कहिले त लाग्छ, हामी कहीँ पुग्न नसकेको धेरै थाहा भएर पो हो कि ?



नारायण गाउँले ।
यसो सोच्नुस् त, भारतका एकसय एकचालीस करोड़ मान्छेले बेलायतको आमचुनाबमा भोट हाल्न र प्रधानमन्त्री छान्न पाउने हो भने के होला ? अलि अपत्यारिलो लाग्न सक्छ, तर भारतमात्रै होइन, पाकिस्तान, बङ्गलादेश, दक्षिण अफ्रिकालगायत ५६ देशका सबै नागरिकसँग आज पनि त्यस्तो अधिकार रहेको छ । र, यो अधिकार कागजमा मात्रै नभएर व्यवहारमैं प्रयोग समेत हुँदै आएको छ । अझ रोचक त के छ भने बेलायतकै दुई राज्य स्कटल्याण्ड र वेल्सका स्थानीय चुनाबमा त नेपाललगायत विश्वका सबै नागरिकले भोट हाल्न पाउँछन् !

आज बेलायतमा आमचुनाब सम्पन्न हुँदै छ । माथि भनिएझैँ यो चुनाबमा हरेक भारतीय नागरिकले भोट हाल्न पाउँछन् त भन्ने लाग्ला, पाउँछन्, तर त्यसका केही शर्त भने पूरा गर्नुपर्छ । पहिलो शर्त हो, चुनावको केही हप्ताअगाडि निर्वाचन आयोगमा दर्ता ! त्यसका लागि तपाईं १८ वर्ष उमेर पुगेको र बेलायतमा बसोबास गरेको हुनुपर्छ । विद्यार्थी, कामदार या अन्य कुनै भिसामा आएर पनि मतदानका लागि नाम टिपाउन सक्नुहुन्छ ।

अझ स्थायी भिसा (अमेरिकी ग्रीनकार्डजस्तै आइएलआर ) छ भने त तपाईं सांसद पदमा चुनाब लड्न पाउनुहुन्छ । त्यसका लागि ब्रिटिश नागरिक भइराख्न पर्दैन । कामदार भिसामा आउनेले पाँच वर्षमा स्थायी भिसा पाउँछन् र तिनले चुनाव लड्न पाउँछन् । भोट हाल्नचाहिँ आउनेबित्तिकै पाउँछन् । सांसद पदमा लड्नका लागि भोटर लिस्टमा नाम दर्तासमेत गर्न नपर्ने अचम्मको खुलापन छ । संसद बने पनि कानुन बराबर लाग्ने हुनाले बीचमा भिसा सकियो भने थप्न गारो हुने र संसद पद खाली हुन सक्ने भएकाले स्थायी भिसाको प्रावधान राखिएको हो ।

आइरिस रिपब्लिक र भारतलगायतका ५५ वटा कमनवेल्थ नागरिकलाई यस्तो हक दिइएको हो । कुनै बेला बेलायती साम्राज्य कायम रहेका देशहरूको साङ्गठनिक समूह हो कमनवेल्थ । प्रजातान्त्रिक मूल्य, राजसंस्था र सम्पत्ति साझा रहेको अर्थमा यो संस्था स्थापित भए पनि आज बेलायती राजसंस्था केही देशमा मात्रै साझा छ । बेलायतले कमन्वेल्थका नागरिकलाई आफ्नो सरकार छान्ने हक दिएको भए पनि अन्य देशले बेलायती नागरिकलाई त्यस्तो सुविधा नदिएको हुनाले यो कहिलेसम्म कायम रहन्छ भन्न सकिन्न । तर आमरूपमा कसैले यस्तो व्यवस्थामा प्रश्न उठाएको भने सुनिन्न ।
यहाँ पार्टी भनेकै संसदीय दल जस्तो हो । पार्टीमा नानाभाँति पद हुँदैनन् । एउटा नेता (लिडर) हुन्छ । मुख्य दलमा संसदीय चुनाव जितेन भने त्यो नेता रहन्न । स्वतः बाहिर जान्छ । चुनाव जित्नेबाट नै नेता छानिने हो । कुनै बेला पुरुषले मात्रै र त्यसमा पनि जग्गाजमीन हुनेले मात्रै भोट हाल्न पाउँथे । झन्डै सय वर्षअघि महिलाहरूले समेत भोट हाल्ने अधिकार पाएको भए पनि साउदी अरेबियामा दश वर्षअघिसम्म यस्तो हक रहेनछ ।

कतिपय देशमा भोटिङ् सकिएपछि मात्रै ’एग्जिट पोल’ प्रसारण गर्न पाइने भए पनि बेलायतमा मतसर्वेक्षणका लागि कुनै बन्देज छैन । अझ यस्तो सर्वेक्षण हरेक दिनजसो र वर्षभरि चलिरहन्छ । यस्तो सर्वेक्षण र नतिजामा ठूलो फरक देखिन्न ।
मत सर्वेक्षणहरूले यसपालि पूर्ण बहुमतको सरकार चलाइरहेको ऋषि शुनकको कन्जरभेटिभ दलले नराम्रो पराजय बेहोर्ने देखाएका छन् । प्रतिपक्षी दल लेबरले झन्डै दुई तिहाई सिट जित्ने र यसका लिडर सर कियर स्टारमर बेलायतको प्रधानमन्त्री बन्ने अनुमान छ । सत्ताधारी दलका सत्तरी भन्दा बढ़ी सांसदले त यसपालि उम्मेदवार बन्ने रुचि नै देखाएनन् ।

यहाँका मुख्य दुई दल लेबर र कन्जरभेटिभमध्ये आप्रवासी र श्रमिकहरू प्रति लेबर अलि नरम मानिने भए पनि कन्जरभेटिभ पार्टीबाट भारतीय मूलका ऋषि शुनक प्रधानमन्त्री भए । सोही दलबाट पाकिस्तानी मूल र हिजो इराकबाट शरणार्थीका रूपमा आएका व्यक्तिहरू अर्थमन्त्री भएकाले र हाल लिडर नै विदेशी मूलको रहेकाले नाममात्रैको कन्जरभेटिभ जस्तो देखिन्छ । कम श्रमिकमैत्री मानिने कन्जरभेटिभ सरकारकै पालामा न्यूनतम ज्याला डबल भन्दा बढ़ी भयो । आप्रवासीहरूको सङ्ख्या पनि निकै उच्च रह्यो । अन्त्यमा अझ रोचक जानकारी के छ भने चुनाव, दल र नीतिनियमबारे यत्तिको जानकारी र चासो पनि यहाँका रैथाने नागरिकमा छैन । कसैलाई त कत्ति नै पनि जानकारी छैन ।

तपाईंले त अर्कैको देशको चुनावबारे पनि यति लामो लेख पढ्नुभयो, यहाँकाले शायदै पढ्छन् । न छुट्टी छ, न आमसभा । न तूल ब्यानर छन् न होहल्ला । आज चुनाब हो भन्ने थाहा नहुने पनि कति छन् । कुनै सार्वजनिक स्थल, स्कुल, भेला या सभामा कसैले पार्टीबारे कुरा गर्दैन । पाँच जना सांसदको नाम पनि धेरैले भन्न सक्दैनन् । जति चासो र चुनाव लाग्छ, नेपालीलाई नै लाग्छ । हामीलाई रसिया र युक्रेन पनि थाहा छ, इजरायल र उत्तरकोरिया पनि थाहा छ । मोदीदेखि डोनाल्ड ट्रम्पसम्म हामीलाई चासो र थाहा नभएको केही छैन । विश्वमा को सही हो को गलत हामीलाई ठ्याक्कै थाहा छ । कहिले त लाग्छ, हामी कहीँ पुग्न नसकेको धेरै थाहा भएर पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस र एमालेको आग्रह

सुदूरपश्चिम । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल

बाढी पहिरोमा परी ४८ जनाको मृत्यु, ५४ घाइते

  काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८

शिथिल भएको अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली

‘कन्ट्रोल रुम’बाट प्रधानमन्त्रीको निर्देशनः विपद प्रभावितको जिउधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाऔं

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको