सात बुँदे सहमतिप्रति कांग्रेस दृढ छ, एमाले पनि हुनुपर्छः सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातबुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभापति देउवाले कांग्रेस सात बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको र एमाले पनि सो सहमति कार्यान्वयन गर्न दृढ रहने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहनेछ र एमाले पनि दृढ रहनेछ भन्नेमा विश्वस्त छु ।’

सभापति देउवाले वर्तमान सरकारले मुलुकलाई उन्नतिको नयाँ बाटोमा लैजाने विश्वास व्यक्त गरे । उनले ओली अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी रहेकोसमेत बताए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ। उहाँको मन्त्रिपरिषद्मा रहेका साथीहरू योग्य र सक्षम हुुनुहुन्छ। उहाँको नेतृत्वमा मुलुकले उन्नतीको नयाँ बाटो समात्नेछ भन्नेमा मैले विश्वास लिएको छु ।’

उनले मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको बताए ।