के जातीय विभेद र छुवाछूतको जड वेदमैँ छ ?



नारायण गाउँले ।
के जातीय विभेद र छुवाछूतको जड वेदमैँ छ ? के त्यहाँ ब्राह्मण मुखबाट र शूद्र पाउबाट पैदा हुन्छन् भनिएको छ ? वेद ‘हिन्दू’ धर्मको सर्वोच्च शास्त्र हो, त्यसैलाई पुनर्लेखन गर्न त सकिन्न, त्यसैले के छुवाछूत वेद रहुञ्जेल रहन्छ त ? यस विषयमा चासो नहुनेहरूका लागि यो लेख समयको बर्बादी मात्रै हुनेछ । चासो हुनेहरूका लागि लामो समयदेखि चर्चामा रहेका यिनै प्रश्नमाथि सङ्क्षिप्त प्रकाश पार्ने कोसिस हुनेछ । हो, वेदमा ब्राह्मण मुखबाट र शूद्र पाउबाट पैदा भएको भनेर लेखिएको छ । ऋग्वेददेखि यजुर्वेदसम्म पाइने अनि दैनिक कर्मकाण्डमा प्रयोग हुने वेदको ऋचामा स्पष्ट रूपमा यो उल्लेख छ । तर त्यहाँ छुवाछूतको न गन्ध छ न जड़ नै ।

हिन्दू धर्म या धार्मिक समुदायभित्र विभेद छैन, छुवाछूत छैन भन्ने दाबी गर्न यो लेख लेखिएको होइन । त्यहाँ छोइने गरी विभेद छ, विभेदका अनेक स्वरूप र तह छन्, छुवाछूत छ, विकृति छन् । तर यसको जड़का रूपमा प्रायः संस्कृत नपढेका लेखकले उद्धरण गर्ने वेदको त्यो ऋचासँग छुवाछूतको कुनै सम्बन्ध छैन । उल्टो त्यसले विभेद र छुवाछूतको विरोधमा बलियो आधार दिएको छ । वेदको जुन ऋचा, मन्त्र या श्लोकले छुवाछूतलाई अधार्मिक, असत्य र अन्यायपूर्ण साबित गर्न सक्छ, जसलाई आधार बनाएर धार्मिक समुदायभित्र रहेको अस्पृश्यतालाई ‘च्यालेन्ज’ गर्न सकिन्छ, त्यही श्लोकलाई छुवाछूतको मूल भनेर गरिँदै आएको तर्कबारे पुनर्विचार गर्नु यो लेखको उद्देश्य रहेको छ ।
हिन्दू धर्म एउटा ईश्वर, एउटा विचार या एउटा केन्द्र भएको धर्म नभएकाले शास्त्र र साहित्य धेरै छन् । त्यसभित्र तहगत रूपमा वेद सबैभन्दा माथि र अन्तिम प्रमाण मानिन्छ । यद्यपि गीतासम्म आउँदा भगवान् कृष्णले ‘निस्त्रैगुण्यो भवार्जुन!’ भन्दै वेदबाट पनि माथि उठेर योगी बन्ने सुझाव अर्जुनलाई दिनुभएको छ । ’समत्वम् योग उच्यते’ भनेर भेदरहित समत्व नै योग भएको स्पष्ट रूपमा त्यहाँ उल्लेख नै छ ।
हाम्रो प्रसङ्ग भने वेदको हो! पहिले त्यही श्लोक हेरौँ। वेदमा श्लोकलाई मन्त्र या ऋचा भनिन्छ। त्यसको समूहलाई सूक्त भनिन्छ। त्यो ऋचा यस प्रकार छः
‘ब्राह्मणः अस्य मुखम् आसीत् बाहू राजन्यः कृतः
ऊरू तदस्य यद्वैश्यः पद्भ्याम् शूद्रः अजायत!’

