इजरायलमा आफ्ना मृतक छोराको शरीरबाट शुक्राणु संरक्षण गरिदिन माग गर्ने मातापिताको सङ्ख्या बढ्दै



इजरायलमा आफ्ना मृतक पुत्रहरूको शरीरबाट शुक्राणु संरक्षण गरिदिन माग गर्ने मातापिताको सङ्ख्या बढ्दै गएको छ। यस्तो माग गर्नेमा अधिकांश सैनिकका मातापिता छन्। सात अक्टोबरको हमास हमलासँगै यससम्बन्धी प्रक्रिया केही खुकुलो पारिएको छ। तर शुक्राणुको प्रयोग कसरी गर्ने भन्ने विषयमा कायम लम्बेतान कानुनी प्रक्रियाका कारण मृतकका परिवारजन निराश र आक्रोशित भएका छन्। अभी हारुसले सेनाका अधिकारीहरू उनको घरमा आउनुभन्दा केही दिनअघि नै केही ‘भयङ्कर डरलाग्दो’ हुन लागेको महसुस गरिसकेका थिए।

आफ्ना २० वर्षीय छोरा रीफ दक्षिणी गाजा स्ट्रिपमा भएको संघर्षमा मारिएका घटना सम्झिँदा अभीको स्वर काँप्छ। यो ६ अप्रिल २०२४ को घटना हो। त्यो समयमा उनले एउटा निर्णयको सामना गर्नुपर्‍यो। ‘उनीहरूले समय नघर्किसकेकाले रीफको शुक्राणु संरक्षण गर्न सम्भव भएको बताउँदै त्यसमा हाम्रो रूची भए नभएकोबारे सोधे,’ उनले भने। अभीले तुरुन्तै जबाफ दिए।

‘रीफले पूर्ण जीवन बाँच्यो,’ उनले भने, ‘एकदम डरलाग्दो क्षतिका बावजुद हामीले जीवन रोज्यौँ।’ ‘ऊ केटाकेटीलाई माया गर्थ्यो। आफ्नै बालबच्चा होउन् भन्ने चाहन्थ्यो। त्यसैले यसमा कुनै प्रश्नै थिएन,’ उनले थपे। रीफ विवाहित थिएनन्, न उनकी कुनै प्रेमिका थिइन्। तर जसै अभीले आफ्नो छोराको कथा अरूलाई भन्न थाले रीफको सन्तानलाई जन्म दिन चाहने केही महिलाहरू उनको सम्पर्कमा आए। त्यस विचारले ‘आफूहरूलाई आशावादी बनाएको” उनले बताए। ‘त्यसयता यो मेरो जीवनको उद्देश्य बनेको छ,’ उनले भने।

उल्लेख्य बढ्यो शुक्राणु संरक्षण चाहनेको सङ्ख्या

यो त्यस्ता थपिँदै गएको परिवारमध्येको हो जसले सात अक्टोबरको हमास आक्रमणपछि शुक्राणु संरक्षण गरेका छन्। उक्त घटनामा झण्डै बाह्र सयजना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो। उक्त घटनाको जबाफमा इजरेलले गाजामा ठूलो सैन्य कारबाही चलायो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त कारबाहीमा ३९ हजार प्यालेस्टिनीहरू मारिइसकेका छन्। सँगसँगै उक्त युद्धमा ४०० इजरेलीको पनि ज्यान गएको छ।

सात अक्टोबरयता झण्डै १७० जना जवान पुरुषहरूको शुक्राणु संरक्षण गरिएको छ। इजरेली स्वास्थ्य मन्त्रालयका अनुसार यसमा सैनिक र गैरसैनिक दुवैथरि छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा मोटोमोटी १५ गुनाले बढी हो। उक्त प्रक्रियामा अण्डकोशमा एउटा चिरा पारिन्छ र एउटा सानो कोषलाई झिकिन्छ। त्यसपछि प्रयोगशालामा लगेर उक्त कोषबाट जीवीत शुक्राणुलाई अलग्याउन र भण्डारण गर्न सकिन्छ।

