उपसभामुखको बचाउ गर्दै रास्वपाले भन्यो -अनर्गल प्रचार गरियो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा आर्थिक लेनदेन नभएको दबी गरेको छ ।

रास्वपाका कार्यवाहक पवक्ता मनिष झाले आइतबार विज्ञप्ति जारी गरी कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको दाबी गरेका हुन् ।

विज्ञप्तिमा उनले उपसभामुखको नाम उल्लेख गरी विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो । सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन । यसै सन्दर्भमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गर्नुभएको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौ।’

रास्वपाले विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको दाबी गरेको छ ।

संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिने रास्वापले दाबी गरेको छ ।

रास्वपाबाट उपसभामुख बनेकी रानाले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।

एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै पाँच जनालाई लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् ।