तो पनि आउने छ–नेपाली भाषाको पढाई अंग्रेजी माध्यमबाट हुने छ ! अहिलेको लागि नेपाल विश्वको एकमात्र यस्तो देश हो जहाँ आफ्नो राष्ट्रियभाषालाई घृणा गर्न प्रोत्साहित गरिन्छ ।
अन्त्यमा भविष्यको पुस्ताले नेपाली भाषा लेख्दा पनि यो ब्यानरझैं लेख्ने सम्भावना छ र हाम्रा राष्ट्रिय, प्रदेश र स्थानीय सरकारहरूले यसरी लेख्नेलाई अबिर र दोसल्ला ओढाएर स्वागत र स्यावासी दिनेछन् ।