परमात्माको मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रीय, जाँघबाट वैश्य र पाउबाट शूद्र पैदा भए भन्ने यो श्लोकको शाब्दिक अर्थ हो । झट्ट हेर्दा विभेद जस्तो देखियो नै । तर यसलाई बुझ्न यो ऋचाको प्रसङ्ग अर्थात् सिङ्गो सूक्त (मन्त्रसमूह) बुझ्नपर्छ। वेदमा ऋषिहरूको पूर्ण वाक्यका रूपमा सूक्तलाई लिइएकाले एउटामात्रै श्लोकको अर्थले वाक्य पूरा हुँदैन । यो वेदको “पुरुषसूक्त“भित्र रहेको श्लोक हो । त्यो सूक्तमा यो सृष्टि र ईश्वरबारे प्रश्नर–उत्तर रहेको छ । यो सारा ब्रह्माण्डको सृष्टि ईश्वर अर्थात् विराट् पुरुषबाट भएको र यो सिङ्गो सृष्टि उसैको विस्तार भएको वर्णन त्यो सूक्तमा छ ।

‘सहस्र शीर्षा पुरुषः सहस्राक्षः सहस्रपात…’यो उक्त सूक्तको पहिलो श्लोक हो । जसले त्यो ईश्वरको स्वरूपबारे वर्णन गरेको छ । हजारौँ शीर, हजारौँ आँखा र पाउ भएको विराट पुरुषबाटै यो दृश्य–अदृश्य ब्रह्माण्ड जन्मिएको हो ! यहाँ जन्मको अर्थ सृष्टि भन्ने देखिन्छ। उक्त सूक्तमा मान्छे (चारै वर्ण) भगवान्बाटै जन्मिएको भनिसकेपछि चन्द्रमा मनबाट, नाभिबाट अन्तरिक्ष, सूर्य आँखाबाट, कानबाट वायु र मुखबाट अग्नि र पाउबाट भूमि (पृथिवी) जन्मिएको भन्ने थप श्लोक छन् । अर्थात् त्यो ऋचा एक्लो होइन । शरीरका अन्य अङ्गबाट के के उत्पत्ति भए भन्ने लामो प्रसङ्ग छ । तर ती सबै ऋचाको तात्त्विक अर्थ यो सबै ब्रह्म तत्त्वको विस्तार (आजको बिग ब्याङ् थ्योरी जस्तै) हो भन्ने हो । त्यो वैदिक विराट् पुरुष या आदिपुरुष नै पछि शिव र विष्णुका नाममा प्रचलित भई सम्प्रदायमा बाँडिएको हो ।

ब्राह्मण–क्षत्रीय–वैश्य र शूद्रको वर्ण–व्यवस्था वैदिक समाजमा पनि थियो भन्ने जानकारी यहाँबाट हुन्छ । तर यो व्यवस्था त्यतिन्जेल कर्ममा आधारित थियो भन्ने सङ्केत मिल्छ । जसमा छुवाछूतको गन्ध मिसिएको थिएन । अब मुखबाट ब्राह्मण जन्मिएकोले पूज्य र शूद्र पाउबाट जन्मिएकोले हेय भएको भन्ने तर्कलाई हेरौँ । एक त यो सिङ्गो सृष्टि भगवान् कै अङ्ग भन्ने अर्थमा आएको हो । दोस्रो, भूमि पनि पाउबाट पैदा भएको भनिएको छ जुन पूज्य छ । फेरि यो पाउ त्यो विराट् पुरुषको हो, ईश्वरको हो, मान्छेको होइन । त्यो आदिपुरुषको कुनै अङ्ग विशेष बढ़ी महत्त्वको भएको र कुनै अङ्ग कम महत्त्वको भएको कल्पना, सङ्केत या धारणा कतै भेटिन्न । खासमा यो श्लोक र प्रसङ्ग नै कुनै पनि प्राणी या वस्तु ईश्वरभन्दा भिन्न छैनन् भन्ने देखाउन प्रयोग भएको छ नकि तिनको मान्यताक्रम देखाउन ।