मृत्युको २४ घण्टाभित्र उक्त कार्य गरिएको खण्डमा शुक्राणुको संरक्षण कार्य सफल हुने दर उच्च हुन्छ। यद्यपि कोषहरू ७२ घण्टासम्म पनि जीवित रहन सक्छन्। फ्रान्स, जर्मनी र स्वीडेनलगायतका केही देशले यसमाथि पूर्ण प्रतिबन्ध लगाएका छन्। अन्य देशहरूमा मृतकले जीवित छँदै शुक्राणु भण्डारणका निम्ति सहमति जनाएको हुनुपर्ने कडा नियम छ। गएको अक्टोबरमा इजरेलको स्वास्थ्य मन्त्रालयलले शुक्राणु संरक्षण गर्न चाहने मातापिताले अदालतबाट अनुमति लिनुपर्ने प्रक्रियालाई खारेज गरिदिएपछि इजरेली डिफेन्स फोर्स (आईडीएफ) हालका वर्षहरूमा शोकसन्तप्त मातापितालाई उक्त कार्यको प्रस्ताव गर्न निकै सक्रिय भएको छ।

शुक्राणु भण्डारण गर्न सहज हुँदै गएसँगै यसले जटिल नैतिक र कानुनी प्रश्न पनि उब्जाएको छ। मृतकका पत्नी र मातापिताले उक्त शुक्राणुमार्फत् गर्भाधान गराउन चाहेको खण्डमा अदालतसमक्ष मृतकले सन्तान जन्माउन चाहन्थे भन्ने आधार पेश गर्नुपर्छ। खासगरी मातापिताको हकमा उक्त प्रक्रियामा वर्षौँ लाग्न सक्छ।

पहिलो अनुभव कस्तो छ
रेचल र याकोभ कोहेन आफ्नो मृत छोराको शुक्राणु संरक्षण गर्ने र त्यसको प्रयोग गर्ने पहिलो मातापिता हुन्। आईडीएफले जनाएअनुसार उनीहरूका छोरा केइभन सन् २००२ मा गाजा स्ट्रिपमा प्यालेस्टिनी निसानेबाजले चलाएको गोली लागि मारिएका थिए। उनीहरूकी नातिनी ओशरको जन्म केइभनको शुक्राणुबाट भएको हो। उनी १० वर्षकी भइन्।

रेचलले मृत्युपछि छोराको उपस्थिति कसरी महसुस गर्थिन् भन्नेबारे यसरी व्याख्या गरिन्, ‘म उसको दराज भएको ठाउँमा जान्थेँ। उसको वासना खोज्ने प्रयत्न गर्थेँ। मैले उसको जुत्तासमेत पनि सुघेँ।’

‘ऊ फोटोबाटै मसँग कुरा गर्थ्यो। उसले मलाई आफ्नो सन्तान भएको सुनिश्चित गर्न अह्रायो।’ रेचलका अनुसार उनीहरूले ‘ठुलो विरोधको सामना गर्नुपर्‍यो’ र ‘धेरैले उनीहरूलाई बुझ्दै बुझेनन् वा उनीहरूले गर्न खोजेको कार्यमा साथ दिएनन्।’  तर अन्तत: उनको दृढसङ्कल्पले उनलाई अभूतपूर्व कानुनी निर्णयतर्फ डोर्‍यायो। त्यसपछि उनले पत्रिकामा एउटा विज्ञापन छपाइन् जसमा आफ्नो छोराको सन्तान जन्माउन चाहने सम्भावित महिलाको खोजी गरिएको थियो। इरिट (पारिवारिक गोपनीयताको सुरक्षाका निम्ति उनले आफ्नो थर खुलाउन चाहिनन्) तिनै दर्जनौँ महिलामध्ये थिइन् जसले उक्त विज्ञापनको जबाफ दिएका थिए।

त्यसबेला उनी कुनै सम्बन्धमा थिइनन्। उनका अनुसार पहिले मनोविद् र सामाजिक कार्यकर्ताले उनको परिक्षण गरे। त्यसपछि अदालतको स्वीकृतिसँगै गर्भाधानको प्रक्रिया सुरु भयो। ‘केहीले हामीलाई देउता बन्न खोजेको बताए। तर मलाई त्यसो होजस्तो लाग्दैन,’ उनले भनिन्। ‘शुक्राणु भण्डारण ब्याङ्कबाट लिइएका शुक्राणुबाट जन्मने शिशु र आफ्नो पिता फलानो हो भनेर चिन्ने शिशुबीच भिन्नता हुन्छ,’ उनी थप्छिन्।

