बागमती, विष्णुमती र टुकुचाको वरिपरी संरचना निर्माण गर्न निषेध छ, जनतामा भ्रम नछरियोस्ः मेयर साह


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भ्रम नछर्न पार्टीका नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन् । सोमबार सामाजिक संजालमार्फत मेयर साहले सर्वोच्च अदालतको निर्णयलाई महानगरको निर्णय भनी भ्रम नछर्न चेतावनी दिएका हुन् ।

उनले महानगरले सर्वोच्च अदालतको आदेश आएपछि सो आदेशलाई सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर, टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्नेछ । अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।’

आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वाेच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह गरेको थियो । यसपछि बालेन एमालेप्रति आक्रोशित भएका हुन् ।

एमाले प्रतिनिधिमण्डलले उक्त उत्प्रेषण आदेशका आधारमा गत साउन २४ गतेको महानगरपालिकाका प्रमुुखस्तरीय निर्णयबाट नक्सा अनुमति रोक्काको सूचना प्रकाशन गरिएको जनाएको छ ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले जनजीवनमा समस्या सम्बोधनका लागि सरकारका तर्फबाट गर्नुपर्ने पहल गर्ने जनाउँदै कुनै पनि निकाय र व्यक्तिले व्यावहारिकतालाई ध्यान नदिई निर्णय गर्न नहुने बताएका थिए ।