राज्यका सुविधाले पोस्ने प्रवृत्तिकाविरुद्ध सशक्त आन्दोलन निर्माण भएमात्र नागरिकतन्त्रको जग बस्न सक्छ
डा. युवराज संग्रौला ।
नेपालको राजनीतिमा नयाँ विचारको आगमन आजको आवश्यकता हो, भन्ने लाग्छ । २००७ सालदेखि नै नेपालको राजनीति ‘वाम’ राजनीतिको प्रवृत्तिबाट अगाडि आएको छ। मेरो शब्द ‘वाम’ले यहाँ समाजवादी वा कम्युनिष्ट राजनीतिलाई मात्र जनाउँदैन । मेरो यो शब्दले ‘अधीन वा अधिनायकवाद’ को विरुद्धको आवाज र आन्दोलन हो भन्ने कुरा बोकेको छ । नेपालमा वाम आन्दोलनको इतिहास कांग्रेसको समाजवाद र कम्युनिष्टहरुको साम्यवाद भन्दा पुरानो छ ।
१. वाम ताकत भनेको राजनीतिमा स्थापित सत्ताको दमन, आर्थिक सत्ताधारीको दमन, धार्मिक दमन र पितृसत्तात्मक दमनको विरोध गर्ने सोच र विचारधारा हो । राणाकाविरुद्ध मकै आन्दोलन चार शहिदले गरेको आन्दोलन वाम शक्तिको आन्दोलन नै थियो । यस कोणबाट हेर्ने हो भने ‘वाम’ राजनैतिक सोचको अगाडि स्वयं कम्युनिष्ट पार्टी समेत वाम बर्ग विरोधी शक्तिमा पर्ने देखिन्छ ।
२. नेपालको २०४७ र २०६३ सालमा स्थापित लोकतन्त्र, निर्वाचनताकाको काङ्ग्रेस र माओवादी तथा राप्रपा, जसपा र एमालेको गठबन्धनबाट समाप्त भइसकेको छ जसले उनीहरुको विचार पतनको अवस्थालाई देखाउँछ । अब देशले सामाजिक नागरिकतन्त्रको अपेक्षा गरीरहेको छ भन्ने कुरा पनि स्पष्ट छ र देशको राजनीति मार्ग पनि त्यसकै लागि मुखरित हुनेछ । सडकका अनुशासनहीन चटक र नवउदारवादको दम छैन ।
३. किन सकियो २०४७ र २०६३ मा स्थापित लोकतन्त्र ? किनकी, वर्तमान राज्यको नेतृत्व गर्ने कांग्रेस र कम्युनिष्ट राजनीति दलहरूले (क) समाजमा अछुतको व्यवहार भोगिरहेको समुदायमाथिको सामाजिक दमनको अन्त्य गर्ने त होइन, संविधानमा दलितको छुट्टै पहिचान कायम गरी संस्थागत गरे, (ख ) यिनले नेपालमा महिला माथिको सामाजिक र आर्थिक दमन पनि यथावत कायम राखे र महिलामुक्तिका नाममा केही सभ्रान्त महिलालाई पुरुषमा रुपान्तरण गर्ने काम मात्र गरे (ग) यिनले राजनीतिमा सामन्ती नायकहरुको निर्माण गरे र राजकीय पदहरुमा उनीहरुको अधीन निर्माण गरे, र (घ) यिनले आफ्नो फाइदाका लागि धर्मका नाममा अन्धविश्वासलाई संस्थागत गरे। यिनको बिरोध गर्ने ‘परिवर्तनको शक्ति, जसले प्रश्न गर्छ यसो किन भयो भनेर त्यो नै वामपन्थ हो, जो पुनर्जीवित हुन आवश्यक छ ।
जब रसियामा जारका विरुद्धमा दुमाको गठन भयो, त्यहाँ केही मानिस थिए । उनीहरु जारशाहीको बिरोधमा थिए, चर्चको अधिनको बिरोधमा थिए, र परम्पराका नाममा कायम रहेको सामन्तवादको बिरोधमा पनि थिए । फ्रेन्च क्रान्तिकारीहरु राजतन्त्र, सामाजिक अन्याय र कुलिनतन्त्रका बिरोधमा थिए। यिनै शक्तिलाई परिवर्तन पक्षधर बिरोधी वा वाम भनियो ।
अर्थात् ‘वाम’ त्यो राजनीतिक आन्दोलन हो, जसले स्थापित सत्ता र त्यसका अधीनका संयन्त्र र अधिनायकवादको बिरोध गर्छ ।
आज नेपाली समाजको आर्थिक तथा सामाजी रुपान्तरणको अवरोध गर्ने ताकत समाजवाद र साम्यवादकै नाममा सत्तामा पुगेका मानिस होइनन र ? त्यसैले, नागरिकतन्त्रको लागि स्थापित तागतको विरुद्ध मा ‘वाम सोच’ को पुनःस्र्थापना हुनु नै अबको लोकतन्त्रको बाटो हो । (१) किसान र व्यवसायीमाथि कर थोपरेर मंहगा सवारी चढ्ने र उत्पादन होइन पैसाले पैसा कमाउने ‘क्रोनी’ अर्थतन्त्रका मतियार बनेका व्यापारी र नेताको विरुद्ध (२) आरक्षणका नाममा जात र अस्पृस्यता कायम गर्दै सामाजिक दमनलाई कायम राख्ने पिरोहितवादका बिरुद्ध, (३) महिलाहरुको उत्पादकत्व र प्रतिस्पर्धी सहभागिता होइन, प्रत्येक निकायमा उनीहरुको उपस्थिति कायम गर्ने तदर्थवाद र (४) जागिरलाई हैसियत बनाएर राज्यका सुविधाले पोस्ने प्रवृत्तिका विरुद्ध सशक्त आवाज र आन्दोलन निर्माण भएमात्र नेपालमा नागरिकतन्त्रको जग बस्न सक्छ ।
यो चेतनाको आन्दोलन नै ‘वाम’ शक्ति हो, जसले स्वयं कम्युनिष्ट पार्टीलाई बर्ग बिरोधी शक्तिमा राख्नुपर्ने बाध्यता बेहोर्नुपर्ने अवस्था छ । नेपाली राजनीतिमा चाख भएका युवाहरूले सोच्नुपर्ने सोच यही नै हो । बिना राजनीति दर्शन भेडाबाख्रा बटुलेर, फोहोर कुरा बोलेर, चटक गरेर सामाजिक संजालबाट लोकप्रियता कायम गरेर राजनीतिको नाटक खेल्न सकिन्छ, समाजको परिवर्तन होइन ।