नासाको खबर पढेपछि…..
डा. गोविन्दशरण उपाध्याय ।
आज नासाको एउटा खवर पढें । हवल टेलीस्कपले ठूलो काम गरेछ । दुई खर्ब प्रकाश वर्ष टाढाका गेलेक्सीको फोटो खिचेछ । म भने निकै अलमलमा परें । टेलीस्कपले प्रकाशको फोटो खिचेको हो । हबलटेलीस्कपले फोटो खिच्दै गर्दा उपर्युक्त ग्यालेक्सी मरेको अर्बौं वर्ष वितेको हुनसक्छ । मृत्युपछि फोटो खिच्ने कला हवलसँग छ । १ प्रकाश वर्ष टाढाको तारा मर्यो भने हवलले एकवर्षपछि मात्र थाहा पाउँछ । तैपनि वैज्ञानिकले भने पछि हामीले लुरुक्क विश्वास गर्छौं । सायद यही विज्ञानवाद हो । विज्ञानवादी बन्नका लागि विज्ञानमा विश्वास गरे पुग्छ । नेपाली र भारतीयहरूका लागि नासाको नाम नै पर्याप्त हुन्छ । धेरै हुँदा नभएका कुरा पनि जोडेर नासाको नाम जोडेर आउँछन् ।
स्टिफेन हकिन्सले लेखे ‘मान्छेको भेजाको शक्तिले पृथ्वीको अस्तित्व रहेसम्म हाम्रो ग्यालेक्सी तर्न सक्दैन । यसको यसको अर्थ हो – दुई अर्ब प्रकाश वर्षको ग्यालेक्सी भएको विश्वास मात्र हो । विज्ञानले बोलेपछि गरिएको अन्धविश्वास हो । किनभने आजका वैज्ञानिकहरूले भनेका हुन् । बैज्ञानिकको कुरामा विश्वास नगर्नु प्रतिगमन हो । धर्ममा विश्वास गर्नु अन्धविश्वास हो । नासाले लेखेका कुरामा विश्वास गर्नु सत्यमा विश्वास हो । मान्छेहरू यसैगरी बाँचिरहेका छन् ।
बैज्ञानिकहरूले ‘क्वान्टम–फिजिक्स’ हुन्छ भनेपछि अविश्वास गर्नुको कुनै कारण छैन । डार्क–म्याटर होस् वा नहोस् ? प्रश्न गर्न मिल्दैन । एक प्रकाशवर्षको दूरी नाप्न प्रकाशलाई एकवर्ष लाग्छ भन्ने कुरा हामी पत्याइरहेका छौँ । विज्ञानका नाममा हाम्रो मष्तिस्कले एकवर्ष बासी ताराको ज्ञान पचाउन थालेको छ । मान्छेको माइन्ड विज्ञानका नाममा जेजस्तो सुकै पत्याउने गरी तयार गरिंदै छ । ग्यालेक्सी, युनिभर्स र मल्टीभर्सको सपना देखाएर विज्ञानप्रति विश्वासको व्यापार गरिंदैछ ।
मैले मेरा भौतिकशास्त्री दाईलाई सोधें ‘दाइ ! यो दुई खर्ब प्रकाश वर्ष टाढाको ग्यालेक्सी जानेर मान्छेलाई के प्राप्त हुन्छ ?’ दाइ अलमलिनु भयो । कक्षाकोठाको विद्यार्थीले यस्तो प्रश्न गरेको भए उत्तर सजिलै दिन मिल्थ्यो तर एउटा दर्शनशास्त्रीका लागि उत्तर चित्त बुझ्दो पनि हुनुपर्छ । सायद, हामीले दुई खर्ब वर्ष पुरानो भूतको फोटो देखाएर मान्छेको बुद्धिमा विज्ञानले भने पछि जस्तोसुकै कुरामा आँखा चिम्लेर विश्वास गर्नुपर्छ भन्ने विश्वासको अभ्यास गराइरहेका छौँ । यसबाट एउटा एस्तो बखत पनि आउने छ, मान्छेहरूले विज्ञानमा अविश्वास गर्ने छन् । यस्तो अविश्वासलाई मन्थर पार्न ‘ब्लेक–ट्युव’को उठान गरिंदै छ । सायद, मान्छेले निकट भविष्यमा नै ट्युवमा सवार भएर दुई खर्ब प्रकाश वर्ष टाढाको सम्भवतः मृत ग्लेयाक्सीमा टुरिस्ट बन्ने छौँ ? विचार गरौँ, आजको मितिमा म प्रकाशको गतिले तेतातिर प्रस्थान गरें भने पुनः दुई खर्ब वर्ष लाग्ने छन् ।
बाँदरबाट मान्छे कसरी बन्यो भन्ने विवाद टुंगिएको छैन । आजको मितिमा कुनै पनि अर्धमानव अवस्थामा छैन । बाँदर पनि पूर्ण छ मान्छे पनि पूर्ण छ । फेरि मान्छे र बाँदर विचको अवस्था खै ? चाल्स डार्विनका पाँचवटा नियमहरूको टुप्पो कसरी समात्ने हो ? हार्वड स्पेंसरको विकासवादको अन्त्य भएको हो । बाँदरहरू होमोसेपियन बन्ने क्रममा भेटिन्नन् । विज्ञानिकहरूसंग यस्तो कुरा सोध्नु हुँदैन किनभने यस्तो प्रश्न सोध्ने मान्छे ‘नास्तिक’ हुन्छ । अर्थात् विज्ञानसँग विज्ञानको विकास सोध्नु, अर्थसङ्गत खोज्नु विज्ञान विरुद्ध होला नहोला तर विज्ञानका व्यापारीहरूको हित विपरित अवश्य हो ।
ईश्वर छ कि छैन – मलाई पटक्कै थाहा छैन । थाहा नहुनुको अर्थ ईश्वर नहुनु होइन । मैले अमेरिका देखेको छैन तर मैले नदेख्नुको अर्थ अमेरिका नहुनु हैन । मैले मेरो पाँचौं पुस्ता पहिलेका जिजुवुवा–जिजुआमालाई देखेको छैन तर उनीहरू थिए । अब्जरवेवल युनिभर्समा विश्वास गर्ने तर ईश्वरको अस्तित्ववारे कुरा गर्दा, आत्माको अमरत्व वारे कुरा गर्दा निमोठिएको कुरा गर्ने ! एउटा सिक्काका दुईबटा पाटा हुन् । एकातिर मान्छेले ‘एक प्रकाश वर्ष टाढाको सूर्यसम्म बुझ्न सक्दैन’ भन्ने अर्कोतिर दुई अर्व टाढा छ भन्ने विश्वास दिलाउन हबलस्कापका फोटाहरू देखाउनु – मेरो लागि चित्त बुझ्ने तत्थ्य होइन । कमसेकम यस्तो खोजले मानव समाजका लागि कुनै उपहार दिने छैन ।
धार्मिकतालाई बुझ्ने र बुझाउने वैदिक र पश्चिमा दृष्टिकोण फरक छ तर विज्ञानका विषयमा यस्तो छैन । विज्ञान सबैका लागि एकसरह हुन्छ । विज्ञानका क्षेत्रमा पश्चिमाहरूले धेरै काम गरेका छन् । समस्या के हो भने निर्जीव तथा विवेकहीन विज्ञानसंग राजनैतिक शक्ति जोडिएको छ । व्यापारीहरूको स्वार्थ जोडिएको छ । धार्मिकता सद्गुण हो भनेर बुझ्दा विज्ञानलाई मद्दत मिल्छ तर धार्मिकता अन्धविश्वास हो भनेर बुझ्दा मानवीय स्वभावको अपमान हुन्छ । मानवीय भावनाको अपमान गर्ने बैज्ञानिक जडवस्तुसरह हुन्छ । हरेक व्यक्तिलाई ‘सब्जेक्ट’ ठान्ने चिकित्सक मान्छेरहन सक्दैन । मान्छे भएर पनि मान्छे रहन्न । यो विज्ञानको आलोचना होइन सीमा हो । विज्ञान आफैंमा समस्या होइन र समाधान पनि होइन । उपभोक्ताको उपभोग्य साधन हो । साधनलाई साधनकै रुपमा बुझ्नुपर्छ । साध्यका रूपमा विश्वास गर्न थाल्दा समस्या उत्पन्न हुन्छ । दुई अर्ब प्रकाश वर्ष टाढाको ग्यालेक्सी मानवीय उपयोगको वस्तु हुने वा साधनका रुपमा प्रयोग हुनसक्ने अवस्था आउने छैन ।
धर्म शब्दलाई सद्गुणको रुपमा प्रयोग गर्नुपर्छ । मैले इसाई, मुस्लिम वा यहुदीहरूको कुरा गरेको होइन । विज्ञानको आलोचना हुनुपर्छ जसले त्यसमा विकृतिहरूले प्रवेश नपाउँन् । धर्म (इसाई. मुस्लिम, बौद्ध, जैन)ले विश्वलाई १४ पटक खरानी बनाउने शक्तिभएका बमहरूको आविष्कार गरेको थिएनन् । धर्मबाट प्राकृतिक विश्वलाई कुनै जोखिम छैन । जोखिम बैज्ञानिकहरूका आविष्कारहरूबाट छ । जब विज्ञान राजनैतिक शक्तिको दास बन्छ, जव विज्ञानले आफ्नो बाटो छोडेर (मानव र प्रकृतिको कल्याण छोडेर) २ खर्ब परका ग्यालेक्सीको सपना दिन्छ, प्रश्न उठ्नैपर्छ । रह्यो, धर्मका वारेमा, आजको मितिमा सबैभन्दा प्रश्न नै धार्मिक (सद्गुणीले होइन)ले भोग्नु परिरहेको छ । रह्यो, विज्ञान जीवन्त छ र दर्शन मृत्य भयो भन्ने कुरा – मैले निर्माण गरेको बन्दुकले तमलाई नै मार्न सक्छ । ‘तिमी मेरा आविष्कारकर्ता हौँ’ भनेर मलाई जोगाउने प्रयत्न गर्दैन । यदि मान्छेसँग दर्शन नहुँदो हो त विवेकहीन विज्ञानले आविष्कार गरेका बमहरूले विश्व खरानी भैसक्थ्यो । मान्छेभित्र जीवन्त रहेको दर्शनलाई धन्यवाद दिनुपर्छ । अनि, स्टिफेन हकिन्सलाई सम्झनुस् जसले “मान्छे आफ्नो विनाशको कारण आफै बन्ने छ“ भनेर मरे । विज्ञान जीवन्त त मृत केही छैन । त्यो न गतिशील छ, न गतिहीन नै । हाम्रो दृष्टिकोणले यसो भनेको हो । विज्ञान गतिहीन सत्य हो भने बैज्ञानिक (चेतना) गतियुक्त सत्य हो । चेतना विज्ञानको दास बन्नु हुँदैन नत्र २ अर्ब प्रकाश वर्ष टाढाको ग्यालेक्सीमा जीवनका लागि उपयोगिताको कल्पना गर्छ ।