विज्ञान, धर्म र आध्यात्म
डा. गोविन्दशरण उपाध्याय ।
प्रसिद्ध बैज्ञानिक आइन्स्टाइन, निकोला टेस्ला, न्युटनआदिले धार्मिक तथा आध्यात्मिक प्रतिमान तथा संस्कारहरूको आलोचना गरेर आफ्नो बौद्धिक पक्ष व्यर्थ हुने तर कुनै पनि निष्कर्षमा पुग्न नसकिने ठानेर होला, यी विषयमा खासै टीकाटिप्पणी गरेका छैनन् । विज्ञान, धर्म र आध्यात्मिकता सबै मानवसंग अभिन्न सम्बन्ध रहेका मानसिक तथा बौद्धिक पक्ष हुन् । एउटा बैज्ञानिकले राम्ररी जानेको हुन्छ कि आजको मितिसम्मका बैज्ञानिक अन्वेषणहरू सत्यको पूर्ण अनावरण गर्न निकै छोटा छन् ।
धर्म, धार्मिकता तथा आध्यात्मिकताको सबैभन्दा बढी आलोचना गर्ने विज्ञानको गफ गर्ने, विज्ञानका केही सैद्धान्तिक पक्षहरूका विषयमा जानकारी राख्ने र विज्ञानका खोजहरूको चमत्कारिक पक्षलाई काव्यझैं प्रयोग गरेर सर्वसाधारणको चेतनालाई भ्रमित पार्न खप्पिस राजनैतिक व्यक्तित्व हुन् । यी राजनैतिक व्यक्तिहरूले विज्ञान र आध्यात्मिकताका विच ठूलो खाडल उत्पन्न गरेर एकआपसमा द्वन्द निम्त्याउँछन् र त्यसका सत्ताको साँचो खोज्दछन् ।
अर्कोतिर, विज्ञानका हरेक शीर्षकहरू बाइबल, कुरान वा पुराणहरूमा रहेको तर्क गर्ने तर आधुनिक विज्ञानको प्राथमिक ज्ञान समेत नभएका तथाकथित धार्मिक पण्डाहरूले बैज्ञानिक स्रोतसाधनकै प्रयोग गरेर विज्ञानको आलोचना गर्छन् । आफुले सम्पूर्ण भौतिक सुखसुविधा उपयोग गर्ने तर अनुयायीहरूलाई त्यागको बुट्टी ख्वाउने गर्छन् ।
आध्यात्म र धार्मिकताको कट्टर विरोध गर्ने बैज्ञानिक नभएर राजनीतिकर्मी हुन्छन् भने विज्ञानप्रति अनेकौं प्रकारका अन्धविश्वासहरू फैलाएर ‘मोजमस्ति’ गर्ने बाबाबाबीहरू पनि प्रकारान्तरले सत्तासुख भोगी नै हुन् । यसो भनिरहंदा विज्ञानका अन्न्वेषणहरूको सम्मान गर्दै ऋषि वा गुरू परम्पराअनुसार आध्यात्मिक उत्समा आरूढ़ हुने साधनारत, निष्काम कर्मी, शरणागत भक्त र कर्मयोगीहरूको साधनाको सम्मान गर्नुपर्छ । सत्य के हो भने आध्यात्मको आनन्दमा डुबेकाहरूका लागि प्रशंसा वा आलोचनाको कुनै अर्थ छैन, अर्थ छ त केवल साधनाको । यसैगरी विज्ञानको विशाल सम्भावनाको सिंहावलोकन गरिरहेका स्वनामधन्य वैज्ञानिकहरूले आफूले नजानेको, नबुझेको र धेरै सत्यहरू उद्घाटन हुन बाँकीनै रहेका अवस्थामा आलोचना–प्रत्यालोचनाको भूमरीबात आफूलाई सुरक्षित गरिरहेका हुन्छन् ।
आ–आफ्नो पक्षमा अधिकारपूर्वक साधनामा निरत रहेकाहरूको लक्ष नै आफ्नो साध्यसंग पुग्नु हुन्छ । राजनैतिक शक्तिले धर्म, आध्यात्म तथा विज्ञान तिनै प्रकारका प्रतिमानहरूको आफ्नो अनुकुल प्रयोग गरेको बुझ्नेहरू धर्म ठूलो कि आध्यात्म ठूलो वा अन्धविश्वास कि वैज्ञानिकताको द्वन्दमा फंस्दैनन् । राजनीतिको लक्ष नै सत्ता प्राप्ति भएको नाताले राजनैतिक पण्डितहरूले त्यही काम गर्छन् जुन कामले सत्ता प्राप्ति हुन्छ । यसैगरी राजनीति र धार्मिक विश्वासको गहनता बुझेका चलाख बाबाबाबीले अध्यात्म वा धर्मका नाममा सजिलैसंग ऐश्वर्य जोड्छन् । असलमा धर्म, आध्यात्म र विज्ञान यी तिनै प्रतिमानहरू मानवीय विषय भएका नाताले विरोधी हुन् भन्ने कुरामा विश्वास गर्नुनै एकप्रकारको अज्ञानता हो ।
–स्वस्तिअस्तु