हाम्रा हरेक पूजामा यही पुरुषसूक्तको प्रयोग हुन्छ । र, भगवान् को पहिलो पूजा पाउकै हुन्छ । मुख, घुँडाको पूजा त कुनै कुनै पूजामा प्रसङ्गवश हुन्छ, तर हरेक पूजामा पाउ (पाद्य), र हात (अर्घ्य) को अनिवार्य पूजा हुन्छ । भगवान् लाई ढोग्ने पनि पाउमै हो, मुखमा होइन । मुख त भगवान् कै पनि बरु कतै चोखो मानिन्न । गाईको मुख जुठो मानिन्छ । अब भगवान् को पाउ अस्पृश्य भन्न त मिलेन । रामायणमा भरतले मुख पुछ्ने रूमाल होइन, पाउको खडाउ मागेर त्यसको पूजा गरेको वर्णन नै छ । पूजापछि भगवान् को पाउ धोएको जल (चरणामृत) पिउने गरिन्छ ।
मान्छे जुन वर्णको भए पनि सबै भगवान्का अङ्गबाट पैदा भएको त्यसको अर्थ हो । यो त समताका लागि दिनुपर्ने दृष्टान्त पो हो । स्मरण रहोस् पूजा गर्नुभयो भने आज पनि पूजन हुने भगवान् को पाउ नै हो भने त्यो अस्पृश्य कसरी हुन्छ ? काखीको फोहोरबाट जन्मिएको भनिने गणेश अस्पृश्य छन् ? भगवान् को लिङ्ग त पूज्य छ, रौँदेखि गुदद्वारसम्म खसेका शक्तिपीठ त पूज्य छन् भने सदैव पूजा हुने पाउबाट जन्मेको भनिएको शूद्र कसरी अस्पृश्य हुन्छ ? भगवान् अस्पृश्य छैनन् भने भगवान् कै अंश शूद्र कसरी अस्पृश्य हुन्छ ? त्यही पाउबाट उत्पन्न भएको भूमि अस्पृश्य छैन भने मान्छे कसरी हुन्छ ? भूमिसँगै जन्मिएकाले बरु शूद्र भूमिमाथि झन् बढ़ी उत्तराधिकारी भएन र ?

जसले शूद्रलाई अस्पृश्य मानेर विभेद गरिरहेका छन् तिनले कानुनी अपराधमात्रै होइन भगवान् कै अंशलाई विभेद गरेर अधार्मिक, अमानवीय र अशास्त्रीय कामसमेत गरेका छन् । दैनिक पढ्ने यो मन्त्रले नै सबैलाई दाजुभाइ भनेको छ, परमात्माको अंश भनेको छ भने त्यही अंशलाई अपमान गर्नु त परमात्माको अपमान हो नि । तपाईंले मन्त्र पढेको, वेद पढेको के काम ?

अनि समताको लक्ष्य हासिल गर्न हतियार बन्न सक्ने यही मन्त्रको असंलग्न अर्थ लगाएर उल्टो विभेदको स्रोतका रूपमा व्याख्या गर्ने हो भने त धार्मिक समुदायबाट कसरी विभेद हटाउन सकिएला ? किनकि कानुन जेजस्तो बनाए पनि कुरानमा लेखेको कुरा मुस्लिमलाई, बाइबलमा लेखेको कुरा क्रिश्चियनलाई र वेदमा लेखेको कुरा हिन्दूलाई अन्तिम सत्य लाग्नु स्वाभाविक हो ।

भएको ठाउँबाट विभेद हटाउने हो । नभएको ठाउँमा समेत हो भनेर थप्ने होइन । धर्मशास्त्रभित्र विभेद र छुवाछूत छैन भन्ने दाबी पनि गलत हो । त्यो आकाशबाट टपक्क टप्किएको होइन । हाम्रै रचना हो, सिर्जना हो । वेदपछिका स्मृतिग्रन्थ र अन्य पौराणिक ग्रन्थसम्म आइपुग्दा विभेदका बाछिटा प्रशस्तै पाइन्छन् । विभेदको मुख्य केन्द्र हाम्रो संस्कार र शासनसत्ता पनि हो । जातीय विभेद मात्रै होइन, विभिन्न तह र स्वरूपमा एउटै जात या लिङ्गभित्र पनि अनेक विभेद अद्यापि विद्यमान् छन् । विभेद र छुवाछूत कति जेलिएको र गहिरो छ भने यो दलित–दलित या दलित–गैरदलितबीच मात्रै नभई ब्राह्मण–ब्राह्मणबीच पनि विद्यमान् छ ।

