काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए। बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए।
उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे।
‘हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन,’ उनको भनाइ थियो, ‘क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ। हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ। हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ।’
उनले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए।
बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायत उपस्थिति थियो।

प्रतिक्रिया