अनुसन्धानको सुई कसैको घरको ढोका ढकढक्याउन पुगेपछि सरकार ढालियोः गृहमन्त्री लामिछाने


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लामिछानेले अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुगेपछिसंविधानको  याद आएको भन्दै कटाक्ष गरेका हुन् । उनले केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कारण नभएको जिकिर गरे ।

उनले विपद्को बेला जनता बचाउनका लागि सत्तामै बसेको स्पष्ट पारे । उनले प्रश्न गरे, ‘हामीलाई आशंका छ एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी पुग्यो ? रातारात संविधानको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो संविधानको याद आयो ?’

गृहमन्त्री लामिछानेले दुई चारजना नेतालाई बाहेक सहमतिको जानकारी अरु कसैलाई नभएको भन्दै मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमति राष्ट्रिय सहमति कदापी नहुने बताए ।

उनले भने, ‘सदनमा जोडतोडका साथ सहमतिको कुरा चल्यो । तर दुःखका साथ भन्नुपर्छ । एक दुई जना नेता बाहेक सहमति भएको अरु कुनै नेतालाई थाहा छैन । बिना जानकारीको सहमति न राष्ट्रलाई थाहा छ न देश, जनता र आफ्ना दलका नेतालाई थाहा छ ।’

उनले आफूलाई सहकारी प्रकरणमा दोषी ठहर गरी जेल हाल्न चुनौती दिए । उनले सहकारी छानबिन समितिमा अब त बहुमत पुग्यो होला भन्दै आफूलाई दोषी ठहर गर्न चुनौती दिए । उनले दोषी भए आफू जेल जान तयार रहेको समेत बताए । उनले आफ्नो कार्यकालमा एक मात्र उद्घाटन बाँकेमा जेलको गरेको भन्दै जेलमा बस्न तयार रहेको बताए ।