विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अझ अधिकार सम्पन्न गर्नेगरी संविधान संशोधन गर्न सकिने बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार बेलुकी सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले जनताले अहिलेसम्म प्राप्त गरेका उपलब्धिमा टेकेर उत्पीडित जाति, क्षेत्र र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनेगरी संविधान संशोधन गर्न सकिने प्रष्ट पारे ।
उनले भने, ‘संविधान संशोधनमार्फत जनताले प्राप्त गरेको समावेशी, समानुपातिकको अधिकार कटौती भएमा सडकमा गएर प्रतिवाद गर्ने छौँ ।’
उनले पूर्ण समानुपातिक प्रणाली नेपाल जस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देशमा उपयुक्त हुने विचार व्यक्त गरे ।
प्रचण्डले भने, ‘पार्टीको मान्यता प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ पर्छ भन्ने अहिले पनि कायम रहेको छ ।’ उनले उद्यमीहरूसँग विद्युतको बाँकी रहेको राज्यको अर्बौं रकम छुट दिने चलखेल नगर्न सरकारलाई आग्रह गरे ।
उनले प्रतिनिधिसभा र लेखासमितिमा यस सम्बन्धमा आफ्ना सांसदहरूले सशक्त रुपमा कुरा राखेको जानकारी दिए । लेखासमितिको सभापति विगतदेखि प्रतिपक्षीलाई दिने परम्परा रहेको उल्लेख गर्दै उनले माओवादी अहिले प्रमुख प्रतिपक्षी भएकाले सभापति दिनुपर्छ र यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

प्रतिक्रिया