रास्वपाप्रति गगनको कटाक्षः बयान हो बयान, सफाइ होइन, फैसला त आउन बाँकी छ


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिको निर्णयको पर्खाइमा रहेको बताएका छन् ।

बिहीबारको प्रनिधिसभाको बैठकमा महामन्त्री थापाले रास्वपाका नेताहरूले प्रमाण खोजेको भन्दै केही समय पर्खन आग्रह गरेका हुन् ।

उनले तथ्य प्रमाण समितिमा पुगेको भन्ने कुरा ख्याल गर्न आग्रह गरे । उनले भने, ‘प्रमाण खोई भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य प्रमाण भएर त होला संसदीय समिति बनाएको । त्यो प्रमाण हामीले समितिलाई दिएनौँ होला ? तथ्य प्रमाण समितिमा पुगेको छैन होला ? हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला ? ख्याल गर्नुभएन ९ मिनेटमा चैट भनेको ठाउँमा ९ घन्टा बयान दिनुपरेन ?’

उनले संसदीय छानबिन विशेष समितिमाथि आफ्नो विश्वास रहेको बताए । उनले भने, ‘साथीहरू झुक्किनुभएको जस्तो लाग्या छ । बयान हो बयान, सफाइ होइन । फैसला त आउन बाँकी छ । म तथ्य प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’

उनले समितिमा रहेका रास्वपा सांसदलाई अफ्ठ्यारो रहेको हुनसक्ने उनले बताए । उनले भने,‘रास्वपाका साथीलाई केही अफ्ठ्यारो पर्ला कि । कालोलाई सेतो कसरी भन्नु ? अलिअलि मैलो भए पनि कालो नै भन्नुपर्ला ।’

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेले केहीदिनअघि समितिमा नौ घण्टा बयान दिएका थिए ।