प्रधानमन्त्रीले आज संसदबाट विश्वासको मत लिँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

ओली गत आइतबार संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । यो धाराअनुसार बन्ने प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रधानमन्त्रीले आज विश्वासको मत लिनका लागि संसद सचिवालयलाई बुधबार पत्र पठाएका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाका ७, जनमत पार्टीका ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले मत दिने जनाइसकेका छन् ।

यता, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा). राष्ट्रिय [प्रजातन्त्र पार्टी(राप्रपा) र एकीकृत समाजवादीले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।