काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दललाई दिन माग गरेको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्ने माग गरेका हुन् ।
उनले लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम नतिरेका व्यापारीहरूसँग रहस्यमय ढंगले होटलमा भेट गरेको भन्दै यसबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
सांसद सापकोटाले सभापति पोखरेल अघिल्लो संसदको सार्वजनिक लेखा समितिले बक्यौता रकम असुली गर्न दिएको निर्देशनविपरीत लागेकाले उनीमाथि कारबाही हुनुपर्ने माग गरे ।
उनले भने, ‘संसदीय मूल्यमान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलमा हुन्छ । नैतिकता छ भने यो सरकारले पारदर्शी काम गर्छ भने सभापति तत्काल प्रतिपक्षलाई देओस् । अहिलेको सार्वजनिक लेखा समिति सभापतिले रहस्यमय घटना घटाइरहनुभएको छ, यसका लागि सभामुखबाट रुलिङ चाहन्छु ।’
त्यस्तै उनले नेपाल विद्युत् प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका छन् ।

प्रतिक्रिया