‘प्रचण्डलाई हटाएर मलाई अध्यक्ष चाहिएको छैन’


 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताएका छन् ।

शनिबार पार्टी सम्वद्ध रुकुमपश्चिम–काठमाडौँ सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा प्रचण्डले आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे ।

आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको  बहसले झनै एकताबद्ध बनाएको उनले बताए ।

अध्यक्ष दाहालले पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा राखेको मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताए । उनले सम्पूर्ण माओवादी घटकलाई एकताबद्ध बनाउन लागिएको र पार्टीलाई झन् बलियो बनाउने दृढता व्यक्त गरे ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताका पक्षमा काम गरेको बताए । पार्टीमा बहस गर्न आफू सधै क्रियाशील रहिरहने  तथा पार्टी बलियो बनाउनु निरन्तर खटिने उनको भनाइ थियो । उनले पार्टीभित्रको बहसले पार्टीलाई अझ बलियो बनाएको विचार राखे ।

पार्टी बनाउने एजेण्डामा छलफल गर्दा आफूमाथि प्रश्न उठाइएकामा असन्तुष्टि व्यक्त गर्दै उनले स्थायी समितिको निर्णयअनुसार आफू निरन्तर पार्टी बढाउन लागिरहने उल्लेख गरे  ।

नेत्र विक्रम चन्दलाई पार्टी नछोड्न आफूले बारम्बार आग्रह गरेको सन्दर्भ उल्लेख गर्दै उनले भने, “अन्य वामपन्थी दलसँग एकताको कुरा चलिरहेको अवस्थामा विप्लवलाई माओवादीमा आउन रोक्यो भनेर अनर्गल प्रचार भयो । ”

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन् । आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिँदा कसरी नेतृत्वविरोधी भएँ ? भनि उनले प्रश्न पनि गरे ।
उनले प्रचण्डलाई ‘तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्वविरोधी कुरा गरेको आरोप लगाउने काम गरेको’ भन्दै आक्रोश व्यक्त गरे ।

उनले प्रचण्डलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताए । उनले भने, ‘उहाँहरूलाई हटाएर मलाई चाहिएको छैन । मैले त प्रचण्डलाई अरू २०० वर्ष बचाउने कुरा गर्दैछु, मेरो कुरा त्यो हो । अरू २०० वर्षसम्म प्रचण्ड बाँचून्, त्यो उनको विचारले गाइड गरोस् भनेर मैले भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर ममाथि अनेक अत्याचारहरू गर्न प्रयत्न गरियो । के प्रचण्डले जीवित हुँदा मात्रै नेतृत्व गर्ने कि त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने ? तपाईं आफैँ रोज्नुहोस् । सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भनेको हो मैले । यो के अन्याय हो ?’

सो अवसरमा अध्यक्ष दाहालले सम्पर्क समितिमा रहेर जनताको सेवामा क्रियाशील तथा समितिलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरेका थिए ।

कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले रुकुम सधैं क्रान्ति र नेतृत्वको पक्षमा उभिएदै आएको बताए । उनले अझै जनताका सपना पूरा नभएको एवम् समाजवादी क्रान्तिका लागि पार्टी फेरि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता शर्माले पार्टीलाई सुदृढ बनाउन गम्भीर समीक्षा गर्नुपर्ने, पार्टीभित्र बढ्दै गएको मतभेद कम गर्न आत्मसमीक्षा गर्नुपर्ने एवम् सिङ्गो मुलुक माओवादीको एजेण्डामा अघि बढिरहँदा पनि माओवादी कमजोर हुनुमा सबैले जिम्मेवारी लिनुपर्ने बताए ।

उनले भने, “जनताका बीचमा गएर आत्मसमीक्षा गरौँ । गाउँ फर्कौ, आधार इलाका जाऊँ, समाजवादी क्रान्तिका लागि जनताका बीचमा जानैपर्छ ।”