काठमाडौं । पार्टीभित्रको अन्तरविरोधको असन्तुष्टिले साधारण सदस्यसमेत नरहनेगरी राप्रपाबाट बाहिरिएकी नेत्रृ अन्जना शाह रावल अन्ततः पार्टीमै फर्किएकी छन् ।
शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू जिम्मेवारीमा फर्किएको शाहले जनाएकी छन् ।
‘म लगायत मेरो परिवार सम्पूर्ण साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका थियौँ । तर पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायतको आग्रहमा पार्टीमा फर्किन लागेकी छु।’ उनले भनेकी छन्, ‘देशभरीका साथीहरूको आग्रह र हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रको आगाध मायाले सक्रिय बन्न लागेकी हुँ।’
उनले आगामी दिनमा विगतमा जस्तै सक्रिय भएर पार्टीगत काममा लाग्ने प्रतिवद्धता जनाएकी छन् । केही समयअघि मात्रै पार्टीभित्रको असन्तुष्टिले शाहले पार्टी त्यागेकी थिइन्। । उनले राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्। उनी महिला संगठनकी अध्यक्ष हुन् ।
आफूलाई संगठनभित्रैबाट असहयोग गरेको आरोप लगाउँदै उनले पार्टी छाडेकी थिइन् । उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन्। जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी उनी एक्लो संगठनकी अध्यक्ष थिइन्।


प्रतिक्रिया