तर, हिन्दू धर्मभित्र शास्त्रका रूपमा वेद अन्तिम मानिए पनि भिन्न समास गर्दै वेदभन्दा पर वेदान्त रहेको मानिन्छ । कर्मकाण्ड, भजनकीर्तन, शरीर र पूजाआजा वेदका कुरा भए, त्यसभन्दा पर वेदान्त अर्थात् दर्शनशास्त्र (विचार) छ । हिन्दू दर्शनशास्त्र विश्वकै गहिरो दर्शनशास्त्र पनि मानिन्छ । त्यसमा भने कुनै पनि विभेदलाई निषेध गर्दै समताको सम्बर्धन गरिएको छ । जीवनका चार आश्रम (खण्ड) मध्ये पछिल्लो खण्ड सन्यास हो र त्यहाँ वेदको नभई वेदान्तको चर्चा हुन्छ। उदाहरणका लागि गीता एउटा दार्शनिक ग्रन्थ हो । गीताजस्ता ग्रन्थ या शास्त्रमा वैचारिक बहस भएकाले विभेदको पूर्णतः निषेध गरेर समतासम्म पुर्याउने प्रयास भएको देखिन्छ । शास्त्रको प्रामाणिकता र कथाहरू छुट्याउन र सुधारको आन्दोलन शुरू गर्न पनि केही दलितले आफैं शास्त्र पढ्नु जरूरी छ ।

निष्कर्षमा हामीकहाँ अझै पनि विभेदको ठूलो खाडल छ । विभेदको मूल जड हाम्रै धार्मिक संस्कार र कतिपय ग्रन्थ हुन् । तर हाम्रै मूल ग्रन्थहरूले विश्वबन्धुत्व अर्थात् विश्वभरका मानवलाई दाजुभाइ मान्न पनि सिकाएका छन् । समताको स्थितिमा पुग्न सुझाएका छन् । कुनै पनि छुवाछूत या अपमानविरुद्ध हाम्रा शास्त्रमा सयौं निर्देश, शिक्षा र सूत्र छन् । महिलाप्रति विभेदका उदाहरण पनि हाम्रा केही शास्त्र र कथाहरूमा भेट्न सकिन्छ भने हाम्रै शास्त्रहरू हुन् जसले पुंलिङ्गी ईश्वर मात्रै नमानेर देवीका रूपमा समान शक्तिशाली ईश्वरीय रूपको कल्पना गरेको छ । कन्यादेखि नारी शक्तिसम्मलाई पूज्य मानेको छ । अझ तेस्रो लिङ्गको पनि प्रतिनिधित्व हुने गरी अर्द्धनारीश्वरको कल्पना भएको छ ।
धर्म नमान्नेहरूले मानवता र कानुनी आधारमा विभेदविरुद्ध लड्न सकिन्छ भने धर्म मान्नेहरूले पनि त्यहाँबाटै रिफरेन्स लिएर यो अमानवीय विभेदविरुद्ध लड्न सकिने अवस्था छ । बाइबल, कुरान, त्रिपिटकजस्तै हाम्रो धार्मिक प्रमाण वेद हो र वेदले नै सबैलाई ईश्वरीय अंश मानेको छ र विभेद निषेध गरेको छ । जुन ग्रन्थ या शास्त्रमा विभेदको गन्ध छ, ती हिन्दू धर्मका अन्तिम प्रामाणिक ग्रन्थ होइनन् । तिनको सजिलै त्याग गर्न सकिन्छ, सक्नुपर्छ । ती सयौं वर्षमा विकास भएका कथा र साहित्य हुन् ।

जसरी लड़े पनि हाम्रो गन्तव्य समता नै हो । हामी सबै बन्धु हौँ, ईश्वरका सन्तान हौँ, दाजुभाइ हौँ ! ऋग्वेद नै भन्छः
‘सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् !’
हामी सँगै हिडौँ, हाम्रो बोली एउटै होस् र हाम्रो मन एक होस् !
अझ गीतामा भगवान् वचन नै छः
‘यो मां पश्यति सर्वत्र सर्वञ्च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति ।’
अर्थात्, जसले (सर्वभूतेषु) सबै प्राणीमा मलाई देख्छ र ममा सबै देख्छ (विभेद दृष्टि राख्दैन) ऊ र ईश्वरबीच कुनै दूरी छैन।
चण्डीको मन्त्र पनि यही छः
‘या देवी सर्वभूतेषु चेतनेत्यभिधीयते
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः !’
सबै प्राणीमा ‘चेतना’रूपमा रहेकी देवीलाई नमस्कार छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिचेर सार्वजनिक

रविलाई निलम्बन गर्न प्रहरीको पत्र संसद सचिवालयमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय

साई स्वागत सहकारीका पूर्वअध्यक्ष र कोषाध्यक्षलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भरत जंगमलाई

यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णय 

  काठमाडौँ । सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक