कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट खारेज गरेको हो ।
इजलासले आइतबारदेखि यही मुद्दालाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरेको थियो । रिट खारेज गरेसँगै मुख्यमन्त्री हिक्मत कार्कीको मुख्यमन्त्री पद जोगिएको छ ।
संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार कार्कीलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।
उपधारा ५ बमोजिमको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २७ वैशाखमा सर्वोच्चमा रिट लिएर पुगेका थिए ।