रवि लामिछाने सहकारी ठगी, भ्रष्टाचार र राहदानी दुरुपयोगमा संलग्न रहेको मुकुल ढकालको दाबी


काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने सहकारी ठगी, भ्रष्टाचार र राहदानी दुरुपयोगमा संलग्न रहेको दाबी गरेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले यो विषय आफूले प्रमाणित गर्न सक्ने पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘तपाईं ठग, भ्रष्टाचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहिको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस् । तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन , यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’

उनले रविमाथि सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभएको तर्क पनि गरेका छन् । उनले आफू नभएर रवि चाहिँ पार्टीविपरीत लागेको बताएका छन् ।

उनले भनेका छन्, ‘सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्टाचारमा लिप्त हुनुभयो । तपाईंजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टीविपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नुसरह हुनेछ । पार्टीविपरीत म होइन तपाईं लाग्नुभएको छ ।’