वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति नै बदल्नुपर्छ
डा. युवराज संग्रौला ।
वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति बदल्नु आवश्यक छ । नेपाली समाजको बौद्धिकताका दुई वटा प्रवृत्ति देखिएका छन् (१) पलायन (२) समर्पण । यी दुबै शिक्षामा गरिएको “वैज्ञानिक चेतयुक्त प्रवृत्तिको पतनका परिणाम हुन् ।
१. जब शिक्षामा वैज्ञानिकताको बध हुन्छ, समाजमा परिवर्तनको लागि बिद्रोही चेत पतन हुन्छ, र कथित शिक्षित मानिस तर्क र खोजको बाटो त्यागेर (१) निराशाको रोगले ग्रस्त हुँदै समर्पणमा सरिक भै सोचद्वारा समाजको परिवर्तन होइन, कसैलाई मसिहा ठानेर पुजा गर्न थाल्छ र (२) र कुतर्कलाई तर्क ठानेर परिवर्तनका नाममा समाजको विघटनमा सरिक हुन्छ।
२. अर्थात्, नेपाली समाज समग्रमा पलायनको मनोविज्ञानद्वारा चालित भै विसर्जनको मार्गमा अग्रसर हुँदैछ । जब यस्तो अवस्था सिर्जना हुन्छ, विज्ञान र प्राज्ञिकता हुर्कदैन । हुर्कन्छ केवल अफवाह, सनक, चटक अर्थात् प्रोपोगन्डा र हिंसा । असल मान्छे, यो अवस्थामा “कन्फर्मिस्ट“ हुँदै चुपचाप आफ्नो काम फत्ते गर्न लालयित हुन्छ। ऊ समाजको होइन आफ्नो स्वार्थका लागि विवेक त्याग्न तयार हुन्छ ।
३. समर्पणको यो अवस्थामा मानिसले आफनो महानता भुल्छ, यसले अहंकार जन्माउँछ । हामीले सामाजिक संजाल देखेकै छौं । यो अहंकार जब जंगलमा आगो जस्तो सल्किन्छ, मानिस मुर्ख हुन्छ । यो सबै शिक्षाको बर्वादीले ल्याउँछ । हाम्रो शिक्षा पहिलानै भत्काइयो, यसमा विदेशीको खेल पनि सानो छैन । त्यसपछि शिक्षामा राजनीतिकरण गरियो । विस्तारै विस्तारै उच्च शिक्षा सिन्डिकेटमा परिणत भयो। यो शिक्षा मानिसलाई डिग्रीधारी अशिक्षित बनाएर भोटतन्त्रीय लोकतन्त्रमा बदल्ने योजनाको परिणाम हो, किनकी यसतन्त्रमा शिक्षित मान्छेको काम छैन । नेपाललाई पुराना र नयाँ मिलेर अराजक समाजमा बदल्दैन, त्यसका लागि शिक्षा मार्नुपर्छ। उनीहरु योजनाबद्ध छन्, भिडले जतिबेला थाहा पाउँछ ऊ रित्तो भैसकेको हुनेछ ।