त्यसरी जन्मिएको बालिकाको हुर्काइ कस्तो छ
ओशरलाई आफ्ना बाबु सेनामा छँदा मारिएका थिए भन्ने थाहा छ। उनको कोठा डल्फिनको चित्रहरूले सजिएको छ। उनी बाबुलाई डल्फिन मन पर्थ्यो भन्ने आफूलाई थाहा भएको बताउँछिन्। ‘उहाँको शुक्राणु झिकिएको र उपयुक्त आमाको खोजी गरी मलाई यो धरतीमा ल्याइएको हो भन्ने मलाई थाहा छ,’ उनले थपिन्। हजुरबा–हजुरआमा, काकाहरू र घर–मावली दुवैतर्फ दाजुभाइहरू (कजन) समेत भएकाले ओशरको हुर्काइ ‘उनलाई जिउँदो मूर्तिझैँ गरी नहुर्काइएको’ सुनिश्चित गराउने गरी ‘सामान्य’ रहेको इरिट बताउँछिन्।

‘हामी उनलाई तिम्रा बाबु को हुन् भनेर बारम्बार स्मरण गराइराख्दैनौँ। तर उनलाई उनको जन्म कसरी भयो र बाबुआमा को हुन् भन्ने थाहा छ,’ उनले भनिन्। ‘मृत छोराको जीवित शुक्राणु प्राप्त गर्नुले ठुलो अर्थ राख्छ,’ शमीर मेडिकल सेन्टरस्थित शुक्राणु ब्याङ्कका निर्देशक डाक्टर ईटाई ग्याट भन्छन्। ‘भविष्यमा प्रजनन् गराउने र सन्तान जन्माउने विकल्प सुरक्षित गर्नका निम्ति यो अन्तिम मौका हो।’

उनी यस सन्दर्भमा ‘महत्त्वपूर्ण सांस्कृतिक परिवर्तन’ आएको र हाल उक्त प्रक्रियाप्रतिको स्वीकार्यता बढ्दै गएको बताउँछन्। तर अविवाहित तथा कुनै सम्बन्धमा नभएका पुरुषका हकमा भने हालको नियम विरोधाभाषपूर्ण रहेको उनले बताए। डाक्टर ग्याटका अनुसार उनीहरूको हकमा प्राय: सहमतिको स्पष्ट अभिलेख हुँदैन। यसले शोक झेलिरहेका परिवारजनलाई ‘असाध्यै अप्ठ्यारो स्थितिमा पारिदिन्छ” किनकि शुक्राणुको संरक्षण भएको हुन्छ तर उनीहरूले त्यसको प्रयोग गर्न पाउँदैनन्।

…अनि यी डाक्टरको मन फेरियो

“यो कसैलाई बचाउनका निम्ति मुटु वा मिर्गौला दान गरेजस्तो होइन,’ उनी भन्छन्। “हामी पुनरोत्पादनबारे कुरा गरिरहेका छौँ, बालक वा बालिकालाई यो धरतीमा ल्याउने कुरा गरिरहेका छौँ… अनि हामीलाई थाहा छ उक्त शिशु बाबुबिनाको टुहुरो हुनेछ।’ डाक्टर ग्याटका अनुसार अधिकांश मामिलामा मृतकले उसको शुक्राणु प्रयोग गरेर सन्तान जन्माउने आमाबारे थाहा पाएका हुँदैनन्। उक्त सन्तानको शिक्षादिक्षा सहितका भविष्यसँग सम्बन्धित सबै निर्णयको जिम्मा उसकी आमाको हुन्छ।

पहिले यसबारे डाक्टर ग्याटको विचार अर्कै थियो। उनी मृतकले मर्नुअघि स्पष्ट सहमति दिएको छैन रहेछ भने उसको शुक्राणु संरक्षण गर्न हुँदैन भन्दै त्यसको विरोध गर्थे। हालैको युद्धमा मारिनेका शोकसन्तप्त परिवारलाई भेटेयता उनको दृष्टिकोण नरम भएको छ। ‘म उनीहरूका निम्ति यो कति महत्त्वपूर्ण छ र यसले उनीहरूलाई कहिलेकाँही कसरी सहज महसुस गराउँछ भन्ने मैले देखेको छु,’ उनी भन्छन्।

तेल अभिभमा जोहार सेन्टर फर ज्युइस इथिक्स नामक संस्था सञ्चालन गर्दै आएका एक उदारवादी धर्मगुरु, र्याबाइ, युभाल शेरलो यो विषय जटिल र संवेदनशील भएको बताउँछन्। ‘नैतिक रूपमा हामी कुनै पनि पुरुष उसको सहमतिबिना र अझ उसको मृत्युपछि बाबु बनोस् भन्ने चाहँदैनौँ।’ उनी यसमा यहुदी नियमका दुई महत्त्वपूर्ण सिद्धान्त आकर्षित हुने बताउँछन्। पहिलो–पुरुषको वंशको निरन्तरता र दोस्रो– मृत शरीरलाई सम्पूर्ण रूपले नष्ट गर्ने कुरा। उनका अनुसार केही र्याबाइहरू शरीरका कोषलाई क्षति पुर्‍याएरै भए पनि वंश जोगाउनुपर्ने बताउँछन् भने केही यो प्रकृयाले ठाउँ पाउनै नहुने तर्क गर्छन्।

थरिथरीका बहस

यस मुद्दाका मौजुदा नियमहरूलाई महान्यायाधिवक्ताको कार्यालयले सन् २००३ मा एक प्रकाशनमार्फत् निर्देशित गरेको छ। तर उक्त विषय कानुनमा समेटिएको छैन। इजरायली सांसदहरूले यसलाई स्पष्ट पार्न र विस्तृत नियम बनाउन विधेयक मस्यौदा गर्ने प्रयास गरेका थिए। तर उक्त प्रकृया अड्किएर बसको छ। यस प्रक्रियासँग निकट रहेका व्यक्तिहरूले बीबीसीलाई बताएअनुसार मृतकद्वारा जीवित छँदै दिएको हुनुपर्ने सहमतिको स्तर र मृत सैनिकका सन्तानले पाउने गरेको सेवासुविधा संरक्षित शुक्राणुबाट जन्मिएका सन्तानलाई दिने कि नदिने भन्ने विषयमा विवाद देखिएको हो।

इजरेली मिडियाले मृत सैनिकका पत्नीले संरक्षित शुक्राणु प्रयोग गर्न नचाहेको खण्डमा के गर्ने भन्ने विषयमा पनि रिपोर्टिङ गरेका छन्। त्यसमा विमति जनाउँदै केहीले संरक्षित शुक्राणुमा मातापिताको हक हुनु पर्ने र उनीहरूले चाहेको खण्डमा सन्तान जन्माउनका निम्ति अर्कै आमा खोज्न सक्ने तर्क गरेका छन्। पहिल्यै आफ्नो छोराको शुक्राणु संरक्षण गरिसकेका मातापिता भने चिन्तामा छन्। कानुनी प्रक्रिया एउटा सहमतिमा पुगेको खण्डमा त्यसले भविष्यका मुद्दालाई मात्र सम्बोधन गर्नेछ र आफूहरूले लामो कानुनी लडाईँ लड्न पर्ने छैन भन्नेमा उनीहरूको चासो छ।

अभिको कुरा गर्ने हो भने उनको शोकमै पनि दृढसङ्कल्प छ। उनी आफ्नो छोराको फोटो एल्बम, डायरीहरू र उसका चिनोहरू राखिएका एउटा कागजको बाकसलाई हेर्छन्। उनी आफ्नो छोरालाई सन्तान दिन नसक्दासम्म नथाक्ने बताउँछन्। ‘यो हुनेछ…र यो कार्टुनको बाकस उसको बच्चाले प्राप्त गर्नेछ।’

माइकल शुभेल
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिवद्धता

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास

उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ

किएभ । रूसी क्षेत्र कुस्र्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा

वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य

टोकियो। जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खला वृद्धि गर्ने लक्ष्य राख्दै

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा